विरगञ्ज-नाम धनबहादुर, धन छैन । नाम बुद्धिप्रसाद, बुद्धि छैन । नेपाली समुदायमा निकै भनिने विषय हो, यो । नाम एउटा भएपनि व्यवहारमा त्यसो नहुने कथा नयाँ होइन ।बारामा एउटा यस्तै घटना भएको छ । जोगी नाम गरेका व्यक्तिले आफ्नो छोराको बिहेमा हेलिकप्टर चार्टर गरेका छन् ।
बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाह गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।
सिम्रौनगढ नगरपालिका-१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेका थिए । बिर्जुको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी सङ्गीता साह तेलीसँग बिहीबार विवाह सम्पन्न भएको हो ।
हेलिकोप्टरका लागि जोगीले तीन लाख ८० हजार तिरेर चार्टर्ड गरेका हुन् । छोराले बिहेमा हेलिकोप्टर चढेर जाने इच्छाएकाले चार्टर्ड गरेको दुलाहाका बुबा जोगीले बताए । “विवाह भन्ने कुरा जीवनमा एकपटक मात्र गर्ने हो” बेहुलाका बुवा जोगीले भने, “बेहुलाले नै त्यस्तो इच्छाएपछि पूरा गर्नैपर्यो ।”
उनले सम्पत्ति यस्तै बेलामा चाहिने र परेको बेलामा खर्च गर्न पछि हट्न नहुने पनि बताए । छोराको बिहेमा हेलिकोप्टर भाडामा ल्याउन पाएकोमा आफूलाई खुशी लागेको उनले बताए । हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि आफूलाई पनि बिहेमा हेलिकोप्टर चढ्ने इच्छा जागेको बेहुला बिर्जुले बताए । “हेलिकोप्टर चढ्ने इच्छा थियो, बिर्जुले’ भने, ‘बुवाले मेरो इच्छा पूरा गरिदिनुभयो ।” रासस


विश्व खबर 



















