images
images
  • बालुवाटारमा सर्वदलीय बैठक शुरु, एमाले सहभागी भएन

    काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको बैठक सकिएपछि सर्वदलीय बैठक शुरु भएको हो ।

    पाँच दलीय गठबन्धनको बैठक लगत्तै सर्वदलीय बैठक सुरु भएको हो। तर यो बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले सहभागी भएको छैन।

    प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको अवरोध खुलाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता अनुमोदनका विषयमा छलफल गर्न आइतबार सर्वदलीय बैठक बोलाएका थिए । सर्वदलीय बैठकअघि बालुवाटारमा एमसीसीका विषयमा सत्ता गठबन्धनमा छलफल भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    सत्ता गठबन्धनमा रहेका दलहरुमध्ये नेपाली कांग्रेस एमसीसी सम्झौता पारित गर्नुपर्ने पक्षमा छ भने नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी केन्द्रलगायतका दलहरु सम्झौता परिमार्जन गर्नुपर्ने पक्षमा छन् ।

    सर्वदलीय बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले नजाने बताइसकेको छ । अब बैठकमा एमालेबाहेक प्रतिनिधिसभामा रहेका अरु दलका नेताहरु सहभागी हुनेछन् ।

    यो सर्वदलीय बैठकले गत भदौ २३ गतेदेखि संसदमा एमालेले गरेको अवरोध खुलाउने विषयमा छलफल हुने भएको छ। त्यसैगरी अमेरिकी परियोजना एमसीसीबारे पनि बैठकमा चर्चा हुँदैछ। समाजवादी अध्यक्ष माधवकुमार नेपालको सहभागिता हुने भन्दै एमाले भने यो बैठकमा सहभागी छैन।

    तर सत्ता साझेदार माओवादीले आफ्नो राष्ट्रिय सम्मेलनअगाडि एमसीसी संसदमा अघि बढाउन नहुने अडान लिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images