काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाँणबीच बुधबार बालकोटमा भेटवार्ता भएको छ।
ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार राति बालुवाटारमा वार्ता गरेपछि एमसीसीबारे बाँकी कुरा मिलाउन भन्दै खाँण बालकोट पुगेका हुन्।
उनले त्यहाँ ओलीसँग करिब आधा घण्टा लामो छलफल गर्दै यही बिहीबारको संसदबाट अमेरिकी सहायता परियोजना एमसीसी पास गराउन सहयोग मागेका थिए।
गृहमन्त्री खाँण तत्कालीन अवस्थामा ओली सरकारले नै संसदमा दर्ता गराएको एमसीसी कांग्रेस र एमाले मिलेर पास गर्नुपर्ने कुरा बालकोटमा राखेका थिए। तर, उक्त भेटमा मंगलबार राति बालकोटको जस्तै अध्यक्ष ओलीले पुरानै अडान दोहो¥याएका छन्।
अध्यक्ष ओलीका प्रेस संयोजक रामकृष्ण बजागाईँका अनुसार आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस्नुपर्ने यदि त्यसो नभए सभामुख अग्नि सापकोटाले पदबाट बाहिरिनुपर्ने अडान प्रस्तुत गरिएको थियो।
पाँच पाँचवटा दलको गठबन्धन बनाएर एमालेमाथि नियोजित रुपमा आक्रमण गरिएको छ। माओवादीले सांसदमाथि गरेको कारबाहीको सूचना सभामुखले तात्तातै टाँसेका थिए, ओलीको भनाइ उद्धृत गर्दै बजागाईँले भने । तर एमालेले कारबाही गरेका सांसदबारेको सूचना भने अन्यायपूर्वक सभामुखले नटाँस्ने निर्णय लिए। गठबन्धन दलका लागि एउटा प्रावधान र एमालेका लागि अर्को प्रावधानरु यो कसरी स्वीकार्य हुन सक्छ।
ओलीले यदि १४ सांसदमाथि कारबाहीको सूचना नटाँस्ने हो भने सभामुख अग्नि सापकोटाले पद छाड्नुपर्ने अडान गृहमन्त्री खाँणसँग राखेका थिए।
मंगलबार राति पनि ओलीसहितका चार नेता देउवासँग वार्ताका लागि बालुवाटार पुगेका थिए। त्यहाँ पनि उनले १४ सांसदमाथिको कारबाहीको टुंगो लगाएमा एमसीसीसहितका मुद्दामा सहकार्य गर्न एमाले तयार रहेको बताएर बालकोट फर्किएका थिए।


विश्व खबर 



















