काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । सोमबार बिहान ८ बजेदेखि मतदानको कार्यतालिका भए पनि साढे तीन घन्टापछि सुरु हुन लागेको हो ।
साढे तीन घन्टा ढिलो गरी सुरु भएको मतदानमा आफ्नो मत हाल्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा महाधिवेशनस्थल आइपुगेका छन् ।
केही समयअघि उनी बालुवाटारबाट राष्ट्रिय सभा गृह आइपुगेका हुन् । सुदूरपश्चिम प्रदेशको मतदान केन्द्रको बुथ राष्ट्रिय सभामा भएकाले देउवाले त्यहीँबाट मतदान गर्ने भएका छन् । देउवा सभापतिका प्रत्यासीसमेत हुन् ।
निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले मतदान सुरु गर्न मतपत्र मतदातालाई बाँड्न थालिएको जानकारी दिए । साँझ ५ बजेसम्म मतदान गरिसक्ने कार्यतालिका छ ।
कांग्रेस महाधिवेशन प्रतिनिधि सोमबार बिहानैदेखि राष्ट्रिय सभा गृह, महेन्द्र पुलिस क्लब र भृकुटीमण्डपमा आ(आफ्नो प्रदेशका लागि छुट्याइएको बुथमा लामबद्ध भएका थिए । अहिले विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरू प्रतिनिधिसँग भोट माग्न व्यस्त छन् । कांग्रेस महाधिवेशनमा ४७ सय बढी प्रतिनिधि सहभागी छन् ।
नेता कुलबहादुर गुरुङले पहिलो मतदान गरेका छन् ।


विश्व खबर 


















