images
images
  • रुस-युक्रेन संकट : अहिलेसम्म के-के भयो ?

    किभ- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी डोनबास क्षेत्रमा विशेष सैन्य अभियान सुरु गर्ने घोषणा गर्दै यसका लागि आदेश दिएका छन् । टेलिभिजनमा प्रसारण गरिएको एक सम्बोधनमा पुटिनले रुस समर्थित विद्रोहीसँग लडिरहेको युक्रेनी सेनालाई अब हतियारहरू आफूलाई सुम्पिएर फर्किन अनुरोध गरेका छन् ।

    पुटिनले रुसले युक्रेनलाई कब्जा गर्ने कुनै रणनीति वा योजना नबनाएको पनि बताएका छन् । तर, उनले कसैले पनि रुसलाई अप्ठ्यारोमा पारेको खण्डमा उसलाई रुसले तत्काल जवाफ दिने पनि बताएका छन् ।

    उता, युक्रेनले चाहिँ अहिलेसम्म रुसले आफूहरूमाथि पूर्णरूपमा आक्रमण गरिसकेको जनाएको छ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले ट्विटरमा लेखेका छन्, ‘युक्रेनका शान्तपूर्ण सहरहरू आक्रमणमा छन्, यो एउटा युद्ध हो । युक्रेन आफ्नो रक्षा गर्नेछ र हामी विश्वस्त हुनसक्छौँ, हामीले जित्नेछौँ । पुटिनलाई विश्वले रोक्नेछ, रोक्नु पर्ने छ । अबको समय भनेको भन्ने होइन, गर्ने हो ।’

    उनले विश्वका लागि तत्काल गर्नुपर्ने भन्दै पाँच टिप्स पनि दिएका छन् । उनले लेखेका छन् ।

    १. रुसमाथि कडाभन्दा कडा प्रतिबन्ध लगाउन सकिन्छ । रुसलाई तत्काल आर्थिक लेनदेनबाट पनि अलग गराउन सकिन्छ ।

    २. रुसलाई हरेक सम्भावनाहरूबाट अलग गर्न सकिन्छ ।

    ३. युक्रेनलाई हतियार र उपकरणहरू दिनुहोस् ।

    ४. वित्तीय मद्दत ।

    ५.मानवीय सहायता ।

    युक्रेनले यसअघि नै पश्चिमा देशहरूलाई रुसले आफूमाथि आक्रमण गर्ने तयारी सुरु गरेको र यो अन्तिम चरणमा पुगेको भन्दै सचेत गराउन खोजेको थियो । बिहीबार दिउँसोसम्म युक्रेनका विभिन्न शहरहरूमा आक्रमण भएको समाचार आएका छन्, विभिन्न शहरमा बम विस्फोट भएका समाचार अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । युक्रेनको राजधानी किभको मुख्य विमानस्थल बाहिर पनि आक्रमण भएका समाचार आएका छन् ।

    यो विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना सहयोगीहरुसँग छलफल गरेर एक साथ निर्णायक जवाफ दिने बताएका छन् । उनले युक्रेनमाथिको आक्रमण अहिले स्वीकार्य नहुने र आफूहरूले यसको जवाफ दिनेसमेत बताएका छन् ।

    ‘राष्ट्रपति पुटिनले पूर्वनियोजित युद्धलाई रोजेका छन् र यसले ठूलो जनधनको क्षति हुनेछ । विश्वले यसको जवाफ दिन अब तयारी गरेको छ,’ उनले भनेका छन् । उता, युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कोले पनि रुसले युद्ध सुरु गरेको भन्दै आफूलाई सहयोग गर्न अन्य देशहरूसँग याचना गरेका छन् ।

    यसअघि रुसी राष्ट्रपति पुटिनले सोमबार राति टेलिभिजनमा सम्बोधन गरेका थिए । त्यो सम्बोधनमा उनले रुसी सेनाले पूर्वी युरोपमा शान्ति स्थापना गर्ने प्रयासमा लाग्ने बताएका थिए ।

    उनले युक्रेनका दुई पृथकतावादी क्षेत्र दोनेत्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको मान्यता समेत दिने घोषणा गरेका थिए । अब यी दुई ठाउँ रुस समर्थित स्वतन्त्र राज्य भएको उनले बताएका थिए ।

    पूर्वी युक्रेनमा सेना पठाउने रुसको घोषणासँगै रुसमाथि कडा प्रतिबन्ध लगाउनुपर्ने माग राखिएको थियो । युक्रेनको यो मागलाई अमेरिका र अन्य देशहरूले समर्थन गरेका मात्र छैनन्, रुसमाथि कडा प्रतिबन्ध पनि लगाएका छन् । -एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images