images
images
  • माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन आज

    काठमाडौं- माओवादी केन्द्रको आठौँ महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदै छ । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको हलमा उद्घाटन हुनेछ ।

    नेकपा (माओवादी केन्द्र)को आठौँ महाविधेशनको तयारी पूरा भएको छ । माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज अपराह्न १ बजे  सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    देशव्यापीरूपमा कार्यकर्तापङ्क्तिमा छाएको उत्साह तथा जनस्तरबाट प्राप्त सुझावका आधारमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएको माओवादीले जनाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार साँझ बसेको स्थायी समितिको बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई आज बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्ने जनाइएको छ ।

    स्थायी समितिको बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनप्रति जनआकर्षण एवं पार्टीपङ्क्तिमा पनि विशेष चासो बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरिएको जानकारी दिए। राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय भएसँगै यसलाई आठौँ महाविधेशनको नाम दिइएको छ ।

    महाधिवेशनले पार्टीको समग्र नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालसम्म विकल्प देखिएको छैन । हाल माओवादीको केन्द्रीय समिति १७९ सदस्यीय छ । महाधिवेशनमा २९९ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरिने जनाइएको छ । यसमा दलितको प्रतिनिधित्व ४५ जनाको हुनेछ । मुस्लिम १५, महिला ६७, युवा ४८ र अन्य खुला १२४ जना सदस्य रहने व्यवस्था गरिएको छ ।

    माओवादीले प्रौढ, वयस्क र युवाको तीन तहको समिश्रणलाई पार्टीको केन्द्रीय समिति निर्माण हुने जनाएको छ । पाकाको अनुभव, युवाको जोशलाई देश निर्माणमा अगाडि बढाउने नीति अख्तियार गरेको छ । माओवादीको विधानले युवालाई २० प्रतिशतको हिस्सा छुट्याएको छ । कूल ४० वर्ष र सोही आसपासको उमेर समूहका नेतालाई विशेष भूमिका दिने तयारी गरिएको छ ।

    माओवादीको अन्तरिम विधान २०७८ को धारा १६(४) र धारा ३८(१–८) अनुसार महिला ३५ प्रतिशत, युवा २० प्रतिशत, दलित १५ प्रतिशत र मुस्लिम पाँच प्रतिशत रहने गरी व्यवस्था गरिएको छ । यसपटक माओवादीले पुनः बहुपदीय प्रणालीको अवलम्बन गर्ने भएको छ ।

    महाविधेशन ५ दिनसम्म चल्ने माओवादीले जनाएको छ ।

    के फरक हुन्छ महाधिवेशन र राष्ट्रिय सम्मेलनमा ?
    राष्ट्रिय महाधिवेशन स् पार्टी विधानको धारा १५ मा राष्ट्रिय महाधिवेशनसम्बन्धी व्यवस्था गरेको छ । उक्त व्यवस्थामा एकताको राष्ट्रिय महाधिवेशन पार्टीको सर्वोच्च संस्था हुने तथा राष्ट्रिय महाधिवेशन प्रत्येक पाँच वर्षमा सम्पन्न गर्ने उल्लेख छ । विशेष परिस्थितिमा केन्द्रीय समितिले यसको स्पष्टीकरणसहित बढीमा ६ महिनासम्म राष्ट्रिय महाधिवेशनको समय सार्न सक्ने विधानले व्यवस्था गरेको छ ।

    महाधिवेशनको स्थान, मिति र प्रतिनिधित्व केन्द्रीय समितिले तोकेबमोजिम हुने तथा महाधिवेशन आफैँले महाधिवेशन सञ्चालनका लागि आवश्यक विधि, प्रक्रिया र संरचना तय गर्ने विधानमा छ । यसबाहेक राष्ट्रिय महाधिवेशनले पार्टीको विधान, राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र आवश्यक अन्य प्रस्ताव पारित हुन्छन् । केन्द्रीय समिति, केन्द्रीय निकाय र तिनका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन राष्ट्रिय महाधिवेशनबाट पारित विधानबमोजिम हुने व्यवस्था छ ।

    पार्टी एकीकरण गरिएको सन्दर्भमा एकीकरणसम्बन्धी संयुक्त भेला वा केन्द्रीय समितिहरूको संयुक्त अधिवेशनले निर्णय गरेबमोजिम राष्ट्रिय महाधिवेशनको आयोजना हुने माओवादीको विधानमा छ । यसअघि ०६९ मा माओवादीले सातौँ राष्ट्रिय महाधिवेशन हेटौँडामा गरेको थियो ।

    राष्ट्रिय सम्मेलन स् विधानको धारा ५९ राष्ट्रिय सम्मेलनबारे व्यवस्था छ । दुई राष्ट्रिय महाधिवेशनको बीचमा पार्टीको नीति, कार्यक्रम, संगठन, पार्टी एकता वा विभाजन वा कुनै विशेष परिस्थिति उत्पन्न भएमा केन्द्रीय समितिले राष्ट्रिय सम्मेलन आयोजना गर्न सक्ने विधानमा छ । त्यस्तो सम्मेलनले गरेको निर्णयको अनुमोदन त्यसपछि आयोजना हुने राष्ट्रिय महाधिवेशनद्वारा गरिनुपर्ने व्यवस्था छ । राष्ट्रिय सम्मेलनको प्रतिनिधित्व केन्द्रीय समितिले तोकेबमोजिम हुने पनि विधानमा छ । यसअघि ०७१ मा माओवादीले विराटनगरमा राष्ट्रिय सम्मेलन गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images