काठमाडौं । कोभिड– १९ को जाखिमका कारण लामो समय बन्द रहेका विद्यालय पूर्ण रूपमा खुल्न थालेका छन् । कोभिडको संक्रमण दर घटेर निषेधाज्ञा हटेदेखि नै केही शैक्षिक संंस्थाले भौतिक रूपमा कक्षा सञ्चालन गरेका थिए । बाँकी शैक्षिक संस्थाले छठ पर्व सकिएलगत्तैबाट भौतिक उपस्थितिमा कक्षा सञ्चालन थालेका हुन् ।
विज्ञहरूले भने विद्यालय तथा विश्वविद्यालयका कक्षा सञ्चालनमा डराउनुपर्ने अवस्था नभए पनि होसियार अपनाउन सुझाब दिएका छन् । कोभिड संक्रमणको जोखिम रहिरहेकाले व्यवस्थापन पक्षलाई बलियो बनाएर कक्षा सञ्चालन गर्न विज्ञहरूले सुझाब दिएका हुन् । भाइरोलोजिस्ट डा। अनुप बास्तोला कोभिड– १९ को संक्रमण अब पहिलो र दोस्रो लहरमा फैलिने अवस्था नभए पनि नयाँ भेरियन्ट आउन सक्ने र बालबालिकालाई हुने जोखिम कम गर्न सतर्क हुनुपर्ने बताउँछन् । कोभिडको जोखिम कम गर्न स्वस्थ व्यक्ति मात्र विद्यालय जानुपर्ने उनको भनाइ छ ।
‘अब कोभिड–१९ को संक्रमण पहिलो र दोस्रो लहरमा फैलिने अवस्था छैन । तर, नयाँ भेरियन्ट आउन सक्ने र बालबालिकामा त्यसको प्रभाव बढी हुन सक्ने भएकाले जोखिम कम गर्न सतर्क हुनैपर्छ,’ डा. बास्तोलाले नयाँ पत्रिकासँग भने, ‘अस्वस्थ व्यक्ति घरमै रहेर उपचार वा चिकित्सकको निगरानीमा बस्ने तथा स्वस्थ व्यक्ति मात्र विद्यालय वा विश्वविद्यालय जाने गर्दा त्यस्तो जोखिम कम गर्न सकिन्छ ।’
काठमाडौं उपत्यकामै केही विश्वविद्यालय तथा विद्यालयले गत असोजबाटै भौतिक रूपमा कक्षा सञ्चालन सुरु गरेका थिए । केहीले बिहीबारबाट सुरु गरेका छन् । बाँकीले आइतबारबाट पूर्ण रूपमा कक्षा सञ्चालन गर्ने तयारी गरेका छन् । लामो समयसम्म चलेका अनलाइन तथा भर्चुअल कक्षा प्रभावकारी नभएपछि शिक्षा मन्त्रालयदेखि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले समेत विद्यालय सञ्चालन कार्यढाँचा ०७७ अनुसार कक्षा सञ्चालन गर्न प्रोत्साहन गरेका थिए । त्यसक्रममा सुरुवाती दिनमा अधिकांश विद्यालयले माथिल्लो कक्षाबाट भौतिक रूपमा पढाइ सुरु गरेर बिस्तारै तल्लो कक्षाका विद्यार्थीलाई विद्यालयमा बोलाएका थिए ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले झन्डै ६५ प्रतिशत विद्यालयले भौतिक रूपमा कक्षा सुरु गरिसकेको जानकारी दिए । दसैँ, तिहार र छठजस्ता पर्व सकिएकाले अब सबै विद्यालयले भौतिक रूपमा कक्षा सुरु गर्न थालेको महानिर्देशक पौडेलले जानकारी दिए । उनले भने, ‘दसैँअघि नै ६५ प्रतिशत विद्यालय खुलिसकेका थिए । बाँकी विद्यालय पनि छठ पर्व सकिएपछि धमाधम खुल्न थालेका छन्,’ पौडेलले भने, ‘तर, कोभिड– १९ को जोखिम पूर्ण रूपमा अझै हटिसकेको होइन । त्यसैले भौतिक रूपमा कक्षा सञ्चालन गर्दा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा र स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्छ ।’ भौतिक रूपमा विद्यालय सञ्चालनका लागि स्थानीय तहलाई सहजीकरण गर्ने उनले बताए ।
यस्तो छ, विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, ०७७
