काठमाडौं- साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संयोजक मिलन पाण्डेसहितका चार जना नेतालाई स्पष्टीकरण सोध्नुका साथै जिम्मेवारीबाट हटाएका छन्।
मिश्रले संयोजक पाण्डेलाई अस्पष्टीकरण सोधेका छन् भने बागमती प्रदेशकी संयोजक रञ्जु दर्शना र अन्तर्राष्ट्रिय समितिका संयोजक सुरेश भट्टलाई जिम्मेवारीबाट हटाएका हुन्। मिश्रले पुस १ गते पाण्डेलाई स्पष्टीकरण सोधेको र दर्शना र भट्टलाई संयोजकबाट हटाएको सो पार्टीको सञ्चार विभागले जनाएको छ।
मिश्रले बिहीबार केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका थिए। सोही बैठकबाट नेताहरूलाई स्पष्टीकरण सोध्ने तथा कारबाही गर्ने निर्णय गरेका थिए। पाण्डेलाई स्पष्टीकरण बुझाउन पुस ४ गतेसम्मको समय दिएका छन्।
त्यस्तै, पार्टीका वरिष्ठ नेता केशव दाहाललाई प्रशिक्षण विभाग प्रमुखबाट हटाइएको छ। साथै, संसदीय दलका नेता रमेश पौड्याललाई फिर्ता बोलाउने तयारी गरेको बुझिएको छ। मिश्रले आफूसँग बहुमत छ भनेर निर्वाचन आयोगमा पेस गरेको दस्ताबेज नक्कली भएको भन्दै पाण्डेले निर्वाचन आयोगमा उजुरी दिएका थिए।
पाण्डेको उजुरीपछि निर्वाचन आयोगले मिश्रलाई स्पष्टीकरण सोधेको थियो। एकपटक फुटेर गत मंसिरमा दोस्रोपटक एकीकरण गरेका मिश्र र पाण्डेले एकीकरण गर्दा पार्टीलाई गतिशील, मध्यवामपन्थी, संविधानवादलाई पूर्णतः पालना गर्ने र विगतका आन्दोलनका उपलब्धीहरूलाई रक्षा गर्ने पार्टी बनाउने भनेर लिखित सहमति गरेका थिए।
मिश्रको कारबाही पछि पाण्डे समूहका नेताहरूले पार्टीभित्र रवीन्द्र मिश्र एक्लिँदै गएर हतास मनस्थितिमा यस्तो निर्णय गरिएको बताएका छन्। मिश्रले गत साउन ११ गते पार्टीमा मार्ग परिवर्तन–विचारभन्दा माथि देश भन्ने दस्ताबेज ल्याएपछि विवाद सुरु भएको हो।
मिश्रले एकीकरणलाई धोका दिएर राजावादी लाइन समातेपछि पार्टीमा विवाद आएको पाण्डे समूहले आरोप लगाएको छ।


विश्व खबर 


















