images
images
  • दुई सातमा विदेशमा थप ४१ जना नेपालीको निधन


    काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड -१९) का कारण गत दुई सातमा विदेशमा थप ४१ जना नेपालीको निधन भएको छ ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार भारतमा २९ जना, कतारमा ८ जना फ्रान्समा १ जना, माल्दिम्समा १ जना, बेल्जियममा १ र पोर्चुगलमा १ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।

    संघले संकलन गरेको तथ्यांक अनुसार भारतसहित विश्वभर २८ मुलुकमा रहेका ४ सय २३ जना नेपालीको कोभिड(१९ का कारणले निधन भएको छ ।

    गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख ७ हजार ८६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ९९ हजार २ सय ५७ जना नेपाली कोरोना मुक्त भएका छन् ।

    समितिका संयोजक डा संजिव सापकोटाका अनुसार सोमवार साँझ सम्म विदेशमा कोरोना संक्रमणबाट ९२ प्रतिशत नेपाली मुक्त भएका छन् ।

    गैरआवासीय नेपाली संघले विगत कोरोना भाइरसको महामारी सुरु भए देखी विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्धारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ ।

    संघले डा. सापकोटाको संयोजकत्वमा डा सागर पौडेल (भारत), डा. नितेश शर्मा (मध्यपूर्व), डा. बोधराज सुवेदी (युरोप), डा. रुपक श्री (माल्दिभ्स) लगायत विश्वभर २ सय जना चिकित्सकहरु परिचालन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images