शिक्षा मन्त्रालयले विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, ०७७ जारी गरी कोभिडको अवस्था मूल्यांकन गरी स्थानीय तहबाटै विद्यालय खोल्ने वा बन्द गर्न सक्ने व्यवस्था गरेको छ । विद्यालय सञ्चालन वा बन्द गर्ने कार्यलाई व्यवस्थित र सुरक्षित बनाउन कार्यढाँचा जारी गरेको जनाएको छ । विद्यालय तहको शिक्षाको अधिकार स्थानीय तहमा रहे पनि संघको निर्देशनमा बन्द भएका शैक्षिक संस्था खोल्न शिक्षा मन्त्रालयले बाटो तय गरिदिएको छ । विद्यालय सञ्चालनको कार्य स्थगित वा बन्द गर्नुपरेमा विद्यालयले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, ०७७ अनुसार वैकल्पिक विधि प्रयोग गरी सिकाइलाई निरन्तरता दिनुपर्नेछ ।
कार्यढाँचामा कोभिड–१९ को संक्रमणको अवस्थालाई स्थानीय र विद्यालय तहमा समीक्षा गरी विद्यालयलाई भयरहित तथा सुरक्षित तरिकाले सञ्चालनमा ल्याई बालबालिकाको शिक्षण सिकाइ, परीक्षा तथा मूल्यांकनसम्बन्धी प्रक्रियालाई सहज बनाउन सकिने उल्लेख छ । विद्यालयमा शैक्षिक गतिविधि निरन्तर गराउने वा जोखिमको अवस्था आएमा बन्द गर्ने र अवस्था सहज हुँदा पुनः सञ्चालन गर्न सकिनेछ । देशभरका सबै सार्वजनिक तथा निजी लगानीका विद्यालयहरूमा विद्यालय सञ्चालनको तयारी तथा विद्यालय सञ्चालनका क्रममा गर्नुपर्ने न्यूनतम क्रियाकलापहरूको खाका कार्यढाँचामा उल्लेख छ ।
स्वस्थ शिक्षक र स्वस्थ विद्यार्थी मात्र विद्यालय जाऔँ : डा. अनुप बास्तोला, भाइरोलोजिस्ट
बालबालिका आफैँ र उनका अभिभावकमा कोभिडको लक्षण देखिएको छ र बिरामी भएका छन् भने विद्यालय जानुहुँदैन । त्यस्ता विद्यार्थी विद्यालय जाँदा धेरैमा संक्रमण फैलिन सक्छ ।
स्वस्थ बालबालिका र स्वस्थ शिक्षक मात्र विद्यालयमा जानुपर्छ । अधिकांश शिक्षकले खोप लगाइसकेका होलान्, तर पनि बालबालिकालाई जोखिमबाट बचाउन स्वस्थ शिक्षक मात्र विद्यालय जानुपर्छ । विद्यालयमा मास्क र सेनिटाइजरको प्रयोग गर्नुपर्छ ।
स्वास्थ्य मापदण्डलाई राम्रोसँग पालना गर्नुपर्छ । बालबालिकालाई एकै ठाउँमा भिड गर्न दिनुहुँदैन । अब विद्यालय सञ्चालन गर्न पहिलेजस्तो डराउनुपर्दैन । तर, नयाँ भेरियन्ट आउन सक्ने भएकाले सतर्क भने हुनैपर्छ ।
कक्षा सञ्चालन गर्न विद्यालयलाई सात विकल्प
– संक्रमणको जोखिम, विद्यार्थी संख्या तथा उपलब्ध भौतिक पूर्वाधारसमेत हेरी व्यवस्थापनमा सहजताका लागि स्थानीय तहले अपनाउन सक्ने सात विकल्प कार्यढाँचामा दिइएको छ ।
– सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गर्ने
– अलग अलग समय (सिफ्ट)मा अलग अलग कक्षा वा तह सञ्चालन गर्ने
– विद्यालय खुल्ने तथा कक्षा सञ्चालनको अवधि/घन्टी छोट्याउने
– अवस्था हेरी तल्ला कक्षालाई पहिले वा माथिल्लो कक्षाका विद्यार्थीलाई पहिले (जोखिम र सहजतालाई हेरी) कक्षा सुरु गर्ने
– कुनै दिन केही कक्षा र कुनै दिन बाँकी अरू कक्षा सञ्चालन हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने
– कक्षाका केही विद्यार्थी कुनै दिन वा सिफ्ट र बाँकी विद्यार्थी अर्को दिन वा सिफ्टमा सञ्चालन हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने
– हप्तामा केही दिन, दिनमा केही घन्टा सञ्चालन गर्ने
आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।


विश्व खबर 


















