images
images
  • राष्ट्रियसभा भागबण्डा मिल्यो, कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५-५ सिट

    काठमाडौं- सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा टुंगिएको छ । सोमबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरुमा भागबण्डा गरेर उम्मेदवार उठाउने निर्णय गरेको हो ।

    यसअनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने छन् ।

    जसमा काँग्रेसका ३, माओवादी र एकीकृत समाजवादीका चार–चार सिट खाली हुँदैछ । उक्त सिट सोही पाटीलाई छोडेर एमालेका ८ सिटमा मात्र गठबन्धनभित्र भागबण्डा गरिएको छ । आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।

    राष्ट्रपतिबाट मनोनीत हुने एक स्थानबाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ । सत्ता गठबन्धन आबद्ध दलहरू काँग्रेस, माओवादी, एकीकृत समाजवादी जसपा गठबन्धन बनाएर चुनावमा जाने तयारीमा छन् ।

    काँग्रेसले बागमती र लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट एक–एक जना राष्ट्रियसभा सांसद गुमाउँदैछ । यस्तै एमालेले प्रदेश एकबाट ३, लुम्बिनीबाट २, सुदूरपश्चिम, प्रदेश २, कर्णालीबाट एक–एकजना सांसद गुमाउँदैछ । माओवादी केन्द्रले गण्डकीबाट २, प्रदेश २ र कर्णालीबाट एक–एक जना सांसद गुमाउँदैछ । एकीकृत समाजवादीले बागमती, गण्डकी कर्णाली र सुदूरपश्चिमबाट एक–एक जना सांसद गुमाउँदैछ ।

    प्रदेश १ बाट एमाले सांसद नैनकला ओझा, परशुराममेघी गुरुङ र अगमप्रसाद वान्तवा राई विदा हुनेछन् । लुम्बिनीबाट एमालेका रामलखन चमार, कोमल वली र काँग्रेसका दृगनारायण पाण्डेको कार्यकाल सकिँदैछ । सुदूरपश्चिमबाट काँग्रेसकी तारादेवी भट्ट, एकीकृत समाजवादीका शेरबहादुर कुँवर र एमालेका चक्रप्रसाद स्नेहीको पदवाधि सकिँदैछ ।

    बागमतीबाट काँग्रेसका राधेश्याम अधिकारी र एकीकृत समाजवादीकी उदय शर्मा पौडेलको कार्यकाल सकिँदैछ । गण्डकीबाट माओवादीका दीनानाथ शर्मा, खिमबहादुर विक र एकीकृत समाजवादी शान्ति अधिकारी जिसी विदा हुँदैछन् ।

    प्रदेश २ माओवादीका शशिकला दाहाल र एमालेका सुमनराज प्याकुरेलको समय अवधि सकिँदैछ । कर्णाली प्रदेशबाट एकीकृत समाजवादीका ठगेन्द्रप्रकाश पुरी एमालेकी कविता बोगटी र माओवादीका जीवन बुढा विदा हुँदैछन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images