दार्चुला- दार्चुलाको ब्यास पालिका–१मा रहेका गाउँहरू छाङरु र तिंकरमा जनगणनाका लागि भारतले बाटो प्रयोग गर्न नदिएपछि जनगणना कार्यालय दार्चुलाको टोली नेपालकै बाटो भएर शुक्रबार उक्त स्थानतर्फ गएको छ ।
भारतीय बाटो प्रयोग गर्नका लागि भारतको पिथौरागढ जिल्लाको धार्चुला तहशिलसँग गत २६ कात्तिकमा नै अनुमति मागेको भए पनि हालसम्म अनुमति नदिएपछि स्वदेशकै बाटो भएर टोली उक्त क्षेत्रतर्फ गएको जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले जानकारी दिए ।
जनगणना कार्यालय दार्चुलाका सहायक जनणना अधिकारी र कार्यालय सहयोगी लोकेन्द्र टेर उक्त क्षेत्रमा जनगणनाका लागि गएका छन् । गणकले जान नसक्ने भनेपछि आफूहरूमात्र गएको सहायक जनगणना अधिकारी कार्कीले बताए । ‘जनणनाका लागि गएका छौँ । आज बेलुका ब्यास गाउँपालिका–२ दुम्लिङ बास बस्ने र भोलि उक्त क्षेत्रतर्फ जाने योजनामा छौँ, कार्कीले भने ।
दुम्लिङभन्दा माथिल्लो क्षेत्रमा बाटो अवरुद्ध भएकाले जान सक्ने अवस्था भए जाने नभए फिर्ता हुने उनको भनाइ छ । ‘महाकाली नदी किनारको मुलबाटो पूर्ण रूपमा भत्किएको छ रे, डाँडा चढेर जान सकिने भए जान्छौँ, नसकिने अवस्था भए फिर्ता हुन्छौँ’, उनले भने । जान सक्ने नभएमा सुपरिवेक्षकले ल्याएको फोन नम्बरमा सम्पर्क गरी यतैबाट सोधपुछ गरी जनगणना गरिने जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेको भनाइ छ । छाङरु गाउँमा ८१ र तिंकर गाउँमा ३२ गरी त्यस क्षेत्रमा ११३ परिवार रहेको उनले बताए ।
ब्यास गाउँपालिका–१मा पर्ने पाँचगाउँहरू कुटी, नाभी, गुञ्जी, तिंकर र छाङरु गाउँमध्ये कुटी, नाभी र गुञ्जीगाउँ भारतले अतिक्रमण गरेको छ । भारतले अतिक्रमण गरेकाबाहेक तिंकर र छाङरु गाउँमा नेपालको प्रशासनिक अधिकार कायम छ । छाङरु पुग्ने नेपालको बाटो वर्षादको बेला महाकाली नदीको कटानले तथा भारतले विस्तार गरिरहेको धार्चुला–लिपुलेक सडकका कारण ठाउँठाउँमा अवरुद्ध छ । नेपालतर्फ बाटो नभएकाले स्थानीयदेखि त्यस क्षेत्रमा पुग्ने नेपाली सुरक्षाकर्मीहरू समेत भारतको अनुमित लिएर जाने गरेका छन् ।
गणकलाई छाङरु जान भारतले दिएन बाटो
भारतीय प्रशासनले दार्चुलाका दुई गाउँ छाङरु र टिंकरमा जनगणना गर्न व्यवधान खडा गरेको छ । व्यास गाउँपालिका–१ का छाङरु र नेपाल–चीन सीमावर्ती गाउँ टिंकरमा जनगणनाका लागि केन्द्रीय तथ्यांक विभागबाट खटिएका कर्मचारी भारतीय बाटो हुँदै जान नपाएपछि दार्चुला सदरमुकाम खलंगामा रोकिएका छन् ।
कात्तिक २५ मै जिल्ला प्रशासन कार्यालय दार्चुलाले सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्की र गणक राजेन्द्र कार्कीलाई भारतीय भूमि धार्चुलाबाट छियालेक–गर्ब्याङ हुँदै महाकाली नदीको पुल ९सीता पुल० तरेर छाङरु जाने गरी पासको व्यवस्था मिलाउन भारतीय प्रशासनलाई पत्राचार गरेको थियो । तर, एक सातासम्म पनि भारतीय प्रशासनले अनुमति दिएको छैन ।