जनकपुरधाम- हिजो–आज मधेशमा अकस्मात् नारा, जुलूस हुन्छ, तोडफोड गरिन्छ र आगजनी गराइन्छ । पछिल्लो पटक जनमत पार्टीले उठाएको किसानको मुद्दालाई मधेशमा अधिकांशले सही भनेका छन् । तर, माग पूरा गराउन उनले शुरू गरेको आन्दोलनमा भने धेरैको विमति छ । पूर्व–पश्चिम राजमार्ग बन्द गरेर सडक जाम गर्नु, सर्वसाधारणको गाडी तोडफोड र आगजनी गर्नु जस्ता कामले उनले उठाएका किसानका मुद्दालाई ओझेलमा पारेको ठान्नेहरू पनि मधेशमा थुप्रै छन् ।
सिके राउतले किसान आन्दोलन शुरू गरेपछि जसपासँगको द्वन्द्व सतहमा आएको छ । जनकपुरधाममा खानेपानी तथा ढल निकास कार्यालयका प्रमुखलाई कालोमोसो दलेपछि जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताले जनमत पार्टी विरुद्ध प्रदर्शन गर्दै उसको कार्यालयको बोर्ड तोडफोड गरेका थिए ।
अहिले पनि यी दुई दलका कार्यकर्ता भौतिक रूपमा मात्रै होइन, सामाजिक सञ्जालमा पनि एकअर्कासँग भिडिरहेका छन् । जसपा नेतृ समेत रहेकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले डा.सिके राउतलाई गौर हत्याकाण्डमा जस्तै मारिदिने धम्की पनि दिएकी छन् ।
तर, जसपाको उत्तेजना ठीक नभएको मधेशका बुद्धिजीवीहरूको भनाइ छ । ‘रेणुको अभिव्यक्तिलाई कुनै पनि विवेकशील व्यक्तिले समर्थन गर्न सक्दैनन्’ वरिष्ठ राजनीतिज्ञ मण्डल भन्छन्, ‘हर व्यक्तिले सधैं सोचविचार गरेर बोल्नुपर्छ । त्यसमा पनि पदमा रहेका व्यक्तिले त झन् गम्भीर रूपमा सोचविचार गरेर मात्रै बोल्नुपर्छ । म आफैंले त्यो भिडियो हेरें, उहाँ यति उत्तेजित हुनुहुँदैनथ्यो ।’
मण्डल मधेशवादी दलहरूले पनि किसानको समस्यालाई समाधान गर्नेतर्फ ध्यान दिनु जरूरी रहेको ठान्छन् । ‘उत्तेजनामा आउनुभन्दा राउतसँग कुरा गरेर आन्दोलनको दिशा बदल्नु जरूरी छ’, उनी भन्छन् ।
विश्लेषक चन्द्रकिशोर राउतको पार्टीले किसानको सवाल उठाउँदा राज्यले दमन गर्ने भन्दा पनि समस्या समाधानतर्फ ध्यान दिनु जरूरी रहेको बताउँछन् । उनी भन्छन्, ‘अन्य दलले पनि प्रतिवाद गर्ने होइन समस्या समाधानतर्फ ध्यान दिनुपर्छ । जनमत पार्टीमा केही आकर्षण बढेको हो भने आफूहरूले कहाँ गल्ती गरियो भनेर त्यसतर्फ विचार गर्नुपर्छ ।’
आफूलाई गान्धी र बुद्धको बाटोमा रहेको भन्ने व्यक्तिले जुन ढंगले हुलहुज्जत, अर्को व्यक्तिको स्वतन्त्रताको हनन गरिरहेको छ यो मिल्दै नमिल्ने कुरा हो । विश्लेषक चन्द्रकिशोर सिके राउतलाई प्रश्न गर्छन्, ‘तपाईं कुन ढंगको राजनीति गर्न खोज्दै हुनुहुन्छ ?’
अहिलेको सिके राउतको राजनीतिले नेपालको राजनीतिमा वर्चश्वशाली पक्षलाई लाभ पुगिरहेको चन्द्रकिशोरको ठम्याइ छ । मधेशका सीमान्तकृत जनतालाई सचेत गर्नुभन्दा वर्चश्वशाली समुदायलाई यो आन्दोलनले लाभ पुर्याइरहेको उनी बताउँछन् ।
मधेशमा भएको तीन वटा ठूला आन्दोलनको कोर एजेन्डासँग सिके राउतले कहिल्यै पनि आफूलाई नजोडेको र मधेश आन्दोलनमा कतै पनि उनको हिस्सेदारी नदेखिएको विश्लेषक चन्द्रकिशोरको भनाइ छ । सिके राउतको ओली सरकारसँगको सम्झौतापछिको नयाँ संदिग्ध राजनीति रहस्यपूर्ण किसिमको रहेको उनको भनाइ छ ।
वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डल सिके राउतले उठाएका किसानको मुद्दा जायज भए पनि आन्दोलनको तरिका गलत रहेको बताउँछन् । ‘किसानले बीउ, मलखाद अहिले पनि पाइरहेका छैनन् । उनीहरूमाथि उत्पीडन र विभेद छ । त्यही भएर यो मुद्दा जायज छ’ उनी भन्छन्, ‘तर जुन ढंगले आन्दोलन गइरहेको छ, यहाँबाट कहीं पनि पुगिंदैन, यो तरिका गलत छ ।
शान्तिपूर्ण आन्दोलन नगरे सिके राउतको आन्दोलन समाप्त हुने मण्डल बताउँछन् । ‘यसबारे जनमत पार्टीको नेतृत्वले सोच्नुपर्छ । तर यो पार्टीमा यसरी सोच्ने कति जना छन् भन्ने मलाई थाहा भएन’, उनी भन्छन् ।


विश्व खबर 



















