
हुन्डाई मोटर्स कम्पनीले पाकिस्तान डिलरको सामाजिक सञ्जालबाट काश्मिरको भारतबाट स्वतन्त्रता विषयमा गरिएको टिप्पणीप्रति खेद प्रकट गरेको छ।
हुन्डाई मोटर्सको भारतमा रहेको डिलरको सामाजिक सञ्जाल (ट्वीटर) मार्फत ‘कुनै पनि क्षेत्रको राजनीतिक र धार्मिक मुद्दामा टिप्पणी गर्नु आफ्नो कम्पनीको नीतिभन्दा बाहिरको कुरा रहेको’ विज्ञप्तिमार्फत स्पष्ट गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘व्यापार नीतिमा रहेर हुन्डाई मोटर कम्पनीले कुनै पनि क्षेत्रको राजनीतिक र धार्मिक मुद्दामा टिप्पणी गर्न पाउने छैन। त्यसैले पाकिस्तानको एक वितरकले अनधिकृत रुपमा सामाजिक सञ्जालमा काश्मिरको बारेमा गरेको टिप्पणी हुन्डाई कम्पनीको नीति बाहिरको कुरा हो। हुन्डाई मोटर्सले यो पोस्टको बारेमा थाहा पाउनेबित्तिकै उक्त वितरकलाई यसबारेमा जानकारी गराएको र पोस्ट हटाउन लगाइसकेको छ।’
Hyundai Motor statement:#Hyundai #HyundaiIndia pic.twitter.com/Ir5JzjS2XP
— Hyundai India (@HyundaiIndia) February 8, 2022
कम्पनीले जुन तरिकाबाट वितरकले कम्पनीको सामाजिक सञ्जालको दुस्प्रयोग गरेकाे छ, आगामी दिनमा यस्तो नहुने कुरा सुनिश्चित गरिएको जनाएको छ।
भारतमा हुन्डाई मोटर्सको बहिष्कार गर्ने अपिलका बीचमा कम्पनीले सहायक कम्पनी हुन्डाई इन्डिया कुनै पनि कुरामा पाकिस्तानी वितरकसँग नजोडिएको सफाइ दिएको छ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हामी पाकिस्ताका उक्त वितरकको अनधिकृत र कामभन्दा अलग विषयमा सामाजिक सञ्जालमा गरिएको गतिविधिलाई पूर्ण रुपमा खारेज गर्नेछौँ। हुन्डाई मोटर्स कम्पनी दशकौँदेखि भारतमा काम गरिरहेको छ र हामी भारतीय उपभोक्ताहरुप्रति प्रतिबद्ध छौँ। यो अनधिकृत सामाजिक सञ्जालको पोस्टबाट भारतीयहरुलाई पुगेको समस्याप्रति खेद प्रकट गर्दछौँ।’
अटोमोबाइल उत्पादक कम्पनी हुन्डाई मोटर्स पाकिस्तान डिलरले जम्मु काश्मिरलाई भारतबाट अलग राख्नु पर्ने सुझावसहित आइतबार ट्वीट गरेको थियो। भारतको हुन्डाई कम्पनी र यस कम्पनीप्रति भारतीय नागिरक आक्रोशित बनेका थिए।
सत्ताधारी भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालाले हुन्डाई इन्डियाबाट सार्वजनिक भएको यो विज्ञप्तिमा पुन: असन्तुष्टि जनाएका छन्। यसको लागि हुन्डाईको प्रमुख कार्यालयबाट सुनुवाइ हुनुपर्ने उनको माग छ।
उनले यसअघि हुन्डाई इन्डियाबाट सार्वजनिक भएको स्पष्टीकरण अमान्य हुने जनाएका थिए।
प्रतिक्रिया दिनुहोस्