काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक पर्यटन समृद्धिको आधार रहेको बताएका छन् । १०८ फिट व्यासमूर्ति निर्माण कार्यको आज दमौलीमा शिलान्यास गर्दै उनले धार्मिक पर्यटनबाटै समृद्धि सम्भव रहेको बताएका हुन् ।
मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश धार्मिक पर्यटनमा धनी रहेको चर्चा गर्दै गण्डकी प्रदेशलाई समृद्ध प्रदेश बनाउने अभियानमा सबैलाई लाग्न आग्रह गरे । “प्रदेशको विकासको खम्बा धार्मिक पर्यटन हो”, उनले भने, “प्रदेश सरकारले गर्नुपर्ने काम नागरिक समाजबाट भएको छ, यसमा प्रदेश सरकारको पनि साथ र सहयोग रहन्छ ।”
मुख्यमन्त्री पोखरेलले विकास निर्माणमा जनताको चासो रहनु सान्दर्भिक रहेको उल्लेख गर्दै जनताको अपेक्षाअनुसार सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले व्यासमूर्ति निर्माणको कामले धेरै ठूलो आशा जगाएको बताउँदै व्यासभूमिलाई अन्तर्राष्ट्रियस्तरसम्म परिचित गराउन लाग्नुपर्नेमा जोड दिए ।
चार वेद अठार पूराणका रचयिता वेदव्यासको जन्मभूमि दमौलीलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने उद्देश्यसहित १०८ फिटको व्यासमूर्ति निर्माण कार्य सुरु गरिएको हो । पहिलो चरणमा रु पाँच करोड ५० लाख ५५ हजार ६४० को लागतमा मूर्ति अड्याउने स्तम्भ निर्माणको काम हुने व्यास क्षेत्र शिव पञ्चायन विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिए । “चर्चा भएको त धेरै वर्ष भयो, जे होस् अब मूर्ति निर्माणको कामको प्रारम्भ भएको छ, बजेट अभाव रहेपनि सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा मूर्ति निर्माण सम्पन्न हुने अपेक्षा लिएका छौँ”, उनले भने ।
पहिलो चरणमा मूर्ति अड्याउन स्तम्भ निर्माणका लागि नगरपालिकाले ठेक्का आह्वान गरेको थियो । नगरपालिकाले एक वर्षभित्र सम्पन्न गर्ने गरी गौरी पार्वती, देव एण्ड सयर÷ऋषिशक्ति जेभीसँग सम्झौता गरेको छ । मूर्ति निर्माणका लागि व्यास नगरपालिकाको प्रस्तावमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साझेदारी गरेको छ । त्यसका लागि मन्त्रालयले रु चार करोड ५५ लाख बजेट उपलब्ध गराएको छ ।
गण्डकी प्रदेशको पर्यटन मन्त्रालयमार्फत पनि कोषलाई चालु आर्थिक वर्षमा रु ३० लाख बजेट प्राप्त भएको थियो । उक्त रकमबाट पूर्वतर्फको प्रवेशद्वार र देउरालीनगरतर्फबाट आउने बाटो निर्माणको काम गरिनेछ । मन्त्रालयबाटै गत वर्ष प्राप्त रु दश लाखको लागतमा मुख्य प्रवेशद्वारको केही काम गरिएको छ ।
व्यासमूर्ति सहितका संरचना निर्माणका लागि रु ७१ करोड दुई लाख दश हजार ८८९ रकम आवश्यक पर्दछ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै रु ३४ करोड १६ लाख ७६ हजार ९ सय ९३ लाग्ने अनुमान गरिएको छ । व्यासको मूर्ति निर्माणको थालनी विसं २०६८ देखि भएको थियो । मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करिब रु ७० लाख सङ्कलन भएको थियो । उक्त रकममध्ये रु दश लाखको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन व्यास नगरपालिकाको हाताभित्र राखिएको छ ।
व्यासमूर्ति निर्माणका ३० हजार किलो तामा आवश्यक पर्ने अनुमान छ । पेडेस्टल ९स्तम्भ० भित्र सङ्ग्रहालय, पुस्तकालय हल प्रस्ताव गरिएको छ । गुरुयोजनाअनुसार व्यासको मूर्तिका अलवा प्रवेशद्वार, पार्किङ, टिकट काउण्टर, गार्ड घर, कोसेली घर, बिक्री कक्ष, धर्मशाला, प्रवचन हल, योग हल, समितिको सचिवालय बैठक कक्ष, सङ्ग्रहालय, वृत्तचित्र हल, व्यास पुस्तकालय, शौचालय, बगैँचाको साथ विश्राम घर, तलाउसहितको मत्स्यगन्धा पार्क, चमेनागृह, पुजारी घर, २७ वटा साना व्यासका मूर्ति, व्यासका अनुयायीको पाँच साना प्रतिमा र गणेश बसेर वेद लेखेको सानो मूर्ति प्रस्ताव गरिएको छ । यी सबै संरचना निर्माणका लागि ६० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्दछ ।
करिब पाँच हजार ५०० वर्ष अगाडि व्यासको यस क्षेत्रमा अवतरण भएको धार्मिक विश्वास छ । व्यास ऋषिको जन्म बारेको प्रसङ्गमा दमौलीदेखि आठ किमी पूर्वछाब्दीबाराहको मन्दिरदेखि करिब ५० मिटर पश्चिमपट्टिको कुण्डमा व्यासकी माता सत्यवतीको जन्मभएको थियो, माछाको रूपबाट जन्म भएकीले त्यस कुण्डको नाम मच्छे कुण्ड रहन आएको हो भनिन्छ ।


विश्व खबर 



















