images
images
  • महाधिवेशनका लागि टिम बनाउने कसरतमा देउवा, पुराना टिम भत्कँदै, नयाँ बन्दै

    काठमाडौं । आसन्न महाधिवेशनबाट पुनः नेतृत्व लिने तयारी गरिरहेका प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनका लागि आफ्नो नेतृत्वको टिम बनाउन आफू निकट शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।

    सभापति देउवाले बिहीबार बालुवाटारमा महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा। प्रकाशशरण महत, उपसभापति विजयकुमार गच्छदारलगायतका नेतासँग छलफल गर्नुभएको थियो ।

    उक्त छलफलमा आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरी सम्पर्क कार्यालयसमेत राखेर तयारी अघि बढाइरहेका उपसभापति विमलेन्द्र निधिको सहभागिता रहेको थियो ।

    सहमहामन्त्री डा। महतले नेपाल सभापतिसँगको भेट नियमित र सामान्य भएको प्रतिक्रिया दिए । स्रोतका अनुसार बिहीबारको छलफल विशेष गरी निधिलाई पनि आफ्नो टिममा समेटेर देउवाले आसन्न महाधिवेशनमा पुनः नेतृत्वको दाबी गर्ने रणनीतिस्वरूप भएको हो ।

    काँग्रेसको महाधिवेशन मंसिर २४ देखि २६ सम्म गर्ने कार्यतालिका छ । महाधिवेशनको तयारीबारे छलफल गर्न र कात्तिक २८ गते बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न कात्तिक २७ गते पदाधिकारी बैठक बस्ने कांग्रेस सहमहामन्त्री डा। महतले जानकारी दिए ।

    कांग्रेसको आसन्न महाधिवेशनमा संस्थापनइतर समूहले देउवाविरुद्ध एकमात्र साझा उम्मेदवार दिन नसकिरहेका बेलामा देउवाले भने आफ्नो नेतृत्वमा टिमसहित महाधिवेशनमा होमिने तयारी गरिसकेका छन् ।

    संस्थापनइतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा। शेखर कोइराला, कृष्णप्रसाद सिटौलाले १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताउँदै आएका छन् । यता नेपाली कांग्रेसले फेरि पनि महाधिवेशनको कार्यतालिका परिवर्तन नगरे आजको एक महिनापछि नयाँ नेतृत्व पाउँछ । कांग्रेसको नयाँ नेतृत्व चयन गर्न २४ देखि २६ मंसिरसम्म काठमाडौंमा १४औं महाधिवेशन तय भएको छ ।

    कांग्रेसभित्र केन्द्रीय नेतृत्वका लागि वर्तमान सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल र तेस्रो धारको नेतृत्व गर्दै आइरहेका नेता कृष्णप्रसाद सिटौला हुँदै युवा नेता कल्याण गुरुङसम्म अघि सरेका छन् । सभापतिका लागि देउवाले नै नेतृत्व गर्दै आएको हालको संस्थापन समूहबाट मात्रै तीन जना आकांक्षी देखिएका छन् । देउवालाई हालका उपसभापति विमलेन्द्र निधिले चुनौती थपिदिएका छन् भने नेता गोपालमान श्रेष्ठ पनि मैदानमा उत्रने संकेत गरिरहेका छन् । यसले कांग्रेसभित्रको संस्थापन समूहमा पनि विभाजनको अवस्था देखाएको छ ।

    यसैगरी, संस्थापन इतर समूहबाट पौडेलसँगै हालका महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा। शेखर केइराला र नेत्री सुजाता कोइरालाले सभापतिमा दाबी गर्दै आइरहेका छन् । यो समूहभित्र पनि एकल उम्मेदवार बन्ने अवस्था छैन ।

    यसैगरी १३औं महाधिवेशनबाट तेस्रो धारको नेतृत्व गर्दै आइरहेका नेता सिटौलाले पनि यसपटक आफू टिम बनाएरै मैदानमा उत्रिने घोषणा गरिसकेका छन् । तर महाधिवेशनमा कांग्रेसभित्रको पुराना गुट भत्कने र नयाँ समूहबीचमा समीकरण बन्ने अवस्था देखिँदै गइरहेको छ ।

    कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ भने १३ जिल्लामा जिल्ला तहको नेतृत्वसमेत छानिसकेको छ । बाँकी १३ जिल्लाको वडा अधिवेशन कांग्रेसले भोलि शनिबार गर्दै छ ।

    अहिले कांग्रेसका वडा तहदेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्मको नेतृत्वमा स्थापित हुन शक्ति संघर्षसहित उम्मेदवारहरू मैदानमा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images