images
images
  • भारतपछि अमेरिकासँग संयुक्त सैनिक तालिम, चीनसँग तालिमको लागि गृहकार्य हुँदै, बेलायतसँग रद्द

    काठमाडौं- झन्डै डेढ बर्षदेखि कोभिड–१९ संक्रमणका कारण रोकिएका संयुक्त सैनिक तालिमले धमाधम निरन्तरता पाउन थालेका छन् । कोरोना भाइरस संक्रमण कम भएसँगै भारतीय सेना र नेपाली सेनाको संयुक्त तालिम सुरु भएको एक महिनापछि अमेरिकी सेनासँग पनि संयुक्त तालिम थालेको हो ।

    नेपाली सेनाले सोमबारदेखि अमेरिकी सेनासँग पनि संयुक्त अभ्यासको सुरुवात भएको छ । नेपाली सेनाले अमेरिकी सेनासँग ‘संयुक्त तालिम अभ्यास एक्स नेक नेल–२२’ को थालनी गरेको हो । यसअघि भारतको पिथौरागढमा असोज ४ देखि १७ गतेसम्म भारतको उत्तराखण्डस्थित पिथौरागढमा नेपाल–भारत १५ औं ‘सूर्यकिरण’ नेपाल–भारत संयुक्त सैनिक अभ्यास सम्पन्न भएको थियो ।

    नेपाली सेनाका अनुसार नेपाली सेनासँगको संयुक्त अभ्यास छाउनीस्थित रेन्जर गणमा सोमबार सुरु भएको हो । उक्त कार्यक्रममा विशेष फौज बाहिनीका बाहिनीपति सहायक रथी ध्रुवप्रकाश शाह र अमेरिकी राजदूतावासको ‘प्यासिफिक अगमेन्टेसन टिम तथा अफिस अफ डिफेन्स कर्पोरेसन’ प्रमुखसहित नेपाली सेनाका उच्च अधिकारीहरूको उपस्थिती रहेको थियो । नेपाली सेनाको खोज तथा उद्धार कार्यमा सहभागी हुने फौजहरू मध्येबाट करिब ५० जना र अमेरिकी सेनाका करिब २० जना सम्मिलित उक्त अभ्यास मंसिर १४ गते सकिने छ ।

    उक्त संयुक्त तालिम काठमाडौं, पोखरा र अन्नपूर्ण बेसक्याम्प इलाकामा सञ्चालन हुनेछ । ‘यस तालिममा जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार जस्ता विषयहरूको सैद्धान्तिक र व्यावहारिक ज्ञान दिलाउने उद्देश्य रहेको छ,’ सेनाले विज्ञप्तीमा उल्लेख गरेको छ ।

    सेनाकाअनुसार उक्त तालिमले दुवै देशका विपद् व्यवस्थापन कार्यमा संलग्‍न रहने फौजहरूमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा गरिने खोज तथा उद्धार सम्बन्धि सैद्धान्तिक तथा व्यवहारिक क्षमता अभिवृद्धि हुनुको साथै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास छ ।

    अमेरिकी सेनाको विशेष फौजसँग माओवादी द्वन्द्वकालदेखि नै नेपाली सेनाले सहकार्य गरे पनि संयुक्त सैनिक अभ्यासका रुपमा सन् २०१५ देखि ‘ब्यालेन्स नेल’ र ‘टेकनेल’ लाई अघि बढाएको हो ।

    भारतीय सेना र नेपाली सेना बीचमा प्रतिविद्रोह र जंगलकलामा अभ्यास हुन्छ । जंगलकला सम्बन्धी विविध कलाको अभ्यास गरिन्छ । अमेरिकासँग विपद् व्यवस्थापन सम्बन्धी तालिम हुन्छ । चीनसँग प्रतिआतंकवाद तथा विपद् व्यवस्थापन तालिम हुन्छ । अन्य मुलुकले नेपालमा पनि आएर अभ्यास गर्ने भएपनि बेलायतले भने नेपाली सैनिकलाई उतै बोलाएर संयुक्त अभ्यास गर्दै आइरहेको छ ।

    सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले कोभिड–१९ का कारण रोकिएका सैनिक अभ्यास, तालिम, सेमिनार र अन्य गतिविधिहरूलाई अब अघि बढाउन लागेको कान्तिपुरलाई जानकारी दिए । उनले भारतसँग संयुक्त सैनिक अभ्यास भइसकेको, अमेरिकासँग थालनी भएको र चीनसँग सहकार्य मिति तय गर्ने सम्बन्धमा गृहकार्य भइरहेको प्रष्ट पारे । बेलायतसँग भने यसपटक पनि तालिम नहुने भएको उनले जानकारी दिए ।

    सुरुवातमा नेपाललाई बेलायतले कोरोना भाइरसको संक्रमणका कारण ‘रेड लिस्ट’ मा राखेको थियो । अहिले नेपाललाई रेड लिस्टबाट हटाए पनि उक्त संयुक्त अभ्यास अगस्ट महिनामै सकियो । उक्त अभ्यास सकिएपछि अब अर्को वर्षमात्र बेलायतसँग संयुक्त अभ्यास हुने प्रवक्ता पौडेलले बताए । बेलायती सेनाले वेल्समा गर्ने क्याम्ब्रिएन पट्रोल नामक संयुक्त सैनिक अभ्यासमा नेपाली सेनाले सहभागिता जनाउँदै आएको थियो ।

    नेपालले सन् २०११ देखि भारतसँग नेपाल–भारत ‘सूर्यकिरण’ संयुक्त सैनिक अभ्यास सुरुवात गरेको हो । जुन एक वर्षमा एक पटक नेपाल र अर्को पटक भारतमा गरि दुई पटक हुँदै आइरहेको थियो । तर कोभिड–१९ को संक्रमणको कारण संयुक्त तालिम रोकिएको थियो ।

    नेपालले चीनको जनमुक्ति सेनासँग सन् २०१७ देखि नेपाल–चीन ‘सगरमाथा मैत्रीपूर्ण’ संयुक्त सैनिक अभ्यास गर्न थालेको हो । जसको दोस्रो संस्करण सन् २०१८ मा चीनको छेन्दुमा भए पनि तेस्रो संस्करण कोरोना संक्रमणका कारण रोकिएको हो । ‘संयुक्त तालिमलाई लिएर चीनसँग कुराकानी भइरहेको छ, ’ प्रवक्ता पौडेलले भने ।

    nepalusarmy 01112021120351 1000x0 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images