काठमाण्डौ। देशका धेरै ठाउँमा अहिले हुस्सु, कुहिरो लागेको छ ।काठमाण्डौसहित देशका धेरै ठाउँमा लागेको हुस्सु, कुहिरो भने बिस्तारै हट्दै जाने मौसमविद्ले बताएका छन् ।
तर, आज पनि पारिलो घाम लाग्ने सम्भावना छैन । मौसम धुम्म भएको छ । तापक्रम घट्न थालेको र वायुमण्डलमा रहेका कणहरु पनि त्यही थुप्रिएर बसेकाले मौसम पूर्णरुपमा नखुलेको हो ।
तत्काल पानी पर्ने र तीव्र गतिमा हावा लाग्ने सम्भावना नभएकाले केही दिनको मौसम यस्तै रहने मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । यस्तै, आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । यी क्षेत्रमा राति पनि हिमपात हुने उहाँले बताउनुभयो ।
यस्तै, आज काठमाण्डौको न्यूनतम तापक्रम घटेको छ ।
हिजो १० दशमलव २ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम आज ८ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । यस्तै, आज अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। यता तुवाँलो र हुस्सुका कारण भिजिबिलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन् ।
मौसमविद्का अनुसार अहिले भिजिबिलिटी १५ सय मिटरमा झरेको छ ।
विराटनगर, भरतपुर, भोजपुर, दाङ, राजविराज, सुर्खेत, धनगढी लगायतका क्षेत्रमा उडान रोकिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
तुवाँलो हटेपछि उडान सुरु हुने छ । अहिले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडानमा भने कुनै समस्या नरहेको कार्यालयले जनाएको छ ।


विश्व खबर 


















