images
images
  • गणतान्त्रिक आन्दोलनका ‘आइकन’: दुई तिहाईका महामन्त्री गगन

    काठमाडौं- जतिबेला मुलुकमा तत्कालीन राजा ज्ञानेन्द्रले निरंकुश शासन सुरु गरेपछि संवैधानिक राजतन्त्र कि गणतन्त्र रु भन्ने बहस सुरू भयो त्यतिबेला राजधानीमा विद्यार्थी नेताहरूको एउटा समूह अब राजसंस्था किन चाहिँदैन रु भन्ने बहस गर्दै थियो । शीर्ष दलका नेताहरू संसद्को‌ पुनःस्थापना गरी पुरानै संविधानको निरन्तरता वा राजसंस्थाविहीन लोकतान्त्रिक शासन व्यवस्था भन्नेमा अलमलिएका थिए ।

    मुलुकको ठूलो दल नेपाली कांग्रेस न राजसंस्थाका पक्षमा अडिग थियो, न गणतन्त्रका पक्षमा प्रस्ट । तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला राजसंस्थाविरुद्व वारपार चाहन्थे । तर, असफल प्रयासको मौका देखेका थिएनन् ।

    त्यही बेला कृष्ण पहाडी, देवेन्द्रराज पाण्डे लगायतले नागरिक आन्दोलन थाले । हजारौँ युवा र विद्यार्थी सडकमा उत्रिए अनि राजसंस्थाविरुद्व बहसमा रहेका २५र२६ वर्षे ठिटाहरूको समूह समर्थनमा । देशभर राजतन्त्रकाविरुद्ध जनमत बन्दै गरेको त्यो बेला दलहरूले ‘पूर्ण प्रजातन्त्र’को नारा अघि सारे । सडकमा राजसंस्थाविरोधी नारा घन्कियो । युवा विद्यार्थी आन्दोलन चर्कियो । युवा, विद्यार्थीसहितको नागरिक आन्दोलनको दबाब बढ्दै थियो । सशस्त्र द्वन्द्वरत माओवादीले शान्तिपूर्ण लोकतान्त्रिक राजनीति रोज्यो भने कांग्रेसले गणतन्त्रको बाटो ।

    त्यही आन्दोलनको जगमा १९ दिने जनआन्दोलनले राजसंस्थालाई घुँडा टेकायो । संसद्को पुनस्स्थापना भयो, र अन्तरिम संविधान जारी भयो । राजसंस्था फाल्ने र मुलुकलाई गणतन्त्रको बाटोमा अघि बढाउने त्यो आन्दोलनको अग्र पंक्तिमा थिए, विद्यार्थी नेता गगन थापा ।

    नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष र महामन्त्री भइसकेका थापालाई त्यही आन्दोलनले राष्ट्रिय राजनीतिको उदाउँदो अनुहारका रुपमा परिचित गरायो । त्यसो त त्रि-चन्द्र कलेजको स्ववियू सदस्य, सचिव र सभापति हुँदा थापाले काठमाडौंका सडकमा देखाएको विद्यार्थी जोस् कम आशालाग्दो थिएन ।

    ०६४ सालको संविधानसभा निर्वाचनमा थापाले प्रत्यक्षतर्फ चुनाव लड्ने अपेक्षा थियो, तर उनले प्रत्यक्षतर्फ टिकट पाएनन् । गणतान्त्रिक आन्दोलनको फ्रन्टलाइनरलाई नै उम्मेदवार नबनाएको आलोचना भएपछि कांग्रेसले उनलाई समानुपातिकतर्फ उम्मेदवार बनायो, उनी ३१ वर्षमै संविधानसभा प्रवेश गरे ।

    संसद्‌मा उनको प्रभावकारी उपस्थितिकै कारण उनको चर्चा थप चुलियो, कांग्रेसमा उनी उदयमान नेताको रुपमा सबैको नजरमा परे । ०६७ मा भएको १२ औँ महाधिवेशनबाट उनी सर्वाधिक मतसहित केन्द्रीय सदस्य निर्वाचित भए । त्यसको दस वर्षपछि फेरि उनी सर्वाधिक करिब दुईतिहाई ३०२३ मतसहित महामन्त्रीमा निर्वाचित भएका छन् ।

    कांग्रेसका संस्थापक बीपी कोइरालाले ३३ वर्षकै उमेरमा कलिलो कांग्रेसको नेतृत्व गरे । ००५ सालमा सभापति बनेका मातृकाप्रसाद कोइराला ३७ वर्षका थिए, सुवर्ण शमशेरले ४५ वर्षमा पार्टीको नेतृत्व गरे । त्यसपछि कांग्रेस जति बुढो हुँदै गयो, नेतृत्व त्यति नै बूढा उमेरका । किसुनजीले ६७ वर्षको उमेरमा पार्टी चलाए, गिरिजाबाबुले ७६ वर्षको उमेरमा । अहिले साढे सात दशक पुरानो कांग्रेसको नेतृत्वमा त्यही हाराहारी उमेरका बुढा नेता होडबाजी गरिरहेका छन् । यसपटक सभापतिका प्रत्यासी शेखर कोइराला ७१ वर्षे थिए, दोस्रोपटक निर्वाचित शेरबहादुर देउवा ७५ वर्षे हुन् ।