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले पहिलोपटक कात्तिक २५ मा भारतीय बाटो हुँदै छाङरु जान पासको व्यवस्थाका लागि पत्राचार गरिएकामा कुनै जवाफ नआएको बताइन् । पहिलो पत्रको जवाफ नआएपछि मंगलबार र बुधबार पुनः दुई पत्र पठाइएको र त्यसको पनि जवाफ नआएको उनले जानकारी दिइन् । लिखित पत्राचारबाहेक प्रशासनले मौखिक रूपमा पनि अनुमति दिन भएको ढिलाइबारे भारतीय प्रशासनसँग कुरा गरेको थियो तर उताबाट ‘हुन्छ, प्राविधिक कारणले हो’ भन्ने जवाफमात्रै आएको प्रशासन स्रोतको भनाइ छ ।
भारतीय बाटो हुँदै छाङरु जान नदिएकोबारे दार्चुला प्रशासनले गृह मन्त्रालयलाई समेत मौखिक जानकारी गराइसकेको छ । जनगणनामा खटिएका अधिकारीहरूले तथ्यांक विभागलाई पनि यसको जानकारी गराएका छन् । सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बलले समेत भारतीयबाट भएको अवरोधबारे हेडक्वार्टरलाई जानकारी गराइसकेको छ । ‘नेपालको बाटो हुँदै छाङरु र टिंकर जान भौगोलिक कठिनाइ भएपछि भारतीय भूमिबाट सीता पुल तरेर जाने व्यवस्थाका लागि आवश्यक समन्वय गर्न हामीले भारतीय प्रशासनको धार्चुला तहसिल कार्यालयलाई तीन वटा पत्र पठाइसक्यौं, त्यसको बोधार्थ समकक्षी कार्यालय पिथौरागढस्थित जिल्लाधिकारीलाई पनि दिएका छौं,’ सहायक प्रजिअ भट्टले भनिन्, ‘तर पत्रको जवाफ आएको छैन, जनगणनाका लागि खटिनुभएका कर्मचारी खलंगामै रोकिनुपरेको छ ।’
यसअघिको तथ्यांकअनुसार टिंकरमा करिब ७५ र छाङरुमा करिब १ सय २५ घरधुरी थिए । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले यस विषयमा दार्चुला प्रशासनसँग थप बुझेर जानकारी गराउन सकिने बताए ।
अनुमति दिएमा अतिक्रमित गाउँको जनगणना हुने आशंका
प्रशासनले गणकको लागि यात्रा अनुमति मागेको विषयमा उच्च स्तरलाई जानकारी गराएको भारतको पिथौरागढ जिल्लाका जिल्ला अधिकारी डा। आशिष चौहानले भारती यपत्रिका अमर उजालालाई प्रतिक्रिया दिएका छन् । नेपालतर्फ गुञ्जी, कुटी र नाभिको पनि जनगणना गर्ने चर्चा भएकाले गणकलाई यात्राको अनुमति दिएमा उक्त क्षेत्रसम्म पुग्न सक्ने भारतले आशंका गरेको छ ।
भारतको धार्चुला तहशिलबाट करिब ७० किलोमिटर उत्तरमा रहेको छियालेक क्षेत्रबाट भारतले नोटिफाइड क्षेत्र घोषणा गरको छ । नोटिफाइड क्षेत्रमा विदेशी नागरिकले प्रवेश गर्नका लागि भारतीय प्रशासनको अनुमति आवश्यक हुन्छ । छियालेकभन्दा माथिल्लो क्षेत्र प्रवेश गर्नेलाई भारत तिब्बत प्रहरी (आईटीवीपी) ले यात्रा अनुमति जाँचदेखि कडा चेकजाँच गर्ने गरेको छ ।
भारतको छियालेकबाट करिब पाँच किलोमिटर अघि नेपालीगाउँ छाङरु जाने महाकाली नदीमाथी काठको पुल छ । उक्त नाकालाई सीतापुल भनिन्छ । छियालेक क्षेत्रमा यात्रा अनुमतिपत्र देखाएर भारतको गरब्याङ गाउँ पुगेकाहरूले पुनः सिता पुलनाकामा रहेको एसएसबीले अनुमतिपत्रलगायत चेकजाच गरी नेपाल प्रवेश दिन्छ ।
गत २५ कात्तिकबाट सुरू भएको १२औँ राष्ट्रिय जनगणना ९ मंसिरमा समापन हुँदै छ ।


विश्व खबर 


















