images
images
  • वर्षा र हिमपातका मुलुकभर चिसो बढ्योः जनजीवन कष्टकर

    काठमाडौं- आज मुलुकभर मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    काठमाडौं उपत्यकामा पनि रातिदेखि नै पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ । विभिन्न स्थानमा हिमपातले जनजीवन कष्टकर बनेको छ । ठाउँठाउँमा सडक अवरुद्ध समेत भएका हुँदा स्थानीयवासी तथा यात्रुहरु मर्कामा परेका हुन् । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । मौसमी प्रणालीका कारण पर्वतारोहण,हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको तापक्रम न्यूनतम तीन दशमलव छ र अधिकतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

    Achut Regmi KTM RSS 14 2

    टेलिफोन सेवा अवरुद्ध

    हिमपातका कारण बझाङ जिल्लाको टेलिफोन सेवा आंशिक रुपमा प्रभावित भएको छ । सौर्य ऊर्जामा निर्भर बझाङका टेलिकम टावरमा सौर्य प्रणाली चार्ज नहुँदा नेपाल टेलिकमको सेवा पनि आंशिक रुपमा प्रभावित भएको छ ।

    शनिबारदेखि नै बेला–बेलामा नेटर्वकले काम नगर्ने समस्या देखिएको बुङल नगरपालिका–१० देउलीकोटका मोहन बोहराले बताए । घाम नलाग्दा पहाडी जिल्लाका एफएफ रेडियोको प्रसारण सेवा पनि प्रभावित भएको छ । रिले स्टेशनमा विद्युत् सेवा नहुँदा सौर्य ऊर्जाका भरमा प्रसारण भइरहेका एफएफको रिले स्टेशनमा हिमपात हुँदा प्रसारण सेवा प्रभावित भएको छ ।

    तीन दिनदेखि राम्ररी घाम नलागेको र सोलारका ब्याट्री चार्ज नहुदा सेवा प्रभावित भएको जयपृथ्वी एफएम बझाङका अध्यक्ष प्रताप ओलीले बताए । उनले भने, “तीन दिनदेखि रिले स्टेशनमा राम्ररी घाम लाग्न पाएको छैन । घाम नलाग्दा ब्याट्री चार्ज हुनसकेको छैन । रिले स्टेशनमै भारी हिमपात भएको छ । सौर्य ऊर्जा बाहेक अन्य विकल्प नहुँदा रेडियोको प्रसारण सेवा छोट्याइएको छ ।” दैनिक १८ घण्टाको प्रसारण हुने गरेकोमा अहिले दिउँसो रेडियो बन्द गरेर बिहान पाँच घण्टा र साँझ पाँच घण्टा मात्र प्रसारण गर्ने गरेको उनको भनाइ छ ।

    मनाङको जनजीवन कष्टकार
    मनाङको माथिल्लो भेगमा पुस ११ गतेदेखि हल्का हिमपात सुरु भएपछि जनजीवन कष्टकार बन्दै आएको छ । हिमपात पर्न थालेपछि केही स्थानीयवासी जिल्ला बाहिरा हिँडेका छन् । मनाङको माथिल्लो भेग थोराङ्ला, तिलिचो बेस क्याम्प र नारफुलगायतका ठाउँमा ११ गते देखिनै हिमपात सुरु भए पनि तल्लो भेग चामे सदरमुकाम आसपासमा भने १२ गतेबाट हिमपात सुरु भएको हो ।

    “अहिले जिल्लाको सदरमुकामलगायत तल्लो भेगमासमेत बाक्लो हिमपात भइरहेको छ । मानिस हिँडडुल गर्न कठिन भएको छ । सवारी आवगमनसमेत ठप्प भएको छ । अझै तीन दिन हिमपात हुने मौसम पूर्वानुमान शाखाको अनुमान छ । जिल्लाको माथिल्लो भेगमा अहिले दुई फिटसम्म हिउँ जमेको छ । “पर्यटकलगायत सर्वसाधरणलाई हिमपातको समयमा सतर्क हुन अनुरोध गरिरहेका छौ”, प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले भने ।

     

