भक्तपुर। परिवारका कोही सदस्यको मृत्यु भयो । उनको अन्त्येष्टिका लागि समाजसँगै आफन्तका अधिकांश पुरुषलाई बोलाइन्छ । सबै जम्मा भएर रीति सकाएपछि अन्त्येष्टिका लागि घाट लगिन्छ ।
सोही कार्यमा न कुनै महिलाको संलग्नता गराइन्छ, न त महिला सहभागी नै हुन्छन् । अझै नेवारी समुदायमा त कोही बितिहाले महिलालाई रुने समूह मानिन्छ ।
मरेको दिन होस् वा चौथो दिन, सातौँ दिन वा १० दिन नै किन नहोस् । हरेक दिनको शोक कार्य महिलाको रुवाइसँगै सुरु हुन्छ । अझै महिलालाई पुरुषसँगै मलामी त के घाटमा जानसमेत बन्देज लगाइने मान्यता हाम्रो समाजमा छ । तर, भक्तपुरका २ महिलाको दैनिकी आजभोलि शव व्यवस्थापनमै व्यतीत हुने गरेको छ ।
पछिल्लो समय उपत्यकासँगै मुलुकभर कोरोना संक्रमण भई मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । यससँगै भक्तपुरमा पनि मृतकको संख्या बढ्दो क्रममा छ ।
यसैलाई दृष्टिगत गर्दै भक्तपुरकी २४ वर्षीया पुनम कर्माचार्य र २१ वर्षीया जिया जोशी मृतकको शव व्यवस्थापनमा जुटिरहेका छन् । शव व्यवस्थापनका लागि शिरदेखि पाउसम्म ढाक्ने कपडा, मास्क अनि सुरक्षा सामग्री प्रयोग गरेसँगै सुरक्षाको मापदण्ड अपनाइएको हुन्छ ।
उनीहरू आजभोलि हरेक दिन भक्तपुरको दूधपाटीस्थित भक्तपुर अस्पतालमा देखिन्छन् । शव व्यवस्थापनमा जुटेका उनीहरू संक्रमणबाट कसैको मृत्यु भएको खवर पाउनेबित्तिकै लासको व्यवस्थापनका लागि दौडिइहाल्छन् ।
पुनमले गत वर्ष २ जेठमा पहिलो पटक शव व्यवस्थापन गरेकी थिइन्, जतिबेला धुलिखेल अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । शव व्यवस्थापनका लागि आफन्तले धेरै व्यक्तिलाई हारगुहार मागे पनि कसैको साथ पाएनन् । अन्ततः पुनमलगायतको टोली सो स्थानमा शव व्यवस्थापन गर्न पुग्यो ।
‘अहिले दिनदिनै कोरोना संक्रमितको मृत्यु बढेको छ । यसकारण हामी शव व्यवस्थापनमा लाग्न थालेका हौँ,’ उनी भन्छिन्, ‘भक्तपुरमै मात्र दैनिक ७–८ जना संक्रमितको मृत्यु हुने गरेको छ । शव व्यवस्थापन गर्ने कामको बोझ बढेकाले हामी जुटेका हौँ ।’
उनीसँगै शव व्यवस्थापनमै आबद्ध भएकी छन्, जिया जोशी । शव व्यवस्थापनका लागि कम्तीमा पनि २ जना आवश्यक पर्छ । उनीहरूका अनुसार १ जनाको शव व्यवस्थापन गर्न लगभग आधा घन्टा लाग्छ ।
कोरोनाको पहिलो लहरदेखि नै यससम्बन्धी जनचेतनामूलक काम गरिरहेका उनीहरू कोरोना कम भएका बेला पनि ठाउँ–ठाउँ पुगेर शव व्यवस्थापनबारे तालिम लिँदै आएका थिए । तर, अहिले उनीहरू तालिमअनुसार शव व्यवस्थापनमै जुटेका छन् । ‘पहिला नक्कली शव राखेर तालिम लिएका थियौँ,’ अहिले सक्कली शव व्यवस्थापनमा लागिरहेका छौँ,’ उनीहरूले भने ।
सैंजू नेतृत्वको एनआरए १६ समूह पहिलादेखि नै शव व्यवस्थापनमा सक्रिय छ । तर, कोरोना संक्रमणबाट मृत्युदर बढ्न थालेपछि यी दुई युवती पनि शव व्यवस्थापनमा जुटेका हुन् । उनीहरू दुवै जना एनआरए १६ का सदस्य पनि हुन् ।
नेपाली सेनासँग एनआरए समूह शव व्यवस्थापनमा स्वयंसेवकका रूपमा खटिरहेको छ । खास शव व्यवस्थापनको काम मेडिकलसम्बन्धी ज्ञान भएका स्वास्थ्यकर्मीले गर्नुपर्ने हो । तर, अहिले स्वास्थ्यकर्मी बिरामीको उपचारमै व्यस्त भएकाले शव व्यवस्थापनसम्बन्धी तालिम लिएका र ज्ञान भएकाहरू यो काममा जुटेका छन् ।
पिपिई लगाएर कोरोनाबाट मृत्यु भएकाको शव राम्रोसँग ¥यापिड गर्छन्, उनीहरू । स्वयंसेवकका रूपमा भक्तपुर अस्पतालमा २४ सै घन्टा तम्तयार हुन्छन् । उनीहरूका लागि रातीको बास बस्न टेन्ट टाँगिएका छन् ।
अघिल्ला वर्षमा पनि उनीहरू यसरी नै निःस्वार्थ सेवामा लागेका थिए, यही कामका लागि । तर, त्यो बेला शव व्यवस्थापनमा जुटेका थिएनन् । यसबाहेकका काममा खटिएका थिए ।
यो वर्ष उनीहरू अस्पतालमा मात्र होइन, आवश्यक परे घरघरमा समेत शव व्यवस्थापनमा जाने गरेका छन् । एनआरए समूहका संयोजक अरुण सैंजूले कोरोनाको दोस्रो लहरमा एनआरए १६ टिमका ५६ जनाको समूह स्वयंसेवकका रूपमा खटिरहेको जानकारी दिए ।
अहिले भक्तपुरको शव व्यवस्थापनको काम आफूहरूले नेपाली सेनाको समन्वयमा गरिरहेको उनले बताए । अहिले टिममा सक्रिय रूपमा रहेका ११ जना रहेका र ४ चार युवतीमध्ये २ जना शव व्यवस्थापनमा जुटेको उनको भनाइ छ ।
‘पुनम र जिया अहिले हामीसँगसँगै शव व्यवस्थापनमा अग्रसर भएर काम गरिरहेका छन्,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्