काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ गते सम्पन्न निर्वाचनको अन्तिम मतगणना अनुसार महामन्त्री द्वयमा उनीहरु निर्वाचित भएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा भर्खरै सम्पन्न मतगणनामा अनुसार थापाले तीन हजार २३ र शर्माले एक हजार ९८४ मत प्राप्त गरेको हो । त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवारहरु क्रमशः डा.प्रकाशशरण महतले एक हजार एक हजार ५५६, प्रदीप पौडेलले एक हजार ३९३, डा.मीनेन्द्र रिजालले ८०९ र डा.राजाराम कार्कीले १०६ मत प्राप्त गर्नुभएको काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
चार हजार ६८२ मत गणनामा भएकोमा सबैभन्दा बढी मत थापाले ल्याए भने शर्माले दोस्रो स्थानमा जीत हासिल गरेको छ । महामन्त्री उम्मेदवारको मतगणना बिहान १०ः२० बजेदेखि सुरु भएको थियो । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । उपभापति पदमा पार्टीका युवा नेताहरु थापा, डा महत, पौडेल, डा.रिजाल, डा।कार्की र शर्मा उम्मेदवार थिए ।
को हुन् गगन थापा ?
कक्षा ९ मा पढ्दा नै २०४६ सालको जनआन्दोलनमा सक्रिय गगन थापाको राजनीतिक यात्रा भने क्याम्पस पढ्न थालेपछि सुरु भयो । त्रिचन्द्र क्याम्पसमा पढ्न थालेपछि उनी काँग्रेस निकट नेपाली विद्यार्थी संगठनमा लागे । नेविसंघको सदस्य भएसँगै २०५१ सालमा उनी त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भए । त्रिचन्द्र स्ववियुमा सदस्यसचिव हुँदै उनी सभापति बने ।
२०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा उनको सहभागिता रह्यो । उनी नेविसंघको महामन्त्री बने । थापाले २०५९ सालदेखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गरे ।
०६४ को चुनावपछि समानुपातिक सभासद बनेका थापा दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौं–४ बाट निर्वाचित भए । दोस्रो संविधानसभामा कृषि तथा जलस्रोत समितिको सभापति बनेका थापा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो पटक प्रधानमन्त्री हुँदा स्वास्थ्यमन्त्री बनेका थिए ।
संसद र सरकारमा उनको उपस्थिति उपलब्धिमूलक र चर्चाको विषय बनिरह्यो । ०७४ को चुनावमा देशभर बाम गठबन्धन (एमाले– माओवादी)को लहरले पनि थापाको संसद यात्रामा ब्रेक लाउन सकेन । उनी काठमाडौं–४ बाट निर्वाचित भए ।
उनी काँग्रेसको १२ औं महाधिवेशनमा सबैभन्दा बढी भोट प्राप्त गरी केन्द्रीय सदस्य बन्न सफल भएका थिए । गगन १३ औँ महाधिवेशनमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीमा उठेका थिए ।
महामन्त्रीमा पराजित भए पनि थापाले सम्मानजनक मत प्राप्त गरेका थिए । यसपटक भने उनी कोइराला परिवारको लिगेसीसँग आफूलाई जोडेर महाधिवेशनको मैदानमा उत्रिएका हुन् ।
को हुन् विश्वप्रकाश शर्मा ?
प्रकाशमानको टिमबाट महामन्त्रीमा उठेका विश्वप्रकाश शर्मा ६ पुस ०२७ मा झापाको शान्तिनगरमा जन्मिएका हुन् । उनी ०३७ सालमा झापामा विद्यालय तहमा पढ्दादेखि नै राजनीतिमा लागेका थिए । २०४० सालमा धुलाबारी मावि झापाको नेविसंघ इकाई सभापतिको रुपमा राजनीतिमा प्रवेश गरेका शर्मा २०४१ सालमा ९ कक्षामा पढ्दा प्रथम पटक प्रहरी गिरफ्तारीमा परेका थिए ।
२०४७ सालमा नेविसंघ झापाको जिल्ला सभापति भएका उनी २०४८ सालमा नेवि संघ केन्द्रीय सदस्य बने । २०५३ सालमा नेविसंघ महामन्त्री बनेका शर्मा २०५३ नेवि संघ केन्द्रीय उपसभापति भए ।
२०५७ सालमा उनी नेविसंघको केन्द्रीय सभापति बने भने २०५७ सालमा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि बनेका थिए । नेविसंघको राजनीतिपछि शर्मा पार्टीको जिल्ला राजनीतिमा जाने प्रयास गरे । तर १२ औं महाधिवेशनमा उनी झापा जिल्ला सभापतिमा पराजित भए । २०७२ सालमा भएको १३ औं महाधिवेशनबाट उनी काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भए । शर्मा २०७४ सालमा नेपाली काँग्रेस पार्टी प्रवक्ताको जिम्मेवारी पाएका थिए भने २०७६ सालमा नेकाको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख बने । प्रवक्ता भएर शर्माले उदाहरणीय कम गर्न सफल भएका थिए । शर्माको संसदीय राजीनिति भने विर्सन लायक छ ।
उनी ०७० र ७४ माम भएको आम चुनावमा झापामाम पराजित भएका थिए । त्रिभुवन विश्वविद्यालयबाट समाजशासत्रमा स्नातकोत्तर गरेका शर्मा राजनीतिसँगै समाजिक विषयको गहिरो अध्ययन राख्छन् । शर्माको व्यक्तित्व बहुआयमिक छ ।


विश्व खबर 


















