काठमाडौं । नेपाल प्रहरीमाथि गृहमन्त्री बालकृष्ण खाणले मनपरी सरुवा गर्न थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले ठाडो हस्तक्षेप गरेका छन् ।
व्यावसायिक छवि बनाउँदै शान्ति सुरक्षा कायम गर्दै अपराध अनुसन्धानमा समेत अब्बल सावित गर्दै आएका अधिकृतहरुमाथि रातारात सरुवा गर्ने काम गृहमन्त्रीले गरेपछि प्रधानमन्त्री देउवाले हस्तक्षेप गरेका हुन् ।
प्रहरीमा विभिन्न व्यक्तिहरुको सुझाव र परामर्शको नाममा उठ्ती धन्दा मच्चाउँदै प्रहरी अधिकृतहरुमा अनावश्यक दवाव बढाएका छन् । यस्तो दवावपछि आफ्नो शरण पर्न आउनेहरुलाई मात्र थमौती गर्ने गरेको र अन्थया सरुवाका डण्डा चलाउने गरेको स्रोतको भनाइ छ ।
पछिल्लो समय महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहमाथि गृहमन्त्रीले यस्तै डण्डा चलाए । एसएसपी सिंह नेपाल प्रहरीमा स्वच्छ छविका प्रहरी अधिकृत मानिन्छन् । काठमाडौं प्रमुख भएपछि उनले कार्य सम्पादनप्रति जनगुनासो खास सुनिएको छैन । तर, गृहमन्त्रीले भने एकाएक भैरहवा विमानस्थल सरुवा गरिदिएपछि त्यसलाई प्रधानमन्त्रीले रोकेका छन् ।
गृहमन्त्री खाणले मंगलबार राति सिंहलाई भैरहवा विमानस्थलमा काज खटाउने निर्णय गरेका थिए । खाणको निर्णय जानकारी पाएलगत्तै राति नै प्रधानमन्त्री देउवाले सो निर्णय उल्ट्याइदिएका थिए ।
खाणले सिंहको ठाउँमा केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत् एसएसपी सुदीप गिरीलाई पठाउने निर्णय गरेका थिए । एसएसपी गिरी पनि राम्रै छविका अधिकृत भए पनि एसएसपी सिंह काममा उत्कृष्ट रहेको कारण प्रधानमन्त्रीले गृहमन्त्रीका निर्णय बदर गरिदिएको बालुवाटार स्रोतको भनाइ छ ।
सिंहले राम्रो काम गर्दागर्दै पनि अवधि नपुग्दै आफ्नो सरूवा गर्न खोजिएको बताउँदै प्रधानमन्त्रीलाई गुनासो गर्न बालुवाटार पुगेको स्रोतको भनाइ छ ।
काठमाडौंमा ११ महिनासम्म रहँदा एसएसपी सिंह विवादरहित छन् । उनीमाथि तस्करबाहेक कसैले पनि आरोप लगाउन सकेको छैन । प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयले समेत सिंहमाथि कुनै ‘चार्ज’ लगाएको छैन । तर गृहमन्त्रीले एक्कासी हटाएपछि सुदुरपश्चिम नै घर भएका एसएसपी सिंह र महानगरीय प्रहरी आयुक्त एआइजी हरिबहादुर पालले प्रधानमन्त्रीलाई गुनासो गरेको र सो कुरा तत्काल सुनुवाई भएको प्रहरी स्रोतको भनाइ छ ।
पछिल्लो समय गृहमन्त्रीले मनपरी गर्न थालेपछि प्रहरी अधिकृतहरु नै आतंकित बनेको भन्दै प्रधानमन्त्रीले खाणलाई त्यसो नगर्न भनेका छन् ।
एसएसपी सिंह सरुवा प्रकरणमा जस्तै अन्य ठाउँमा समेत खाणले मनपरी सरुवा गर्ने गरेको भेटिएको छ ।
गृहमन्त्री खाणकै निर्देशनमा तीन दिनअघि इप्रका बुटवलका डीएसपी मदन कुँवरलाई पनि रातारात सरुवा गरिएको थियो । बुटवलमा रहेर निष्पक्ष र अनुशासित रुपमा काम गर्दै आएका डीएसपी कुँवरमाथि विना कारण खाडले सरुवा गरेको प्रहरी स्रोत नै बताउँछ ।
डिएसपी कुँवरले राम्रो काम गरेको भन्दै उत्कृष्ठ प्रहरी पुरस्कार पाएको भोलिपल्ट नै सरुवा गरिएका थिए ।


विश्व खबर 


















