काठमाडौं, १० जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटीको बैठक बोलाएका छन् । प्रधानमन्त्री समेत रहेका ओलीले बालुवाटारस्थित निवासमा सोमबार दिउँसो ४ बजे बजेपछि स्थायी कमिटी बैठक बोलाएका हुन् ।
बैठकमा संसद विघटन र मध्यावधि निर्वाचन घोषणाविरुद्ध विपक्षी गठबन्धनको कसरत र पार्टीको आन्तरिक विवादबारे छलफल हुने एक नेताले जानकारी दिएका छन् ।
यसअघि ८ जेठमा बसेको स्थायी कमिटीले माधव नेपाल पक्षका ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई सोमबार बिहानसम्म स्पष्टीकरण बुझाउन भनिएको थियो ।
सोमबार बस्ने बैठकले विपक्षी गठबन्धनलाई सहयोग गरेका नेता माधवकुमार नेपालसहित स्पष्टिकरण सोधिएका ११ जनालाई कारबाही हुने बताइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा नेपालसहितका ११ जनालाई पार्टीबाट निलम्बनको एजेन्डा पेश हुनेछ। यद्यपि निर्णय हुने या नहुने भन्ने विषयमा भने केही खुलाइएको छैन।
स्रोतका अनुसार पार्टी विभाजन गर्ने नेतृत्व नेपालले गरेको र समस्या समाधानको तयारी हुँदैगर्दा विपक्षी गठबन्धनसँग मिलेर एमालेलाई कमजोर बनाएको तथा नयाँ दल दर्ता गर्न लगाएको भनी कारबाही हुन सक्नेछ।
यता नेपाल–खनाल पक्षले भने ओलीलाई स्पष्टकीकरण नबुझाउने भएको छ । एमालेले खनाल–नेपाल समूहका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायतलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन अस्ति पत्र पठाएको थियो ।
पार्टीको नवौं महाधिवेशनपछिको संरचना भत्काएर अवैध संरचना निर्माण गरेर स्वयम् आफू नै अवैध भइसकेको व्यक्तिलाई आफूहरुले स्पष्टीकरण बुझाइरहन आवश्यक नरहेको खनाल–नेपाल समूहका नेता भीम रावलले टिप्पणी गरेका छन् ।


विश्व खबर 


















