images
images
  • बारको धर्ना सुरू, प्रधानन्यायाधीशले तोके नौ इजलासमा २५९ मुद्दा

    काठमाडौं – कानुन व्यवसायीको धर्नाका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबारका लागि नौ इजलास गठन गरेका छन् ।

    बारले राजीनामा माग्दै धर्ना दिइरहेका बेला जबराले बालुवाटारस्थित निवासबाटै नौवटा इजलासका लागि २५९ मुद्दा सुनुवाइका लागि पेसी तोकेका छन् ।आफूबाहेकका इजलास गठन गरेका जबराले उनीविरुद्ध आन्दोलन सुरु भएयता पहिलो पटक पूर्ण इजलास गठन गरेका छन् ।

    १० नम्बर इजलासका न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माले भने आफ्ना लागि तोकिएका संयक्त इजलासका लिखत दर्ता बदरका मुद्दा भने सुनुवाइ गर्ने बताइएका छन् ।

    यस्तै प्रधानन्यायाधीशलाई अदालत प्रवेशमा रोक लगाउने तयारीका साथ अदालत प्रवेश गरेका कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको छ ।जबरालाई रोक्न वैकल्पिक गेटमा धर्ना दिन पुगेका कानुन व्यवसायीलाई रोक्ने क्रममा प्रहरीसँग वकिलहरूको घम्साघम्सी चलेको हो ।

    कानुन व्यवसायीले मूलगेटमा धर्ना दिँदै आएका कारण जबरा वैकल्पिक ढोकाबाट अदालत प्रवेश गरिरहेका छन् । तर बिहीबार भने कानुन व्यवासयी वैकल्पिक गेटमा धर्ना दिन पुगेका छन् ।वैकल्पिक गेटसमेत बन्द गर्न खोजेपछि धर्ना दिने कानुन व्यवसायीको भन्दा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

    यता, राजीनामाको दबाब झेल्दै आएका जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक वोलाउने तयारी गरेका छन् । असन्तुष्ट न्यायाधीशहरूले जबराबाहेक नै फुलकोर्ट बस्ने तयारी थालेपछि उनले बैठक बोलाउने तयारी गरेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images