images
images
  • औसत दुई डिग्री सेल्सियसले घट्यो देशभरको तापक्रम, आज कस्तो रहला मौसम ?

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (सोमबार) नेपालमा उल्लेखनीय मौसम प्रणाली नभए पनि आंशिक बदली रहने जनाएको छ ।

    विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार जारी गरेको मौसम बुलेटिनमा अझै केहि दिन उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । हाल देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

    पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिउँसोपख घाम लागे पनि बिहान र बेलुका चिसो महसुस हुने गरेको छ ।

    सोमबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको बलेटिनमा उल्लेख छ । राति प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    मंगलबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । राति पहाडी भू–भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार बुधबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    काठमाडौंको तापक्रम १४ डिग्री सेल्सियस
    काठमाडौं उपत्यकाको आज विहानको तापक्रम १४ डिग्री सेल्सियस रहेको छ । बिहान ६ बजेको तापक्रम १४ डिग्री सेल्सियस मापन गरिएको हो ।

    ‘बिहान १४ डिग्री सेल्यिस रहे पनि ८ बजेसम्म तापक्रम केही घट्न सक्छ’, मौसमविद् बरुण पौडेलले भने, ‘हिजो ११ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । गएराति आकाशमा बादल लागेकाले तापक्रम केही बढेको हो ।’ रातको समयमा बादल लाग्यो भने मौसम खुला हुँदाभन्दा तापक्रम केही बढी हुन्छ । यो वर्ष शनिबार काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा कम १०.६ डिग्री सेल्सियस मापन गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images