काठमाडौं- राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा आइतबारदेखि जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत आज सोमबार बन्दसत्र सुरु हुँदै छ।
आइतबार उद्घाटन समारोह सम्पन्न भएको माओवादी केन्द्रको महाधिवेशन आज बिहान ११ बजेदेखि बन्दसत्रमा प्रवेश गर्ने भएको हो।
माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्माका अनुसार बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लेखेको राजनीतिक प्रतिवेदन, विधानलगायत विभिन्न प्रतिवेदन पेस हुनेछन्।
महाधिवेशनको बन्दसत्रमा १७ सय प्रतिनिधि सहभागी हुने माओवादी केन्द्रले जनाएको छ। राजनीतिकलगायत विभिन्न प्रतिवेदन पारितपछि बन्दसत्र माओवादी केन्द्रको नयाँ नेतृत्व चयन प्रक्रियामा प्रवेश गर्नेछ।
माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार महाधिवेशनले पदाधिकारीसहित २९९ जनाभन्दा बढी नै सदस्य रहेको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ। यसमा पदाधिकारीको संख्या अध्यक्षसहित १५ जना राख्ने तयारी छ।
सकेसम्म सहमतिबाट सहमति नजुटे निर्वाचनबाट नेतृत्व चयन गरिने उनको भनाइ छ।
‘केन्द्रीय कमिटी संख्या २९९ मा बढी हुन्छ। केन्द्रीय कमिटीका तर्फबाट एउटा प्यानल प्रस्ताव होला’, महराले भनेका छन्, ‘त्यसमा असहमत भएका साथीहरूले आफ्नो मत राख्न सक्नुहुन्छ। सहमति भयो भने निर्वाचनमा जाँदैन। सहमति भएन निर्वाचनबाटै नेतृत्व छानिन्छ।’


विश्व खबर 


















