images
images
  • कांग्रेस महाधिवेशन: अझै बनेनन् प्यानल, सिटौलालाई तानातान

    काठमाडौं- महाधिवेशनको एक दिन अघिसम्म पनि कांग्रेसका दुवै पक्षले ‘प्यानल’ बनाउन सकेका छैनन्। सभापति शेरबहादुर देउवा पक्ष (संस्थापन)ले उपसभापति, महामन्त्री र सहमहामन्त्रीको टुंगो लगाउन सकेको छैन।

    संस्थापनइतर पक्षले सभापतिकै उम्मेदवार तय गर्न सकेन। दुवै पक्ष बुधबार दिनभरजसो छलफल, वार्ता र बैठकमा व्यस्त बनेका थिए। शुक्रबारबाट कांग्रेसको १४औं महाधिवेशन सुरु हुँदैछ। वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको इतर समूह ४ दिनदेखि निरन्तर छलफलमा छ । सो समूहबाट नेता पौडेल र महामन्त्री डा। शशांक कोइरालाले सहमति जुटे सभापतिको उम्मेदवारबाट आफूहरू लचिलो बन्ने संकेत गरेका छन्। तर, नेता प्रकासमान सिंह र शेखर कोइरालाका बीचमा सहमति जुटन सकेन।

    साझा उम्मेदवार तय गर्न नेताहरू सिंह निवास चाक्सीबारीमा दिनभरजसो बैठक गरे। पौडेल पक्षीय गुरु घिमिरे भन्छन्, ‘प्रकाश दाइको आफ्नै अडान छ। शेखर दाइ आफ्नै अडानमा हुनुहुन्छ।’ उनले भने, ‘अब सभापतिका आकांक्षी बाहेकका केन्द्रीय सदस्यहरू छलफलमा बस्छौं। उहाँहरूले सक्नुभएन भने हाम्रो निर्णय मान्नुपर्छ।’

    सो पक्षका नेता रामशरण महतले पनि नेताहरू आ–आफ्नै अडानमा रहेकाले साझा उम्मेदवार तय हुन नसकेको बताए। ‘एक जनता लचक हुनुपर्छ नि !,’ उनले भने, ‘सबैलाई सभापति चाहिएको छ।’ वरिष्ठ नेता पौडेलले अरू आकांक्षीबीच सहमति जुटे आफूपछि हट्ने र नजुटे आफूलाई समर्थन गर्न आग्रह गरिसकेका छन्। ‘रामचन्द्रजीले तपाईंहरू मिल्नुहोस्, मिल्न सक्नुहुन्न भने मलाई समर्थन गर्नुहोस् भनिराख्नुभएको छ। मिलेरै जाउँ भन्ने उहाँको कुरा हो,’ महतले भने।

    उता संस्थापन पक्षमा भने सभापति देउवाले उपसभापति, महामन्त्री, सहमहामन्त्रीका आकांक्षीहरूलाई मिलेर आउन आग्रह गरेका छन्। सभापतिमा जसरी पनि जित्नुपर्छ भन्ने सोचमा अघि बढेका देउवाले प्रदेश गत रूपमा आकांक्षीको भावना बुझेर उम्मेदवारको नाम सिफारिस गर्न आग्रह गरेका छन्।

    संस्थापन पक्षको बैठकमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काले उपसभापतिमा आकांक्षा देखाएका छन्। महामन्त्रीमा बालकृष्ण खाँण, एनपी साउद र प्रकाशशरण महतले आकांक्षा व्यक्त गरेका थिए। महामन्त्रीमा उम्मेदवार घोषणा गरिसकेका विश्वप्रकाश शर्मालाई भने देउवाले सहमहामन्त्रीको उम्मेदवार बन्न आग्रह गरेका छन्। शर्माले भने, ‘यो टुंगिसकेको कुरा हैन। बैठकमा उम्मेदवारहरू केलाउने क्रममा प्रसंग उठेको हो। २४ गते बिहानसम्म सबै पदाधिकारी र केन्द्रीय सदस्यको विषय टुंगिन्छ।’

    केन्द्रीय सदस्य चयन गर्नका लागि देउवाले प्रदेश १ ज्ञानेन्द्र कार्की, प्रदेश २ महेन्द्र यादव र रमेश रिजाल, बागमतीमा प्रकाशशरण महत, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा पूर्णबहादुर खड्का र जीवनबहादुर शाही तथा सुदूरपश्चिममा एनपी साउद र रमेश लेखकलाई जिम्मेवारी दिएका छन्। साउदका अनुसार देउवाले क्लस्टरअनुसार नाम बढी नहुने गरी उम्मेदवारहरू चयन गर्न भनेका छन्।

