काठमाडौं- नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।
बराको राजीनामा मागेर एक महिनादेखि धर्ना र विरोध कार्यक्रम गर्दै आएको बारले राजनीतिक दललाई गुहारेको हो । जबरालाई महाअभियोग लगाएर हटाउन आग्रह गर्दै बारले शुक्रबार कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको हो ।
कार्यपालिकासँग मिलेर राजनीतिक भागबन्डा खोजेको, न्याय सम्पादनमा अनियमितता गरेकोजस्ता आरोप लगाएर जबराको राजीनामा माग्दै बार आन्दोलनमा छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा बारका पदाधिकारीले न्यायपालिकाका विकृति र विसङ्गतिका विरुद्धमा आफूहरुले गरिरहेको आन्दोलनका बारेमा प्रधानमन्त्रीलाई अवगत गराएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी गराए ।
उनीहरुले प्रधानमन्त्रीसँग निकासका लागि पहल गरिदिन आग्रह गर्दै संसद्मा प्रतिनिधित्व गर्ने दलहरुले निर्वाह गर्नुपर्ने भूमिका र सर्वोच्च नेतृत्वले देखाउनुपर्ने नैतिकताका सम्बन्धमा आफ्ना धारणा राखेको थियो ।
सो अवसरमा प्रधानमन्त्री देउवाले बारका पदाधिकारीले राख्नुभएको विषयलाई गम्भीरतापूर्वक लिँदै सोबारेमा आफू अवगत रहेको अध्यक्ष श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिए । प्रधानमन्त्री देउवाले उक्त विषयमा सत्ता गठबन्धन दलका नेतासँग तत्काल बैठक गरी एक÷दुई दिनमा नै निकासको लागि दृष्टिकोण सार्वजनिक गर्ने बताएको थियो ।
भेटमा बारका केन्द्रीय पदाधिकारी, सर्वोच्च बार एशोसिएशनका पदाधिकारी, बारका पूर्वअध्यक्षहरु, पूर्वमहासचिवहरु, पूर्वमहान्याधिवक्ता, पूर्वसभामुखलगातय उपस्थिति थिए ।
यसअघि बारले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङसहित संसदमा प्रतिनिधित्व गर्ने दललाई ज्ञापनपत्र बुझाएको थियो ।


विश्व खबर 


