    Manag
    स्थानीयवासीका अनुसार बाक्लो हिमपातले अत्यधिक चिसो बढाएको छ । माथिल्लो मनाङ गाउँका छिरिङ लोप्साङ गुरुङले छिनछिनको हिमपातका कारण चिसो बढेको बताए । उनका अनुसार स्थानीय साथै चक्रिय अन्नपूर्ण पदमार्ग घुम्न आएका पर्यटक हिमपातका कारण प्रभावित भएका छन् । उनले माथिल्लो मनाङमा शुक्रबार साँझदेखि छिनछिनमा हिउँ परिरहेको बताए । चिसोका कारण स्थानीयवासी आगो तापेर घरभित्रै बस्न बाध्य भएका छन् । यस अघि मङ्सिर तेस्रो साता माथिल्लो मनाङ र नार्पाभूमिमा हिमपात भएकोमा केही दिनयता चामे आसपासका क्षेत्रमा पनि हिमपात हुन थालेको छ ।

    हिमपातका कारण अत्यधिक चिसो बढेकाले प्रहरीलाई नियमित गस्तीका लागि पठाउनसमेत समस्या भएको प्रहरी नायब उपरीक्षक सुवास खड्काले बताए। सशस्त्र प्रहरी प्रहरी नायब उपरीक्षक अर्जुन पौडेलले हिमपातका कारण अधिकांश सडक अवरुद्ध भएकाले आवतजावत गर्न असजिलो भइरहेको बताए। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार माथिल्लो क्षेत्र साथै सदरमुकाम चामे आसपासमा निरन्तर बाक्लो हिमपात भइरहेकाले अत्याधिक चिसो बढेको बताए ।

    उनकाअनुसार विदेशी पर्यटकलाई सुरक्षित रहन र मौसममा सुधार नआएसम्म तिलिचो र थोरङ्लालगायत अन्य जोखिम क्षेत्रमा नजान अनुरोध गरिएको छ । गत एक हप्तमा जिल्लामा ३१ विदेशी पर्यटक भित्रिए पनि हाल २० जना जिल्लाभित्र रहेका छन् भने तीमध्ये ११ जनाले थोराङ्लापास गरी मुस्ताङ पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ ।

    घर बाहिर निस्किन सकस
    डोटी– सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा गएरातिदेखि भएको बाक्लो हिमपातका कारण ह्वातै चिसो बढेको छ । यसले सर्वसाधारण नागरिकलाई घर बाहिर निस्किन सकस भइरहेको छ ।

    हिउँले खप्तडमा डाँडाकाँडा रमणीय भएका छन् । करिब एक फिट जति हिउँ परेको त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुल्मले जनाएको छ । हिमपातका कारण खप्तड क्षेत्रको दृश्य निकै मनोरम भएका कारण यहाँ घुम्न आउने पर्यटकका लागि निकै रमाइलो भएको उद्योग वाणिज्य सङ्घका महासचिव तथा खप्तड झिग्राना घरबासका सञ्चालक दीपकबहादुर खड्काले बताए। उनले भने, “गएरातिदेखि यहाँ हिमपात भएको छ, हिमपातले डाँडाकाँडा सेताम्मे भएकाले निकै रमणीय भएका छन् ।”

    Doti

    अबका केही दिनमा खप्तड घुम्न आउने पर्यटकलाई हिमपातले निकै आनन्द दिने उनको भनाइ छ । जिल्लामा कोरोना सङ्क्रमण दर शून्यमा झरेसँगै अहिले खप्तड घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । गएको वैशाखदेखि हालसम्म खप्तड क्षेत्रमा चार हजारभन्दा बढी पर्यटक आवलोकन भ्रमणका लागि आएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय झिग्रानाले जनाएको छ । हिमपातका कारण त्यहाँको तापक्रम माइनस पाँच डिग्री पुगेको बताइएको छ । खप्तडमा हिमपात भएसँगै उक्त क्षेत्रका कुडासैन, झिग्राना, भल्मा, बग्लेक, गोला देउलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयवासीले जनाएको छ ।

    यसैगरी हिमपातकै कारण सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । उक्त राजमार्गको हगुल्टे र साहुखर्क क्षेत्रमा गए रातिदेखि हिमपात भएपछि यातायात अवरुद्ध भएको ट्राफिक प्रहरी पोष्ट बुडरले जनाएको छ । हिउँ परेपछि तराईबाट पहाड र पहाडबाट तराईका जिल्लाका लागि छुटेका दर्जर्नौँ सवारीसाधन अहिले राजमार्गमै रोकिएका छन् । यात्रु बाटोमै अलपत्र परेका छन् । उक्त राजमार्गको हिउँ पन्छाउन सडक विभागको डोजर प्रयोग गरिएको प्रहरीचौकी घण्टेश्वर गैराले जनाएको छ ।

