images
images
  • को हुन् सह-महामन्त्रीमा निर्बाचित युवा नेता पाण्डे ?

    काठमाडौं- नेपाली काँग्रेसको पिछडिएका क्षेत्रतर्फ को सहमहामन्त्रीमा शेखर कोइराला प्यानलका बद्री पाण्डे विजयी भएका छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा भएको मतगणनाअनुसार कोइराला प्यानलका पाण्डे विजयी भएका हुन् ।

    सभापति शेरबहादुर देउवा समूहका जीवन शाहीलाई पराजित गरि पाण्डे २४११ मत ल्याएर सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका शाहीले पाण्डेसँग २७८ मतले पराजय बेहोरेका हुन् ।

    नेपाली काँग्रेसका युवा नेता पाण्डे २०४३ सालमा वाल्मिकी क्याम्पसको नेपाल विद्यार्थी संघ (नेविसंघ) इकाई सदस्य भएर राजनीतिमा छिरेका हुन् । बाल्मिकी क्याम्पसको इकाई सदस्य हुँदै उनी स्ववियु सभापतिसम्म भए । उनी स्ववियु परिषदको सभापति पनि भए । २०५० सालमा नेविसंघ बाजुराको अध्यक्ष भएका पाण्डे ०५६ सालमा गोविन्द भट्टराई सभापति भएका बेला केन्द्रीय सदस्य बने । विश्वप्रकाश शर्माका पालामा नेविसंघ सहमहामन्त्री भए ।

    गुरुराज घिमिरे र केशव सिंहका पालामा उपाध्यक्ष बनेका उनी महेन्द्र शर्मा नेतृत्वको कार्य समितिमा महामन्त्री भए । प्रदीप पौडेलसँग नेविसंघ सभापतिमा पराजित भएपछि पाण्डे पार्टी राजनीतिमा लागे । काँग्रेसको १२ औं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा निर्वाचित भए । ०७० मा भएको दोस्रो संविधानसभामा उनी समानुपातिक सांसद भए । १३ औं महाधिवेशनमा पनि उनी केन्द्रीय सदस्यमा विजयी भए ।

    ०७४ को आम चुनावपछि पाण्डे राष्ट्रियसभा सदस्य बने ।​ दुई वर्षे कार्यकालको गोला परेपछि २ वर्षअघि नै उनको कार्यकाल सकिएको छ । त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा विद्यावारिधि (पीएचडी) सक्ने तयारीमा छन् । यसैबीच १४ औं महाधिवेशनबाट पिछडिएका क्षेत्र सहमहामन्त्री बन्न सफल भएका छन् । कर्णाली प्रदेश मुख्यमन्त्री तथा संघीय सरकारका पूर्व पर्यटनमन्त्री समेत रहेको जीवन शाहीलाई पराजित गरेका छन्।

    क्यासिनोदेखि घटना र विचारको जागिर

    २०४८ सालको प्रतिनिधिसभा चुनावपछि गृहमन्त्री भए शेरवहादुर देउवा। देउवाले नै क्यासिनोमा जागिर लगाए पाण्डेलाई। ४ दिन तालिम गरे, तर जागिरमा जान पाएनन्। क्याम्पस कमिटीको सचिव जितेकाले राजनीतिमै व्यस्त हुन थाले उनी।

    २०४९ तिर मिडियामा काम गर्ने रुचि जाग्यो उनलाई। देउवालेनै रेडियो नेपालको घटना र विचारमा जान सुझाए। जतिबेला कार्यक्रम सञ्चालक थिए( कृष्ण कँडेल। तर रेडियो नेपाल पनि जान पाएनन्। व्यस्तता राजनीतिमै।

    २०५९ मा भने मिडियामा काम गर्ने इच्छा पूरा भयो उनको। इमेज रेडियोमा दुई वर्ष र इमेज टिभीमा ६ महिना काम गरे। आजको सन्दर्भ भन्ने कार्यक्रमको नाम थियो। त्यतिबेला पाण्डे नेविसंघमा उपाध्यक्ष भइसकेका थिए।

    २०६१ माघ १९ मा राजाले शासन सत्ता हातमा लिएपछि मिडियामा हस्तक्षेप गरे। त्यसपछि कार्यक्रम चलाउन छाडे उनले।

    पढाइ र राजनीति सँगसँगै

    बाजुराको हिमाली गाउँपलिका ४ मा जन्मिएका हुन् पाण्डे। तत्कालीन शैलेश्वरी प्राविमा उनको स्कुले जीवन सुरु भयो। ५ कक्षासम्म पढाइ। त्यसपछि उनी ठूला बुवाका छोरा दाजु लालकेशर पाण्डेसँग लागे मुगुको सदरमुकाम गमगढीतर्फ। लालकेशरको जागिर मालपोतमा थियो। गमगढीमै महाकाली माविमा भर्ना भए पाण्डे। ८ कक्षासम्म पढे। त्यसपछि दाजुको सरुवा भयो। अनि बाजुराको जनप्रकाश मावि केही समय पढ्न पुगे।

    लालकेशरले नै उनलाई तीनधारास्थित संस्कृत छात्रावासमा बस्ने बन्दोबस्ती मिलाइदिए। पढाई हुने भयो संस्कृत मावि रानीपोखरीमा। एसएलसी पुरा गरे। प्रवीणता र स्नातक गरे वाल्मिकी क्याम्पसबाट। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए गरेका पाण्डे हाल पिएचडीका विद्यार्थी हुन्।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images