images
images
  • रुसले युद्ध रोजे त्यसको जवाफ दिइने अमेरिकाको चेतावनी

    युक्रेनमाथि आक्रमणको तयारी अवस्थामा रुस रहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले बताएका छन् । अमेरिकी टेलिभिजन नेटवर्क एनबिसीसँगको अन्तर्वार्ताको क्रममा विदेशमन्त्री ब्लिंकनले रुसले आफ्ना सैनिक युक्रेनका तीन क्षेत्रमा युद्धका लागि तयारी अवस्थामा राखेको बताएका हुन् ।

    उनले एनबिसीको नाइट्ली न्यूजका लेस्टर होल्टसँग भनेका छन्, ‘दुर्भाग्य, रुसले आफ्ना सैनिकलाई अन्तिम तयारी अवस्थामा राखेको छ युक्रेनको सीमा क्षेत्रमा। युक्रेनको उत्तर, पूर्व र दक्षिणमा रुसी सैनिक तैनाथ छन्।’

    अहिलेको अवस्थाको सम्पूर्ण विश्लेषण गर्दा रुस युक्रेनमाथि ठूलो आक्रमणको तयारीमा रहेको देखिने उनको भनाइ छ । अझै पनि युद्ध टारेर समस्याको कूटनीतिक समाधानको सम्भावना रहेको अमेरिकी विदेशमन्त्रीले बताए। उनले भनेका छन्, ‘उनीहरु युद्धका लागि अन्तिम तयारीमा रहेको भए पनि हामी अझै समाधानको कूटनीतिक विकल्पमै जोड दिइरहेका छौँ ।’

    तर रुसले सैन्य गतिविधि निरन्तर चलाइराखेकाले आफूहरु पनि त्यसको जवाफ दिन बाध्य हुने अमेरिकी विदेशमन्त्री ब्लिंकनले बताए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्भावित युद्धको मार्ग छोडेर कूटनीतिमा आउने निर्णय नगरेमा आफूहरुले साझेदारहरुसँगको सल्लाहमा जवाफ दिनुपर्ने उनले बताए। त्यसको परिणाम गम्भीर हुने चेतावनी ब्लिंकनले दिएका छन् ।

    यसैबीच युक्रेनबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक नेपाली समयअनुसार बिहीबार बिहान बस्दैछ । यो महिना सुरक्षा परिषद्को अध्यक्षता रुसको भागमा छ। त्यो पश्चिमा राष्ट्रहरुका लागि बाधक बनेको देखिन्छ। सुरक्षा परिषद्मा रुसको सहयोगी चीनसँगै अमेरिका, फ्रान्स र बेलायत छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images