    Doti 2

    म्याग्दी र मुस्ताङको जनजीवन प्रभावित
    म्याग्दी– हिमाली जिल्ला म्याग्दी र मुस्ताङमा आज बिहानैदेखि परेको हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको छ ।

    मुस्ताङको अधिकांश भू–भागमा हिउँ परेको छ । घरपझोङ गाउँपालिका–५ ठिनीकी यमुना लामाले हिमपातसँगै हावाहुरी चलेको बताए । सर्वसाधारण घरभित्रै आगो तापेर बसेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा, अन्नपूर्ण गाउँपालिका–६ को पर्यटकीय बस्ती घोडेपानी र वडा नं ८ को राम्चेमा पनि हिउँ पर्न थालेको छ ।

    आज बिहान ४ बजेदेखि हिमपात सुरु भएको घोडेपानी टोल विकास संस्थाका अध्यक्ष वीरेन गर्बुजा पुनले बताए। खोला, ताल, पँधेरा र धारामा पानी जमेको छ । सडकमा सवारीसाधन आवतजावत गर्न समस्या भएको छ । वर्षात र हिउँले स्याउ, जौ, उवा, फापरबालीलाई सहयोग पुग्ने कृषि ज्ञान केन्द्र म्याग्दीका कृषिप्रसार अधिकृत गोविन्द पाण्डेले बताए । याकचौरी, भेडाच्याङ्ग्रा र घोडा खच्चडलगायत पशु चौपायालाई गोठमै बाधेर राखेका छन् ।

    Myagdi

    उपल्लो मुस्ताङका बासिन्दा चिसो बढेपछि म्याग्दी, कास्की, काठमाडौँ, चितवन, रुपन्देही, बागलुङ, पर्वतलगायतका जिल्लामा घुम्ती व्यापारका लागि झरेका छन् । म्याग्दीका किसानले चरणका लागि लेकाली क्षेत्रमा लगेका पशु गोठ बेँशी झारेका छन् । बर्खामा हिमालको फेदीका बुकी र चरन खर्कमा लगिएका गाई, भैँसी, चौरी, भेडाबाख्राको गोठ चिसो बढेसँगै गाउँबस्ती आसपासका जङ्गल र पाखामा झारेका छन् ।

    बालवालिका र ज्येष्ठ नागरिक बढी प्रभावित
    गएरातिदेखि वर्षासंगै परेको हिमपातले उत्तरी रसुवाको जनजीवन कष्टकर बनेको छ ।

    सदरमुकाम धुञ्चेदेखि उत्तरी क्षेत्रका गाउँबस्तिहरूमा हिउँ पर्न थालेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । हिमपातका कारण स्याफ्रु , बृद्विम, लाङ्टाङ् , खैदी , थुमन, तातोपानी , टेचाङ्दे , सिम्वु , गतलाङ , चन्दनबारी समेतका क्षेत्रमा प्राभावित भएका छन् । यसैगरि हिमपातले राम्चे, ठाडे, लोकल, यार्सा, हाकुको माथिल्लो भेक गोल्जुङ समेतका गाउँको जनजीवनसमेत कष्टकर बनाएको छ ।

    Dane Bohara Simkot RSS 14 daura

    हिमपातका कारण घर पालुवा चौपायलाई चरण क्षेत्र अभाव हुँदा पशु आहाराको सङ्कट बढ्दै गएको पशुपालक कृषकले बताएका छन् । अत्याधिक चिसोले बालवालिका र ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित भएको स्थानीयवासीले बताएका छन् ।

    हिमपातको समयमा घरबाट बाहिर ननिस्कन जिल्ला विपद् व्यवस्थापन समितिले सबैमा अनुरोध गरेको छ । उक्त समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार हिमपातको असर न्यूनीकरणका लागि न्यानो कपडा बितरण गर्ने पूर्वतयारी भइरहेको छ ।

    जुम्ला सदरमुकाम खलङ्गा बजारमा परेको हिउँ । बुधबार बिहानदेखि लगातार भारी हिमपात भएपछि यहाँको जनजीवन निकै कष्टकर भएको छ । हिमपातले हिउँदे बाली राम्रो हुने किसान बताउँछन् ।

    BR Khalanga 16407484340875745

    प्रतिक्रिया दिनुहोस्
    images
    images