काठमाडौं- एमालेको दशौं महाधिवेशनको पूर्वसन्ध्यामा युवा नेताहरूले नयाँ बहस थालेका छन् । पार्टीमा केन्द्रीय समितिदेखि वडासम्म जिम्मेवारी हस्तान्तरणको कुनै मापदण्ड नभएको अवस्थामा युवाहरूले पार्टीलाई चलायमान बनाउन जिम्मेवारी हस्तान्तरणको मापदण्ड बनाउन भन्दै बहस थालेका हुन् ।
सबै प्रदेशका युवा नेताहरू मिलेर जिम्मेवारी हस्तान्तरणको मापदण्ड बनाउन पार्टी नेतृत्वदेखि पदाधिकारीसम्म ध्यानाकर्षण गराइरहेका छन् । दशौं महाधिवेशनमा नयाँ पुस्ताको सहभागिता सुनिश्चित गर्न अभियान चलाइएको अभियानका एक सदस्य एमाले युवा नेता हीराबहादुर केसीले जानकारी दिए ।
के हो बहस ?
युवाहरूले अब पार्टीमा ३३ प्रतिशत नयाँ अनुहार प्रवेश पाउनुपर्ने उद्देश्य राखेर बहस थालेको हो । यसका लागि पार्टीमा रहेको तीन पुस्ताको उचित संयोजनमा जोड दिइएको छ । युवाहरूका अनुसार अहिले एमालेमा २०३६, २०४६ र २०६२र०६३ को तीन पुस्ता सक्रिय छ । विधान महाधिवेशनबाट पारित भएको संगठनात्मक प्रस्तावमा तीन पुस्ताको अवधारणा स्वीकार गरेको छ । त्यसैले अब बन्ने कमिटीमा अनुभवी पुस्ता, कामकाजी पुस्ता र विकासवान पुस्ताको उचित संयोजन हुनुपर्ने युवाहरूको बहस हो ।
किन सही संयोजन ?
एमालेमा २०३६, ४६ र ६२र६३ को पुस्ताको उचित संयोजन भयो भने ग्याप हट्ने युवाहरुको तर्क छ । यति गरिएन भने लिडरसीप ग्यापको समस्या हुन्छ, नेता केसी भन्छन्, यसको वैज्ञानिक व्यवस्थापन हुन सकेन भने ३६र४६ को पुस्ता रिटायर्ड हुने र ६२र६३ को पुस्ता तयार भइनसकेको अवस्था सिर्जना हुनेछ ।
यसलाई हल गर्न युवासँग उपाय पनि छ, जो नेतृत्वलाई सुझाइरहेका छन् । हिजो नेताहरुको संख्या सानो थियो र जिम्मेवारी लिन कर गर्नुपर्ने स्थिति थियो । तर आज नेतृत्व गर्न सक्ने संख्या ठूलो भएको छ । नयाँ नयाँ चुनौती थपिएका छन् । भोलिका सम्भावित चुनौतीलाई सामना गर्नसक्ने नेतृत्व निर्माण गर्नुपर्ने दायित्व छ, केसीले न्युज कारखानासँग भने ।
सही संयोजनका उपाय
युवाहरूले केन्द्रीय कमिटीदेखि वडा कार्य कमिटीसम्म पार्टीलाई चलायमान बनाउन कार्यकालको सीमा निर्धारण गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
विधान महाधिवेशनले पदाधिकारीलाई ७० वर्षको उमेरहद र दुई कार्यकाल कार्यकारी पदमा बस्न पाउने सीमा निर्धारण गरेर लागू गरेसँगै युवाले केन्द्रीय समितिमा सीमा निर्धारणलाई उपायका रूपमा प्रस्तुत गरेका छन् ।
गण्डकी प्रदेश कमिटी सचिवालय सदस्यसमेत रहेका केसीका अनुसार युवाको पहिलो उपाय चार कार्यकाल केन्द्रीय कमिटीमा काम गरिसकेपछि सोही जिम्मेवारीमा दोहोरिन नपाउने व्यवस्था गर्ने भन्ने हो । दोस्रो कार्यसम्पादन मूल्यांकनअनुसार थप जिम्मेवारी दिने व्यवस्थाको आरम्भ गर्नुपर्ने हो । तेस्रोमा स्वेच्छिक अवकाशको प्रावधान निर्माण गरी लागू गर्नुपर्ने उपाय युवाहरुले सुझाएका छन् ।
