images
images
  • पुनःनिर्माणका दस्तावेज विपद् जोखिम न्यूनीकरणमा ज्ञानका भण्डार: राष्ट्रपति

    काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार पारेका दस्तावेज विपद् जोखिम न्यूनीकरणमा ज्ञानका भण्डारका रुपमा काम गर्ने बताएकी छन् । भूकम्पपछिको पुनःनिर्माणका क्रममा नेपालले प्राप्त गरेको अनुभव र सिकाइका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन आयोजित अन्तर्राराष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनीले सफलता, सिकाइ र अनुभवबाट उठेर विपद्मुक्त मुलुक बनाउन आह्वान गरिन् ।

    विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्प एवं पटक–पटकका परकम्पले नेपालीलाई विपद्मा पार्नाका साथै पाठसमेत सिकाएको राष्ट्रपति भण्डारीले बताइन्। भूकम्पले नभई निर्माण भएका कमजोर संरचनाले क्षति गर्ने भएकाले बलियो पूर्वाधार निर्माण गर्ने अवसरका रुपमा पुनःनिर्माण अवधि उपयोग भएको विश्वास उनले व्यक्त गगरिन् ।

    “भूकम्पपछि विद्यालय, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदा र निजी आवास कहिल्यै नढल्ने गरी बनाउने सङ्कल्प गरेअनुसार काम भएको छ, बाँकी कामलाई पनि अब सम्बन्धित निकायले तोकिएको समयमै सिध्याउनुपर्छ, भूकम्पपछि दुई महिनामै क्षतिको आङ्कलन गर्न सफल भएजस्तै अहिले पुनःनिर्माण पनि सफल भएको छ,”उनले भनिन् ।

    साढे छ वर्षअघिको भूकम्पले क्षतिग्रस्त संरचनाको पुनःनिर्माण महाअभियान २०७२ माघ २ गते सुरु भएको थियो । कार्यक्रममा परराष्ट्रमन्त्री डा. नारायण खड्काले समुदायले स्वामित्व लिने गरी पुनःनिर्माणका काम भएकाले दिगो हुने विश्वास व्यक्त गरिन् । विद्यालय, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदाजस्ता संरचना पुनःनिर्माणमा प्राथमिकता दिएर काम भएअनुसार परिणाम प्राप्त भएको उनको भनाइ थियो ।

    सम्मेलनमा नेपाल पुनः निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीले विश्वका विभिन्न देशका ७०० प्रतिनिधि जुम प्रविधिमार्फत् सहभागी भएको जानकारी दिए। दक्षिण अफ्रिकाबाट फैलिएको कोरोना भाइरसको नयाँस्वरुप ओमिक्रोनका कारण थोरै मात्र विदेशी विज्ञ भौतिक रुपमा सम्मेलनमा उपस्थित भएका छन् । नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधि एवं पर्यवेक्षक गरी १०० जना विदेशी नागरिक पनि भौतिक रुपमा ह्यात होटलमा जम्मा भएका छन् ।

    सम्मेलनमा उद्घाटन र समापनसहित २० वटा सत्र रहनेछन् । ‘पुनःनिर्माणबाट उत्थानशीलतातर्फ’ भन्ने नाराका साथ आयोजना गरिने सम्मेलनमा निजी आवास, सांस्कृतिक सम्पदा, सार्वजनिक पूर्वाधार पुनःनिर्माण, जीविकोपार्जन तथा आर्थिक पुनःस्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमूलक प्रस्तुतिका साथै विषयगत गोष्ठीसमेत आयोजना गरिनेछ ।

    सम्मेलनलाई लक्ष्यित गरी वेबसाइट निर्माण गरिएको छ । वेबसाइटमा सम्मेलनसम्बन्धी सूचना राखिएको छ । भूकम्पपछि २०७२ साल असार १० गते पुनःनिर्मााणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन आयोजना गरिएको सम्मेलनकै जस्तो सहभागिता यसपटक पनि जुटाउने तयारी भए पनि ओमिक्रोनका कारण केही प्रभावित हुने भएको छ ।

