images
images
  • इङल्याण्डमा अब कोरोना संक्रमित भए पनि आइसोलेसनमा बस्न नपर्ने

    लण्डन । इङल्याण्डमा कोरोना संक्रमण भएकाहरुले अब आइसोलेसनमा बस्न नपर्ने भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार साँझ एक पत्रकार सम्मेलनको आयोजना गर्दै इङ्ल्याण्डमा विद्यमान कोरोना भाइरससम्बन्धी करिब सबै नियमहरु बिहीबारदेखि खारेज गर्ने घोषणा गरेका हुन् ।

    उनले आजैदेखि शैक्षिक प्रतिष्ठानका कर्मचारीहरु तथा विद्यार्थीहरुलाई साताको दुई पटक कोरोना भाइरस टेष्ट गर्नुपर्ने प्रावधान हटाइएको बताए । यसैगरी विहीबारदेखि कोरोना पोजिटिभ भेटिए पनि आइसोलेसनमा बस्न नपर्ने बताएका छन् तर पोजिटिभ भएमा अन्त कतै नजान र परिवारका सदस्यहरुसित अलग रहन भने सुझाव दिएका छन् ।

    यसैगरी कन्ट्याक्ट ट्रेसिङ पनि विहीबारदेखि नै अन्त्य गरिएको छ । यसअघि निम्न आय भएकाहरुलाई आइसोलेसनमा बस्नु परेमा सरकारले दिँदै आएको ५०० पाउण्ड दिने व्यवस्था पनि अब हटाइएको छ ।

    सरकारले अप्रिल १ देखि निशुल्क टेष्ट गर्ने सुविधा हटाउने भएको छ । तर जोखिममा रहेकाहरुलाई भने निशुल्क टेष्ट गर्न पाउने व्यवस्था कायम रहने बताइएको छ ।

    यस्तै कोभिड पासपोर्टको व्यवस्था पनि अप्रिल १ देखि खारेज गरिने भएको छ । सरकारले अब सर्वसाधारणहरुलाई नै कोरोना भाइरसको लक्षण देखिएमा जिम्मेवारी लिन आग्रह गरेको छ ।

    सरकारले आज घोषणा गरेको यी प्रावधानहरु बेलायतको संसदमा सम्भवत बुधबार मतदानमा लगिने छ र संसदले पारित गरेपछि बिहीबारबाट कार्यान्वयन गरिने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images