काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक कुनै निर्णय बिना नै स्थगित भएको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय ढिला गरी बसेको बैठक पूरा एजेन्डामा छलफल नभएपछि पुनः शुक्रबार बस्ने गरी स्थगित भएको हो । “पहिलो दिन छ एजेन्डामा छलफल भए । पुनः भोलि बस्ने गरी स्थगित भएको छ,” एन्फा स्रोतले न्युज कारखानालाई भन्यो ।
वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङसहित सात सदस्यले १ पुसमा कार्यकारी समितिको बैठक माग गरेपछि आज बैठक बसेको हो । वरिष्ठ उपाध्यक्ष विक्रमसहित उपाध्यक्षद्वय वीरबहादुर खड्का, कृष्ण थापासहित सदस्यहरू किरण राई, दावा लामा, दिनेश व्यञ्जनकार, निरोज खड्गीले लिखित माग गरेपछि एन्फाले १२ पुसमा बैठक मिति तय गरेको थियो ।
एन्फाले १५ पुसमा १९ एजेण्डा बनाएर बैठक बस्ने जानकारी दिएको थियो । त्यसपछि विधानअनुसार उपाध्यक्ष पंकज र वीरबहादुरले ६ एजेण्डा थप गर्न माग गर्दा दावाले ४ तथा राईले ३ एजेण्डा थप माग गरेका थिए । जसमा राईकोले मात्रै स्थान पाएको थियो ।
२० पुसमा एन्फा पूर्व अध्यक्ष गणेश थापाले व्यक्तिगत धारणा राख्न पठाएको पत्रले समेत कार्य समितिमा स्थान पाएन । फिफा प्रतिबन्धपछि पहिलो पटक औपचारिक रूपमा एन्फामा पत्र दर्ता गराएका थापाको पत्रलाई स्थान नदिने एन्फाले निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्