images
images
  • तमू समुदायको भाषा, संस्कृति सम्बद्र्धनमा सरकारले सक्दो सहयोग गर्छ: प्रम देउवा

    काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले तमू समुदायको भाषा, संस्कृति र सभ्यताको संरक्षण एवं सम्बद्र्धन गर्न नेपाल सरकारले सक्दो सहयोग गर्ने बताएको छ । तमू ल्होसार २०७८ का अवसरमा आज आयोजित कार्यक्रममा उनले यस पर्वले तमू-गुरुङ समुदायहरू र विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आबद्ध नागरिकबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न सहयोग पुग्ने बताए।

    उनले यस पर्वले मुलुकको आर्थिक तथा सामाजिक विकासमा गुरुङ समुदायले पु¥याउँदै आएको योगदानलाई सबैसमक्ष उजागर गर्न र यस समुदायको सभ्यता र संस्कृतिलाई अरू समुदायसमक्ष चिनाउन मद्दत पुग्ने विश्वास पनि व्यक्त गरे । तमू (गुरुङ) समुदायले यस पटकको आफ्नो महान् चाड तमू ल्होसार ‘ल्वों ल्हो’ (गाई वर्ग) वर्षको बिदाइ तथा ‘तो ल्हो’ (बाघ वर्ग) वर्षको स्वागत गरी मनाइरहेका छन् ।

    प्रधानमन्त्री देउवाले भने, “नेपाल विभिन्न जातजाति, सम्प्रदाय, भाषाभाषी, धर्म र सांस्कृतिक समूहहरू मिलेर बनेको साझा देश हो । सबै समुदायहरूबीच रहेको सह–अस्तित्व, पारस्परिक सहयोग र सहिष्णुता तथा साझा परम्परागत मौलिक संस्कृति र सभ्यता नेपालीको पहिचान र गौरव हो । यिनै साझा र मौलिक सांस्कृतिक पक्षहरूले अनेकतामा एकताको भावना सिर्जना गर्दै हाम्रो राष्ट्रिय एकता र अखण्डतालाई सुदृढ तुल्याएका छन् ।”

    ल्होसार चाड विशेष गरी भोट बर्मेली समुदायका मानिसहरूले मनाउने महान् चाड हो । यो चाड नेपालमा मात्र नभएर विश्वका अन्य मुलुकहरूमा पनि मनाउने गरिन्छ । नेपालमा यो समुदायले मनाउने ल्होसारहरूमा तमू ल्होसार, (तोला ल्होसार), सोनाम ल्होसार र ग्याल्बो ल्होसार हुन् । यीमध्ये तमू ल्होसारको आफ्नै विशिष्ट इतिहास र परम्परा रहेको उल्लेख गर्दै उनले आदिमकालमा कुनै वैज्ञानिक गणना पद्धतिको विकास नहुँदाको समयमा पनि यस समुदायका त्यतिबेलाका अग्रज पुर्खाहरूले विभिन्न जीवजन्तुलाई आधार बनाई वर्ष गणना गर्ने पद्धतिको विकास गरेको बताए । त्यही परम्पराको निरन्तरताको रूपमा आजको दिनलाई गुरुङ जातिले तमू ल्होसारका रूपमा मनाउने गरेका छन् ।

    प्रधानमन्त्री देउवाले विश्वव्यापी महामारीको रूपमा रहेको कोभिड–१९ का कारणले सम्पूर्ण समाजलाई प्रभाव पारेकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालनासहित यस पर्वलाई मनाउनु बुद्धिमानी हुने सुझाव पनि दिए ।

    कार्यक्रममा सो समुदायका विभिन्न क्षेत्रका झाँकी ¥यालीहरु प्रदर्शन गरिएको थियो भने सो समुदायका विभिन्न विधाका विशिष्ट व्यक्तिहरुलाई प्रधानमन्त्री देउवाले सम्मान गरेको थियो । पर्वको औपचारिक उद्घाटन समारोहपछि विभिन्न सांस्कृतिक कार्यक्रम जारी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images