images
images
  • एमालेको केन्द्रीय सदस्य मनोनयन प्रस्तावमा पदाधिकारीहरूको विरोध, ओलीकै जेल सहयात्री खरेलमाथि अन्याय

    काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा मनोनयनका लागि केही नाम प्रस्ताव गरे पनि अरु पदाधिकारीहरूले आपत्ति जनाएका छन् ।

    अध्यक्ष ओलीले झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँ, विद्यार्थी नेता ऐन महरसहित केही नाम अघि सारेका थिए । आइतबारको बैठकमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली लगायत नेताहरूले प्रस्तावित केही नामलाई लिएर आपत्ति जनाएका हुन् ।

    अष्टलक्ष्मी शाक्यले भने अध्यक्षको प्रस्तावले पार्टीमा न्याय नभएको बताएकी छन् । यसअघि नै छलफल र सल्लाह नभएको भन्दै उनले आपत्ति जनाएकी थिइन् । अध्यक्षले सल्लाह गर्नु भए सजिलो हुन्थ्यो । छलफल भएन । मूल्यांकनको परिपाटी हिजो थियो नि, शाक्यको भनाइ उद्धृत गर्दै एमालेका एक नेताले बताए ।

    यस्तै उपाध्यक्ष युवराज ज्ञवालीले पनि ओलीको प्रस्तावमा आपत्ति जनाएका छन् । उनले भने, एउटा मापदण्ड बनाएर निर्णय गरिएन भने चित्त बुझाउने ठाउँ दिइएन भने समस्या सिर्जना गर्छ । १९ जनाको टिमले सल्लाह गरौँ । दिनरात छलफल गरौं । छलफल गरिएन सामूहिक नेतृत्वमा पार्टी चलाउँ मेरो यही अनुरोध छ, ज्ञवालीले भने ।

    ओलीकै जेल सहयात्री नरेश खरेलमाथि अन्याय
    दशौँ महाधिवेशनबाट निर्वाचित कमिटीको पहिलो बैठकले ४५ केन्द्रीय सदस्य, ८० पोलिटब्युरो सदस्य र २६ स्थायी कमिटी सदस्य मनोनयन गरिएको छ। यस्तोमा एमालेले माओवादीबाट आएका नेताहरुलाई उच्च प्राथमिकता दिएको छ। माओवादीका आएका चर्चित एवम् विवादित नेता बालकृष्ण ढुंगेल एमाले पोलिटब्युरो सदस्य बनेका छन्।

    उता कुनै बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रिय पात्र दुर्गा प्रसाईलाई पनि अध्यक्ष ओलीले केन्द्रीय सदस्य बनाएका छन्। झापाको बिर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेजका मालिकसमेत रहेका प्रसाई चितवन महाधिवेशनबाटै केन्द्रीय सदस्य हुन चाहन्थे।

    तर ओलीले प्रसाईंको सूची केन्द्रीय सदस्यमा नराखेपछि उनी हजुरबाले ठीक गरेनन् भन्दै त्यहाँबाट रिसाएर हिँडेका थिए। यस्तो पनि हुन्छ महाधिवेशन ?, मनोनयन पनि गर्न दिएनन्। दिएको भए त जित्थेँ निु, यसो भन्दै सौराहाबाट हिँडेका प्रसाईलाई ओलीले ४५ जना मनोनित गर्दा एकताको कोटाबाट केन्द्रीय सदस्य बनाएका छन्।

    ओलीले एमालेमा प्रवेश गरेको ६ महिना नहुँदै धनाढ्य प्रसाईबारे यस्तो निर्णय लिइरहँदा झापाकै जेल यात्राका सहयात्री नरेश खरेललाई फेरि अन्याय गरेका छन्।

    सहमतिका नाममा चितवन महाधिवेशनमा सूची बनाउँदा पनि उनले आफ्ना जेल सहयात्रीलाई भुलेका थिए। चितवनमा भुले पनि यो पटक खरेल केन्द्रीय सदस्यमा अटाउने विश्वास थियो। तर यो पटक पनि बरु प्रसाई र माओवादीबाट आएका विवादित नेता बालकृष्ण ढुंगेल अटाए, खरेल कतै समेटिएनन्।

    चितवनमा ओलीको सूचीमा नपरेका खरेलले केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका थिए। तर उनले केन्द्रीय सदस्यको उम्मेदवारी फिर्ता लिएका थिए। महाधिवेशनका क्रममा सूची बाहिरबाट उम्मेदवारी दिएपछि ओलीनिकट कार्यकर्ताहरूले खरेललाई हराउन भन्दै महाधिवेशन प्रतिनिधिलाई प्रचार सामाग्री नै बाँडेका थिए।

    छैटौँ महाधिवेशनदेखि लगातार केन्द्रीय कमिटीमा रहेका खरेल तीन सय एक सदस्यीय केन्द्रीय कमिटी घोषणाको सूचीमा परेका थिएनन्। यो पटक ४५ जनालाई मनोनयन गर्दा पनि खरेलमाथि एमालेले अर्को अन्याय गर्यो।

    नेपालको राजनीतिक परिवर्तनका लागि ओलीले १४ वर्ष र खरेलले १७ वर्ष जेलजीवन बिताएका थिए। यसअघि गत भदौमा खरेलले माधव नेपालको पार्टीमा आफ्नो नाम राखेकोमा आपत्ति जनाउँदै एमालेमै बसेका थिए। खरेलको नाम माधव नेपालले गत भदौ २ मा एमाले समाजवादी पार्टीको केन्द्रीय सदस्यमा राखेका थिए। उनी नेपालको उक्त निर्णय अस्वीकार गर्दै एमालेमै रहे चितवनमा महाधिवेशनमा सहभागी भएका थिए।

    खरेल संविधान सभामा एमालेको तर्फबाट सदस्य पनि थिए। उनी झापाको विर्तामोड निवासी हुन्। ओलीको रोजाइमा परेका प्रसाई पनि बिर्तामोडकै हुन्। यसअघि खरेल एमालेको पोलिटब्युरो सदस्य समेत भएका थिए। खरेल पत्नी पवित्रा निरौला खरेल झापा क्षेत्र नं २ बाट हाल संघीय संसद छिन्।

    ओलीको प्रस्तावित नाममा केही विद्यार्थी राजनीति गरिरहेका नेताहरू समेत परेका छन् । तिनको नामलाई लिएर नेतृत्वबाट सही मूल्यांकन नभएको भन्दै विरोध भएको हो ।

    को को परे मनोनयनमा
    प्रस्तावमा परेका नेताहरूमध्ये दल फडेरा, मानवीर राई, ऐन महर, चन्द्रमोहन गौचन, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बाँस्कोटा, विशाल भट्टराई, लालबाबु पण्डित, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण ब्यञ्जनकार, विषमलाल दनुवार, सुवास देवकोटा, बालसिंह काउछा, चन्द्र विक, इन्दिरादेवी गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चपाईं, नैनकला ओझा, मञ्जु गुरुङ, गीता कार्की, सुनिता यादवसहितलाई केन्द्रीय कमिटीमा मनोनयनका लागि प्रस्ताव गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images