हैन किन हो, पछिल्ला वर्ष भैलो र देउसी खेल्नेहरु कमी भएको देख्छु । रौस् कम भएको पाउँछु । सायद केटाकेटीलाई मोवाइल, ल्यापटप, ट्यापले अल्मल्याएर हो कि । देउसी रे १ भन्ने आवाज नै कम छ । केटाकेटीलाई खासै मतलव भएको पाउँदिन ।
हाम्रा पालामा दशैं लगत्तै तिहारको तयारी हुन्थ्यो । कुन घर, टोल र उस्तै परे गाउँ जाने टोली बन्थ्यो । खैंजेडी, मादल, बाँसुरी, झ्याली जोरजाम गर्न लागिन्थ्यो । गाउँमा मतानघर र तिनघरेका नानी दाइ, तल जेठा दाइ अनि होक्सेका कान्छा दाइ पनि । भट्याउन खप्पिस । सानैमा हामी उहाँहरुकै पछि लाग्थ्यौं । चरिकोट विसुन्टोलदेखि पारी काटाकुटी, उखुबारी, माटी, मथानी, मावली किँरातीछाप र धरमघरतिर पनि । वल्लो पल्लो सबै टोल रातीराती टर्च लाईट र राँको बालेर पुगिन्थ्यो । अघिल्लो साँझदेखि रातभरी, भोलि दिउँस्भरी देउसी खेल्दा लखतरानै होइन्थ्यो । सकेपछि बाँडेर पैसो गोजीमा हाल्दाको मजै अर्कै ।
अलि पछि म आफै भट्याउन लागें । मादल र बाँसुरी पनि बजाउन थालें । आँगन घुमेर नाच्दै भट्याउँदा कम्ती आनन्द आउँथेन । सानै उमेरमा भनभन भाइ हो ! भनेर भट्याउँदा आफूभन्दा ठूला दाइ, काकाहरु देउसी रे ! भन्थे । केटोले मज्जैले भट्यायो भन्थे । झन् फलाक्थेँ म । भट्याउने भाग पैसा बेग्लै पनि हुन्थ्यो । कतिपय त यो कान्छोले भाइ भाइ भन्दा कति सुन्नु, देउसीरे भन्नु भनेर रमाइलो पनि गर्थे । तैपनि टोलीमा सँगै लिएर हिँडेको याद आउँछ ।
कठै आज ति दिन । कहिले आउला र, त्यसरी भन्ने दिन ।
भइलीराम, भइलीराम ! देउसी रे, देउसी रे !
बालकृष्ण बस्नेत, प्रेस काउन्सिलका अध्यक्ष हुन् ।


विश्व खबर 



