    पार्टीको नेतृत्वमा बाबु पुस्ता लडिरहेका बेला नेता थापाले ४५ वर्षमै महामन्त्री बनेर पार्टीमा पुस्तान्तरणको बलियो सन्देश दिएका छन् । थापाले पार्टी राजनीतिमा आएको १० वर्षमै सभापतिपछिको शक्तिशाली महामन्त्री बनेर छलाङ मारेका छन् ।

    पहिलो संविधानसभामा ३१ वर्षकै उमेरमा सांसद बनेका थापाले ३४ वर्षमै केन्द्रीय सदस्य जिते । ०७० र ०७४ को आमनिर्वाचनमा काठमाडौं–४ बाट प्रत्यक्ष निर्वाचित थापा पूर्वस्वास्थ्यमन्त्रीसमेत हुन् ।

    थापाले १३ औँ महाधिवेशनमै पार्टीमा नेतृत्व परिवर्तन र पुस्तान्तरणको मुद्दा उठाए । महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका उनले शक्तिशाली गुटबाट टिकट पाएनन्, र अन्तिम समयमा नेता कृष्णप्रसाद सिटौलालाई रोजे ।

    पार्टीमा परिवर्तन र पुस्तान्तरण चाहेर जोखिम मोलेका उनले चुनाव त जितेनन् नै । तर, चर्चाका हिसाबले महाधिवेशनको केन्द्रमा उनी नै रहे । त्यसबेला उनले ५८५ मत पाएका थिए । १३ औँ महाधिवेशनपछि थापाको देश दौडाहा चल्यो । सिटौलाकै सिफारिसमा स्वास्थ्यमन्त्री बनेका उनले छोटो समयमा केही उल्लेख्य काम गरे । ०७४ को आमनिर्वाचनपछि संसद्को‌ प्रतिपक्षी भूमिकामा उनी खरो उत्रिए । अहिलेसम्म उनले यी पाँच वर्षमा आफू र आफ्ना एजेन्डालाई यसरी प्रचार गरे, कि १४ औँ महाधिवेशनमा उनी महामन्त्रीका निर्विकल्प उम्मेदवार बन्न पुगे ।

    गगनको सफलताकाबारे उनीनिकटहरू भन्छन्, ‘टिममा काम गर्ने, सबैको सल्लाह लिएर आफूले निर्णय गर्न सक्ने क्षमता मुख्य कारण हो ।’ थापामाथि अवसरवादीको आलोचनात्मक ‘ट्याग’ पनि लाग्ने गरेको छ । ‘परिस्थिति हेर्ने, र आफ्नो सहजता हेरेर निर्णय गर्ने उनको शैलीले त्यस्तो आरोप लगोको पनि हुनसक्छ ।

    राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भने थापालाई पब्लिकमाझ लोकप्रिय बनेर उदाएको नेता भन्छन् । ‘अब नेतृत्व विकास पार्टीभित्र बाट मात्रै होइन, पब्लिकबाट निस्किने हुन्छ । जो पब्लिकमाझ लोकप्रिय हुन्छ, उसले पार्टीमा पनि त्यस्तै लोकप्रियता बनाउन सक्छ,’ उनी भन्छन्, ‘अहिले गगन थापा त्यसैगरी पब्लिकबाट पार्टीमा छाएका नेता हुन् ।’

    त्यसो त थापाले यो दशकमा पटक–पटक गुट अदलबदल गरिसकेका छन् । १३ औँ महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट टाढिएर कृष्णप्रसाद सिटौलाको नेतृत्वमा महामन्त्री लडेका थापाले यसपटक शेखर कोइरालाको नेतृत्व रोजे । विद्यार्थी राजनीतिमा पनि उनी कहिले विश्वप्रकाश शर्मासँग नजिकिए, कहिले गोविन्दराज भट्टराईसँग ।

    यसपटक भने पार्टीभित्र उनको लोकप्रियता गुटभन्दा फराकिलो बनेको छ । उनले पाँच प्रतिस्पर्धीलाई पछि पार्दै महामन्त्रीमा ३०२३ मत पाएका छन् ।

    राजनीतिक विश्लेषक आचार्य यो महाधिवेशनले कांग्रेसमा युवाको हस्तक्षेपकारी भूमिका बढाएको बताउँछन् । ‘युवाको हस्तक्षेपकारी भूमिका बढ्नुपर्छ भन्ने दबाब थियो । गगन र विश्वप्रकाश त्यस्तै युवा गिरोहका नेता हुन्,’ उनले भने, ‘सभापतिजी पार्टीभित्रको लोकप्रियताले आउनुभयो, गगन र विश्वप्रकाश पार्टीभित्र र बाहिर दुवै लोकप्रियताले आएका हुन् ।’

    उनले कांग्रेस अब बुढाहरूको मात्रै पार्टी नरहेको बताए । ‘कांग्रेस अब बुढाहरूको पार्टी रहेन । अब युवाहरूको पार्टी बनाउनुपर्छ भनेर महाधिवेशनका प्रतिनिधिहरूले गगन थापा र विश्वप्रकाश शर्मालाई रोजे, अर्को कुरा महाधिवेशनमा युवा नै धेरै थिए, उनीहरुले युवा अनुहार रोजे,’ उनले  भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images