    सम्मेलनले नेपाललाई सन् २०३० सम्ममा विपद् जोखिममुक्त देशका रुपमा स्थापित गर्ने लक्ष्यलाई पूरा गर्न सहयोग गर्ने विश्वास गरिएको छ । प्राधिकरणले भूकम्पपछिको पुनःनिर्माणका अनुभव र सिकाइ भावी पुस्तालाई हस्तान्तरण गर्न अभिलेखीकराणको कामसमेत गरेको छ । सम्मेलन सफल बनाउन प्राधिकरणले ध्यान केन्द्रित गरेको जनाएको छ ।

    आगामी पुस ९ गते छ वर्षे कार्यकाल सक्न लागेको प्राधिकरणले पुनःनिर्माणका बाँकी काम विषयगत कार्यालयलाई हस्तान्तरण गरिसकेको छ । प्राधिकरणले नै गरिरहेका केही काम भने त्यस अवधिमै सक्ने गरी तयारी भए पनि त्यो सम्भव नहुने देखिएको छ । प्राधिकरणले अहिले लेखापरीक्षणको कामसमेत गराइरहेको जनाइएको छ ।

    सम्मेलनमा राजनीतिक दल, सञ्चारकर्मी र दातृ निकायले भूकम्पपछिको पुनःनिर्माणलाई कसरी हेरेका छन् भनी छुट्टाछुट्टै सत्र राख्न लागिएको छ । सम्मेलनमा विषय विज्ञ, स्वदेशी तथा विदेशी पाहुना एवं विभिन्न सङ्घ संस्थालाई आमन्त्रण गरिएको छ । सम्मेलनमा प्राधिकरणले गरेका कामका विषयमा पनि छुट्टै सत्रको आयोजना गरिएको छ ।

    सम्मेलनले नेपाललाई विश्वमा प्रवद्र्धन गर्नसमेत सहयोग गर्ने आशा गरिएको छ । सम्मेलनलाई लक्ष्यित गरी सार्वजनिक गरिएको वेबसाइटमा कार्यक्रमसम्बन्धी महत्वपूर्ण सूचना एवं गतिविधि समावेश गरिएको छ ।

    विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्प र त्यसपछिका परकम्पका कारण भत्केका संरचना पुनःनिर्मााणका लागि त्यसै वर्ष पुस १० गते प्राधिकरण स्थापना भएको हो । स्थापनाअघि विसं २०७२ असार १० गते सहयोग जुटाउन आयोजना गरिएको सम्मेलनमा रु चार खर्ब १० अर्ब वैदेशिक सहयोगको प्रतिबद्धता भएको थियो । राहत तथा उद्धारमा खर्च भएको र अन्य पूर्वाधारमा गरिएको लगानी घटाउदा पुनःनिर्माणका लागि वास्तविक प्रतिबद्धता रकम रु तीन खर्ब २१ अर्ब रहेको प्राधिकरणले जनाएको छ । यसमध्ये रु तीन खर्ब १३ अर्बको सम्झौता भइसकेको छ । यो कूल वास्तविक प्रतिबद्धता रकमको ९७।५ प्रतिशत हो ।

    प्राधिकरणमार्फत् हालसम्म सात लाख ५९ हजार ७१० घर पुनःनिर्माणको चरणमा रहेको छ । आठ लाख ६६ हजार २०७ जना भूकम्पपीडित प्राधिकरणको लाभग्राही सूचीमा छन् । आठ लाख २७ हजार ३४० जना पीडितले घर पुनःनिर्माणका लागि सम्झौता गरिसकेका छन् । लाभग्राही सूचीमा परेकाले भूकम्प प्रतिरोधी घर पुनःनिर्माणका लागि अनुदानस्वरुप रु तीन लाख तीन किस्तामा पाउँछन् ।

    साढे छ वर्षअघिको भूकम्पले करिब नौ हजारको ज्यान लिएको थियो । २२ हजार जना घाइते भएका थिए । करिब नौ लाख निजी आवासमा क्षति पुगेको थियो । भूकम्पले एक हजारभन्दा बढी सांस्कृतिक सम्पदा भत्काएको थियो । भूकम्पले जनसङ्ख्याको एक तिहाइलाई प्रभावित बनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images