चितवन- एमाले महाधिवेशनमा अध्यक्षसहित केही पदमा मतदान हुने भएपछि उम्मेदवारहरु भोट माग्न व्यस्त भएका छन् । चितवनमा जारी एमालेको १०औँ महाधिवेशनमा आज अध्यक्षसहित उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ ।
उम्मेदवारी दर्ता लगत्तै निवर्तमान अध्यक्ष केपी शर्मा ओलीदेखि लिएर अध्यक्ष पदमै उम्मेदवारी दिएका भीम रावल, अन्य पदका उम्मेदवारहरूले महाधिवेशन स्थलमा हात जोडेर भोट माग्न थालेका हुन् ।
निर्वतमान अध्यक्ष ओलीले महाधिवेशन आयोजनास्थलमा घुमेर महाधिवेशन प्रतिनिधिहरुसामु भोट माग्न थालेका छन् । यस्तै, अर्का अध्यक्षका उम्मेदवार भीम रावलले पनि महाधिवेशन प्रतिनिधिसँग भेट गर्दै आफूलाई भोट दिन आग्रह गरिरहेका छन् ।
ओलीको सूची बाहिरबाट उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल र सचिव पदमा उम्मेदवारी दिएका टंक कार्की पनि भोट माग्न व्यस्त देखिन्छन् । ओलीको सूचीमा नपरेका सचिवका अर्का उम्मेदवार भीम आचार्य भने उम्मेदवारी दर्तापछि ‘आइसोलेसन’ मा फर्किएका छन् । उनी कोरोना संक्रमित भएका कारण ‘आइसोलेसन’ मा छन् ।
उपाध्यक्ष पदका उम्मेदवारहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङले पनि महाधिवेशन प्रतिनिधिसँग भोट मागिरहेका छन् ।


विश्व खबर 


