    सिटौला तानातान
    तेस्रो धारका रूपमा चिनिने कृष्णप्रसाद सिटौलालाई दुवै पक्षले आफूतिर तान्ने कोसिस गरेका छन्। १३औं महाधिवेशनदेखि कांग्रेसभित्र बलियो शक्तिका रूपमा उदाएका सिटौलाले १४औंमा आइपुग्दा फेरि उक्त झल्को दिएका छन्। भर्खरै सम्पन्न जिल्ला र प्रदेश अधिवेशनको नतिजाबाट पनि महाधिवेशनमा सिटौलाको भूमिका निर्णायक हुनसक्ने आंकलन गरिएको छ।

    सभापति देउवा र वरिष्ठ नेता पौडेल दुवैको नजर सिटौलातिर मोडिएको छ। सिटौला जता उभिन्छन्, उतै पल्लाभारी हुने सम्भावना छ। नेता गगनकुमार थापा उक्त समूहबाट निस्के पनि सिटौला उत्तिकै शक्तिशाली देखिन्छन्।
    अघिल्लो महाधिवेशनमा सिटौलाको उम्मेदवारीले देउवा र पौडेललाई पहिलो चरणमा निर्वाचित हुनबाट रोकेको थियो। दोस्रो चरणमा उनको सहयोगबाट देउवाले सभापति जितेका थिए। त्यही निर्णायक मतले पनि सिटौलालाई बलियो बनायो।

    ‘के गर्छु अहिलेनै यसै भन्न सक्दिनँ,’ सिटौलाले अन्नपूर्णसँग भने, ‘मसँग पनि छुट्टै टिम छ। टिमसँग सल्लाह गर्दा जे कुरा आउँछ त्यहीअनुसार अगाडि बढ्ने हो।’ उनले रामचन्द्र पौडेल भेट्न आएको कुरालाई इङ्गित गर्दै भने, ‘नेताहरू आउने भेट्ने कुनै ठूलो कुरा भएन। क्षेत्र उही हो जम्काभेट हुन्छ। भेट भए पनि मैले कोहीसँग प्रतिक्रिया जनाएको छैन। उचित समयको पर्खाइमा छौं।’

    सिटौलाले अन्तिम दिनसम्म पनि पार्टीमा बदलिन सक्ने सम्भावित समीकरणलाई हेरेका छन्। अत्यन्तै निकट भनिएका देउवाको निकट मानिएका उपसभापति विमलेन्द्र निधि अहिले देउवालाई छाडेर आफ्नै समूह निर्माणमा लागेका छन्। त्यही मौकामा सिटौला देउवाको नजिक देखिन्छन्।

    १३औं महाधिवेशनदेखि पौडेल र सिटौलाबीच अविश्वास छ। आफूलाई हराउन सिटौलाले भूमिका खेलेको आरोप पौडेलको छ। फेरि पनि त्यही भूमिकामा देखिने हुन् कि भन्ने डर छँदै छ। सिटौलाले भने कोइराला परिवारको लिगेसी पौडेलले लिन नसक्ने मान्यता बोक्दै आएका छन्। कोइराला परिवारको विषयमा अहिले पनि उनको दृष्टिकोण त्यही छ। सिटौला निकट रहेका किरन सिटौलाले भने, ‘कोइराला परिवारप्रति उहाँको छुट्टै दृष्टिकोण छ।’

    देउवासँग भने निर्वाचनका बेलामा प्रत्यक्षबाट चुनाव लड्न चाहेका सिटौलालाई देउवाले समानुपातिक सूचीमा नाम राखिदिएपछि उनी टाढिएका थिए। उनले विरोध गरेपछि सिटौला प्रत्यक्षमै चुनाव लडे। तर, पनि आफूलाई ‘ह्युमिलेसन’ गरिएको कुरा बैठक, भाषणमा पनि भन्ने गर्थे। पछि टिकट वितरणमा भूमिका नपाएको, निर्वाचन हारेको र देउवाको कार्यशैलीलगायत विषय बारम्बार दोहोरियो। अन्ततः १४ औं मा आइपुग्दा जिल्लादेखि प्रदेश तहको निर्वाचनमा देउवासँगै सहकार्य गर्दै आएका छन्।

    संस्थापन समूह पदाधिकारीका उम्मेदवारहरूको टुंगो लगाउन छलफलमा जुटेको छ भने इतर समूह सभापतिको साझा उम्मेदवार बनाउने कसरतमा छ। उपसभापति निधिले सभापतिमा एक्लै उम्मेदवारीको घोषणा गरिसकेका छन्।

    सिटौलालाई भेट्न बुधबार नेता पौडेल उनको निवासमा पुगेका थिए। पौडेलले आउनुहोस् सहकार्य गरौंभन्दा जवाफमा सिटौलाले जवाफमा ‘मैले किन सहयोग गर्ने आधार दिनुहोस् नत,’ भनेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images