काठमाडौं-भूमि आयोगका मान्छे हुँ भन्दै सुकुम्वासी ठग्ने झापा भद्रपुर नगरपालिका–३ का ३८ वर्षीय होमनारायण चौधरी र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ का ४४ वर्षीय उद्धव भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो ।
उनीहरुले सुकम्वासीलाई प्रतिव्यक्ति चार जग्गा मिलाइ दिने प्रलोभनमा फारम बेच्दै आएका थिए । प्रहरीका अनुसार उनीहरुले प्रति फाराम ५० हजार रुपैयाँ असुल गरेका थिए । उनीहरु ‘आफूलाई भूमि आयोगले खटाएको’ भन्दै उपत्यकाभित्रका सुकुम्वासी बस्ती छिर्ने गरेका थिए । उनीहरुबाट प्रहरीले भूमि आयोग लेखिएको लेटर हेड, प्रिन्टर, रेकर्ड फाइल लगायतका सामाग्री बरामद गरेको छ ।
सुकुम्बासीमाथि ठगी गर्न खोज्ने उनीहरुले ‘दुई लाख रुपैयाँ दिए चार आना जग्गा पक्का’ भन्दै सुकुम्बासीलाई प्रलोभनमा पारिरहेको प्रहरीको दाबी छ। उनीहरुले आफूलाई भूमी आयोगबाट खटाइएको कर्मचारी बताएर ठगी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी वृत्त, बालाजुका प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम मिश्रले जानकारी दिए।
डिएसपी मिश्रकाअनुसार काठमाडौं महानगरपालिका–१६ बसन्तनगरस्थित भेटघाट क्याफेमा २ जना व्यक्तिहरुले सुकुम्बासीहरुलाई जग्गा वितरण गर्छौं फाराम भर्नुपर्छ भनी पैसा असुल गरिरहेको भन्ने सूचनाको आधारमा बालाजुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट ल्यापटप, प्रिन्टर १ थान, ‘भूमिहिन दलित, भूमिहिन सुकुम्बासीले भर्ने निवेदन फाराम’ लेखिएको फारमहरु, अव्यवस्थित बसोबासीले दिने निवेदनको ढाँचा लेखिएको फारामहरु, विभिन्न व्यक्तिहरुको नाम तथा फोटो समेत राखिएका रेकर्ड फाइलहरु, स्पिकर १ थान र मोबाइल ३ थान बरामद भएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।


विश्व खबर 


















