images
images
  • खाडी मुलुकलगाएत मलेसियामा जाने नेपाली श्रमिकको पारिश्रमिक बढाउन नेपालको प्रस्ताव

    काठमाडौं । खाडी तथा मलेसियामा जाने श्रमिकको पारिश्रमिक बढाउन नेपालले प्रस्ताव गरेको छ। आबुधावी डायलगमा नेपालले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन प्रस्ताव गरेको हो।

    खाडी र मलेसियाका श्रममन्त्री सहभागी भएको आबुधावी डायलगमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ९किसान०ले श्रमिकको पारिश्रमिक बढाउन अपरिहार्य भइसकेको बताए।

    वैदेशिक रोजगारीमा खाडी तथा मलेसिया जाने श्रमिकको पारिश्रमिक अत्यन्तै न्यून छ। पारिश्रमिक न्यून हुँदा मलेसिया तथा खाडीबाट आउने रेमिट्यान्स पनि थोरै छ। कम मूल्यमै श्रम गर्न बाध्य भएकाले कठोर परिश्रम गर्दा पनि श्रमिकको जीवनस्तरमा सुधार आउन सकेको छैन।

    यहाँ काम गर्ने श्रमिकले वर्षमा औसतमा १ लाख रुपैयाँ पनि कमाउन सकेका छैनन्। मासिक २२ हजार भन्दा बढी कमाइ हुन नसक्दा वैदेशिक रोजगार उपलब्धिविहीन बन्न पुगेको छ। खाडी, मलेसियालगायत १६ देशका श्रम मन्त्री सम्मिलित आबुधावी बैठकमा नेपालले न्यूनतम पारिश्रमिक बढाउनुका साथै निःशुल्क खान–बस्न व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको हो। रोजगारीका सिलसिलामा खाडी र मलेसियामा लाखौं श्रमिक कार्यरत छन्। नेपालीको मुख्य गन्तव्य खाडीका साउदी अरब, कतार, युएईलगायत हुन्। कोभिड लगायतका कारण मलेसियामा श्रमिक जाने प्रक्रियामा कमी आएको छ।

    नेपालले श्रमिकको पारिश्रमिक बढाउनका साथै सीप सिकाउनसमेत प्रस्ताव गरेको छ। सीप सिकाएर मात्रै श्रमिक लिन नेपालले रोजगारदाता मुलुकका मन्त्रीको ध्यानाकर्षण गराएको हो।

    कुक, मेसन, पलम्बर, वेटर, सेक्युरिटी गार्डलगायतका क्षेत्रमा रोजगारी गर्न नेपाली जाने गरेका छन्। नेपालले माग बढी हुने यी क्षेत्रमा सीप सिकाएर नेपाली श्रमिक लैजान प्रस्ताव गरेको छ।

    संयुक्त अरब इमिरेट्स ९युएई० मा सोमबारदेखि जारी छैठौं श्रममन्त्रीस्तरीय ‘आबुधावी डाइलग’ मा श्रम मन्त्री श्रेष्ठले सम्वोधन गर्दै पारिश्रमिक र तालिममा विशेष जोड दिए।

    मन्त्री श्रेष्ठले कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका श्रमिकको सामाजिक र आर्थिक जीवनलाई सुधार गर्नसमेत गन्तव्य देशले सहयोग गर्नुपर्ने बताएका छन्। आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने, आप्रवासी श्रमिकको कार्यस्थल सुरक्षालाई सुनिश्चित गर्नुपर्ने, श्रमिकको क्षमता विकासका कार्यक्रम गर्नुपर्ने नेपालले प्रस्ताव गरेको छ। त्यस्तै आगमन तथा प्रस्थान विन्दुमा निःशुल्क पीसीआर परीक्षण, निःशुल्क क्वारेन्टाइन तथा आइसोलेसन सेन्टरको व्यवस्था र निःशुल्क उपचारको व्यवस्था मिलाउन प्रस्ताव गरिएको छ।

    आबुधावी डायलग दक्षिण एसियाका देशबाट श्रमिक पठाउने र श्रमिक लिने खाडीका ६ मुलुक र मलेसियाका श्रममन्त्री संयुक्त रूपमा सहभागी हुने क्षेत्रीय मञ्च हो। १२ गतेसम्म सञ्चालन हुने डायलगमा नेपालबाट मन्त्री श्रेष्ठको नेतृत्वमा मन्त्रालयका सचिव सुर्यप्रसाद गौतम र उपसचिव थानेश्वर भुसाल सहभागि छन्। आबुधावी डायलगमा आप्रवासी श्रमिकको हित र सुरक्षालाई ध्यानमा राखी छलफल भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images