यसका लागि कमिटीमा प्रवेशका लागि मापदण्ड लागू गरेजस्तै पदबाट बिदाको पनि मापदण्ड बनाएर लागू गर्नुपर्ने युवाको प्रस्ताव छ । जस्तो केन्द्रीय कमिटीमा प्रवेशका लागि मापदण्ड छ तर पदबाट बिदा गर्न कुनै मापदण्ड छैन, केसीले भने, एक ठाउँमा बिर्को खोलियो भने खाली हुँदै जान्छ । केन्द्रमा सातवटै प्रदेशबाट आउँछ । प्रदेशमा बिर्को लाएर बसेका मान्छेले छोडेपछि जिल्लाबाट आउँछ । जिल्ला पनि खाली भएपछि पालिकाबाट आउँछ । पालिका खाली भएपछि वडाबाट आउँछ । पार्टी चलायमान हुन्छ । नेतृत्व निर्माणमा चेन इफेक्ट गर्छ ।
३३ प्रतिशत नयाँ अनुहार
चितवनमा १०-१२ मंसिरमा हुने महाधिवेशनबाट ३३ प्रतिशत नयाँ अनुहार पार्टीमा आउनुपर्ने जोड युवाले दिएका छन् ।
उनीहरूका अनुसार अहिलेको पार्टी संगठनमा एक सय ९५ सदस्यीय केन्द्रीय कमिटीमा एक सय ६५ पुरुष र ३० महिला छन् । दशौं महाधिवेशनबाट दुई सय २५ जनाको केन्द्रीय कमिटी निर्वाचित हुँदैछ । ७५ जना महिला अनिवार्य राख्नुपर्ने विधानमा व्यवस्था छ । एक सय ५० पुरुष मात्रै आउँदैछन् । एक सय ६५ जना त अहिलेको कमिटीमा छन् । १५ जना यसपालि बाहिरिनुपर्ने बाध्यता छ । यस्तो अवस्थामा केन्द्रीय कमिटीमा पुरुषतर्फ नयाँ अनुहार एक जना पनि आउने अवस्था छैन । त्यसैले जिम्मेवारी हस्तान्तरण मापदण्ड बनाउन बहस थालिएको नेता केसीले बताए ।
उनकाअनुसार यो अभियानअन्तर्गत एमालेका दोस्रो पुस्ताका नेता शंकर पोखरेल, योगेश भट्टराई, विष्णु रिमाल, खिमलाल भट्टराईलगायतलाई भेटेर छलफल गरिएको छ । नेताहरू पनि सकारात्मक छन् । प्रस्ताव जायज छ । यसको कार्यान्वयनका लागि सघन कार्ययोजना आवश्यक छ भनेका छन्, नेता केसीले भने, बहसले सार्थकता पाउनेमा विश्वस्त छौं ।
युवाले महाधिवेशन अगाडि अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपमहासचिव विष्णु पौडेललगायत शीर्ष नेतालाई पनि भेटेर ध्यानाकर्षण गराउने कार्यक्रम छ ।युवाहरूको अभियानमा गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य केसीसहित प्रदेश १ कमिटी सदस्य रामकुमार बस्नेत, कञ्चनपुरबाट निर्वाचित संघीय सांसद दीपकप्रकाश भट्ट, गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटा अग्रपंक्तिमा छन् ।
त्यसैगरी योगेन्द्र शाही, किशोरविक्रम मल्ल, पदम गिरी, रश्मि आचार्य, महेश बर्तौला, शोभियत ढकाल, शैलेश लामा, सीपी घर्ती, अशोक ठकुरी, द्वारिका न्यौपाने, सीता थापा, सूर्य ढकाल, मीना श्रेष्ठ, शिव गुरुङ, रञ्जना सरकारलगायत सबै प्रदेशबाट पार्टीका युवा नेता अभियानमा छन् ।


विश्व खबर 


















