सौराहा- एमालेको जारी दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा प्रतिनिधि, कार्यकर्ता र पर्यवेक्षक नयाँ नेतृत्वको तीव्र प्रतिक्षा गरिरहेका छन्। बन्दसत्रस्थल सौराहामा प्रतिनिधिले सर्वसम्मत नेतृत्व हुनुपर्ने माग गरेका छन् भने शीर्ष नेताहरु आपसी छलफल र परामर्शमा व्यस्त रहेका छन्। सौराहामा सुरु हुन लागेको बन्दसत्रका प्रतिनिधिहरुले नाराबाजी गर्दै सर्वसम्मतको माग गरेका हुन्।
उनीहरुले पार्टीमा एकताबद्ध र सर्वसम्मत नेतृत्व हुनैपर्छ भन्दै नारा लगाइरहेका छन्। महाधिवेशनको बन्दसत्रमा मनोनीतसहित दुई हजार २७५ प्रतिनिधि छन्। बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ। सहमतिकै लागि विधान परिमार्जन गर्न गए राति सम्पन्न केन्द्रीय कमिटीको बैठकले २२५ सदस्यीयलाई ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव बन्दसत्रमा पेश गर्ने निर्णय गरेको थियो।
गत असोजमा सम्पन्न प्रथम विधान महाधिवेशनमा पारित विधान अहिले नै परिमार्जन गरिँदा सहमतिका लागि सहज हुने भए पनि छिटोछिटो निर्णय परितर्वन हुने स्थिति आएको टिप्पणी पनि कार्यकर्ताबीचमा सुनिएको छ। तर, सङ्कटपूर्ण अवस्थामा पार्टीको नेतृत्व तहमा उच्चस्तरको एकता, सहमति र उच्च लोकतान्त्रिक अभ्यासका लागि उक्त प्रस्तावलाई अन्यथा मान्न नमिल्ने पनि तर्क प्रतिनिधिको रहेको देखिन्छ।
बन्दसत्रस्थलमा चितवनको चिनारी चिनाउने र स्थानीय उत्पादन तथा विभिन्न माक्र्सवादी पुस्तकका कक्ष राखिएका छन्। प्रतिनिधिको स्वास्थ्य व्यवस्थापनका लागि पार्टीको स्वास्थ्य समितिले निःशुल्क शिविर खडा गरेको छ। प्रतिनिधिका लागि बाँकी परिचयपत्र वितरण कार्य अहिले पनि भइरहेको छ। मनोनितमध्ये कतिपय प्रतिनिधिका परिचयपत्र बन्दै गरेको जनाइएको छ।

बन्दसत्रस्थलमा अहिले प्रवेशका लागि कडाइ गरिएको छ। बन्दसत्रमा सुरक्षा व्यवस्था चुस्त बनाइएको छ भने पार्टीले करिब ५०० स्वयंसेवक परिचालन गरेको छ। सो स्थलमा काल माक्र्सको मूर्ति, जननेता मदनकुमार भण्डारी, तत्कालीन अध्यक्ष मनमोहन अधिकारी, अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुको तस्बीर सजाइएको छ। पार्टीको केन्द्रीय प्रचार कमिटीले बन्दसत्रस्थल नजिकैको होटेल रोयल सफारीमा मिडिया सेन्टर सञ्चालन गरेको छ भने प्रेस चौतारी नेपाल, चितवन शाखाले सो स्थलमा सञ्चारकर्मीका लागि सहायता कक्षा खडा गरेको छ।
आन्तरिक व्यवस्थापनका लागि सहमतिको प्रयास
सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै एमालेका सचिव योगेश भट्टराईले पार्टीको आन्तरिक व्यवस्थापनका लागि सहमतिको प्रयास भइरहेको र त्यो आवश्यक रहेको जनाए। उनले पार्टीमा एकताका लागि गरिएको १० बुँदे सहमति महाधिवेशनका प्रतिनिधिकै बीचमा रहेको प्रतिक्रिया दिए। सहमतिका नाममा प्रतिनिधिको मताधिकार गर्ने अधिकार कुण्ठित गर्ने त होइन भन्ने प्रश्नमा एमाले केन्द्रीय सदस्य सूर्य थापाले केन्द्रीय कमिटीको संख्या वृद्धि भएकाले अनुभवी नेतृत्व र नयाँ साथीहरु समेटिने गरी नेतृत्व चयन हुने बताए।
पार्टीका प्रतिनिधि र पर्यवेक्षक नेता कार्यकर्ताका प्रतिक्रिया सञ्चारमाध्यममा छाइरहेका छन्। उनीहरुले पनि मुलुकको विषम स्थितिमा पार्टी एकताबद्ध हुनुपर्ने र सहमतिमा नेतृत्व हुनुपर्ने धारणा दिइरहेका छन्।
सहमतिमा नेतृत्व हुने तयारी भएपछि विभिन्न पदमा उम्मेदवारीको घोषणा गर्ने नेताहरुले प्रचार कार्यलाई स्थगन गरेका छन्।
बन्दसत्र सुरु हुनुअघि एमाले नेताहरु छलफलमा जुटेका छन्। आज बिहान १० बजे हुने भनिएको बन्दसत्र सहमतिको प्रयास जारीका कारण अहिलेसम्म सुरु भएको छैन। बन्दसत्रमा विदेशी पाहुना प्रतिनिधिले पनि शुभकामना दिने कार्यक्रम छ। सौराहाको होटेल सेभेन स्टारमा निर्मित हलमा बन्दसत्र हुने तयारी छ।



विश्व खबर 


















