काठमाडौं- आज डिसेम्बर २५, प्रभु जिसस क्राइस्टको जन्म भएको मानिन्छ । त्यही आधारमा क्रिसमस मनाउने गरिएको हो । अर्थात जिससको जन्मदिन ।
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।
पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मेका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए। उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीन वटै दिवसका रूपमा मनाउने गरेका छन् ।
मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उनले सुनाए । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउने थालेको हो ।
दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । यस वर्ष भने सबैलाई सार्वजनिक बिदा दिइएको छ ।
हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । तेह्र हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानमा क्रिसमस महोत्सव, २०७८ आयोजना गरिएको छ । कार्यक्रममा सरकारका प्रतिनिधि तथा मानव अधिकारवादीलगायतको उपस्थिति रहने अध्यक्ष गहतराजले बताए ।
पछिल्लो समय मुख्य शहरका प्रमुख स्थलमा क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ । गत वर्ष कोरोना महामारीका कारण क्रिसमसमा चहलपहल कम भएको थियो । यस वर्ष भने पर्यटक आउने क्रम शुरु भएकाले पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ ।
कथा यस्तो छ
क्रिसमसको कथा आजभन्दा करिब २ हजार बर्षअघिको हो । बाइबलमा उल्लेख भए अनुसार त्यसबेला रोम शासन थियो । रोम शासनबाट बचाउनका लागि जिसस क्राइस्ट धर्तीमा अवतरण गरेका थिए । जिससले जन्मका लागि एक कुमारी कन्य म्यारी छनौट गरे । म्यारीकहाँ एक देवदुत पठाइयो र भनियो, ‘तिमीले प्रभूको पुत्र जीससलाई जन्म दिनुपर्नेछ ।’
उनले उक्त पुत्र पछि राजा हुने पनि बताए । जुन दिन जिससको जन्म हुनेवाला थियो । त्यसबेला म्यारी र जोसेफ बेथलेहतिर जाँदै थिए । त्यसबेला बेथलेहम निकै भिड हुन्थ्यो । उनीहरुले बस्ने ठाउँ पाएनन् । त्यसैले त्यस रातका लागि घोडाको तबलामा बसे । त्यही जिससको जन्म भयो ।
यहि कथालाई आधार मानेर क्रिसमस मनाइन्छ ।
क्रिसमस ट्रि, झिलिमिली, शान्त क्लज र उपहार
क्रिसमसलाई पश्चिमा समाजले भव्यताका साथ मनाउने गर्छन् । यसबेला घर घरमा क्रिसमस ट्रि सजाउने, त्यसमा रंगीचंगी बिजुली बाल्ने, खेलौनाहरु सजाउने जस्ता विधीहरु गरिन्छ ।
के पनि भनाई छ भने, शान्त क्लज (जसलाई क्रिसमसको पिता भनिन्छ) यसबेला हरेकको ढोकामा आउँछन् । त्यही कारण पनि घरलाई झिलिमिली बनाइन्छ । शान्त क्लजले उपहार लिएर ढोकामा छाडिदिने कथन छ । यस पर्वको खास विशेषता भनेको क्रिसमस ट्रि, शान्त क्लज, उपहार नै हो । यतिबेला रातो पृष्टभूमीमा सेतो फेरो भएको क्रिसमस ह्याट र लुगा लगाउने गरिन्छ ।


विश्व खबर 


















