images
images
  • एमाले महाधिवेशन : लमजुङबाट ११ जना प्रतिनिधि सर्वसम्मत, उच्च मनोबलले काम गर्न कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन

    लमजुङ- नेकपा एमालेको १०औं महाधिवेशनका लागि लमजुङबाट ११ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।

    सर्वसम्मत चयन भएका खुल्ला प्रतिनिधितर्फ जिल्ला अध्यक्ष धनञ्जय दवाडी, प्रदेश सचिवालय सदस्य जमीन्द्रमान घले, मोहनरी पौडेल, प्रदेश सदस्य प्रेमबहादुर घले, गुमानसिंह अर्याल र जिल्ला सचिव कृष्ण प्रसाद अधिकारी रहेका छन् । त्यसैगरी महिलातर्फ प्रदेश सदस्य दिपा गुरुङ, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य लक्ष्मीदेवी अधिकारी र अनेमसंघका जिल्ला अध्यक्ष यशोदा रिमाल महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।

    यस्तै महाधिवेशन प्रतिनिधिमा दलिततर्फ विवश बुढाथोकी र हिरालाल विश्वकर्मा सर्वसम्मत चयन भएका छन् । लमजुङमा ११ जना प्रतिनिधि प्राप्त गर्ने अवस्था रहेकोमा खुल्लातर्फ ६ जनामा १६ जना, महिलातर्फ ३ जनामा ७ जना र दलिततर्फ २ जनाका लागि ४ जनाको मनोनयन दर्ता भएकोमा आपसी छलफल तथा अन्तरक्रिया गरी समझदारीका साथ महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरिएको एमालेले जनाएको छ ।

    सर्वसम्मत चयन भएका प्रतिनिधिलाई निर्वाचन कमिटीका संयोजक बुद्धिसागर बरालले प्रमाणपत्र प्रदान गरेका थिए । निर्वाचन मण्डलमा ईश्वर पौडेल, विमल अधिकारी र नवराज धिताल रहेका थिए । जिल्ला अध्यक्ष धनञ्जय दवाडीले एमाले लमजुङले उच्च समझदारीका साथ महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनोट गरेको बताए । एमालेले यसअघि लमजुङमा ७५ वडाकै वडा अधिवेशन र ८ वटा पालिकाको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरेको थियो ।

    कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् । शनिबार जिल्ला प्रशासन कार्यालय लमजुङमा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखसँगको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पोखरेलले कर्मचारीलाई उच्च मनोबलका साथ नागरिकलाई सेवा प्रवाह गर्न आग्रह गरेका हुन् ।

    कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारीले प्रदेश सरकारले नागरिकको पक्षमा संवेदनशील भएर काम गरेको बताइन् । उनले भनिन्, ‘जनतालाई प्रत्यक्ष फाइदा हुनेगरी प्रदेश सरकारले काम गरिरहेको छ ।’ विना विभागीय मन्त्री डोबाटे विश्वकर्माले प्रदेश सरकार नागरिकको साथमा रहेको भन्दै जनताको शान्ति सुरक्षामा ध्यान दिन कर्मचारीलाई आग्रह गरे ।

    लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जिल्लाको शान्ति सुरक्षाको साथै बाढीपहिरोले पुर्‍याएको क्षतिबारे जानकारी गराएका थिए । कार्यक्रममा पूर्वाधार विकास कार्यालयका प्रमुख सुमन गिरी, स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडी, कृषि ज्ञान केन्द्रका प्रमुख सुदिप खतिवडा, डुम्रे–बेसीशहर–चामे सडक योजनाका प्रमुख अच्युतविलास पन्तले कार्यालयले गरेको काम बारे जानकारी गराएका थिए ।

    द्वन्द्वपीडित र असहाय बालबालिकालाई सहयोग

    कामना सेवा विकास बैंक बेसिशहर शाखाले आदर्श महिला तथा बालविकास केन्द्रमा रहेका बालबालिकालाई न्यानो कपडा र स्टेसनरी सहयोग गरेको छ । बेसिशहर नगरपालिका-८ मा रहेको बैंकले १५औं वार्षिकोत्सवको अवसरमा न्यानो कपडा र स्टेसनरी सहयोग गरेको हो ।

    बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बालगृहका बालबालिकालाई ज्याकेट, सुइटर तथा स्टेशनरी सामाग्री वितरण गरेको कामना सेवा विकास बैंक बेसिशहर शाखाका प्रमुख कृष्णबहादुर चापागाईंले बताए । बालगृहमा हाल १० जना द्वन्द्वपीडित तथा असहाय बालबालिका रहेका छन् ।

    लमजुङमा २६४ जना गणक खटिए

    देशव्यापी रूपमा सुरु भएको जनगणना कार्यअन्तर्गत लमजुङमा २६४ जना गणक खटिएका छन् । लमजुङमा बिहीबार जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डे र प्रमुख जिल्ला अधिकारी सुशश्रल वैद्यको परिवारको गणना गरेर जनगणनाको सुरुवात गरिएको हो ।

    जिल्ला जनगणना अधिकारी नारायण रिजालले गणनाको फारममा पाण्डे र वैद्यको पारिवारिक विवरण भरेर गणनाको सुरुवात गरेका हुन् । आवश्यक गणनाका विभिन्न सामग्री लिएर गणकहरू जिल्लाभर खटिएको जनगणना अधिकृत रिजालले बताए ।

    ‘कोही नछुटून्, कोही नदोहोरिऊन्’ भन्ने नाराका साथ सुरु भएको जनगणना कार्यका लागि लमजुङमा तीनवटा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ । सुपरिवेक्षकले तयार पारेको सूचीकरणबाट आएको डाटाअनुसार लमजुङभर ५६ हजार ७७२ घर छन् । ३९ हजार ४३४ जनगणना घर र ४४ हजार ५९० जनगणना परिवार रहेको जनगणना कार्यालयले जनाएको छ ।

    बेँसीशहरस्थित स्थानीय जनगणना कार्यालयअन्तर्गत बेँसीशहर नगरपालिका, दोर्दी गाउँपालिका र मर्स्याङ्दी गाउँपालिकामा २५ हजार ३३३ घर छन् । १७ हजार २७७ जनगणना घर छन् । जनगणना परिवारको संख्या २० हजार ३७९ छ ।

    मध्यनेपालस्थित स्थानीय जनगणना कार्यालयअन्तर्गत मध्यनेपाल नगरपालिका र क्व्होलासोथर गाउँपालिकामा घर संख्या १० हजार ५९१ छ । जनगणना घर आठ हजार १२८ र जनगणना परिवार आठ हजार ६५७ रहेको कार्यालयले जनाएको छ ।

    सुन्दरबजारस्थित स्थानीय जनगणना कार्यालयअन्तर्गत दूधपोखरी गाउँपालिका, राइनास नगरपालिका र सुन्दरबजार नगरपालिकामा घर २१ हजार ४८ छन् । यसमा जनगणना घर १४ हजार २९ र जनगणना परिवार १५ हजार ५५४ छन् ।

    जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले जनगणनामा समाजको यथार्थ चित्रण देखिने भएकाले सबै जना जनगणना कार्यमा सहभागी हुन आग्रह गरे । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जनगणना कार्यलाई सबै मिलेर सफल बनाउनुपर्ने बताए ।

    नेपालले हरेक १०/१० वर्षमा लिँदै आएको जनगणनाको यस वर्ष १२औँ जनगणना हो । जनगणना कार्यालयले गत ३० भदौदेखि १८ असोजसम्म २० दिन ६९ जना सुपरिवेक्षकलाई खटाएर घर परिवार सूीचकरण गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images