images
images
  • न्यायालय विवादले नागरिकका सयौं मुद्दा प्रभावित, प्रधानन्यायाधीशलाई राजीनामा दिन आह्वान

    काठमाडौं, कात्तिक ९ । सर्वोच्च अदालतमा न्यायाधीशहरूले इजलास बहिष्कार गरेपछि दुई दिनदेखि नागरिकका सयौं मुद्दा प्रभावित बनेको छ ।

    पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका कारण न्यायालय विवादमा मुछिएको भन्दै न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा सोमबार सर्वोच्च अदालतमा पेसी चढेका २ सय १६ वटा मुद्दाको सुुनुवाइ हुन सकेन ।

    प्रधानन्यायाधीश राणाले सोमबार आफूबाहेक अदालतमा उपस्थित १३ न्यायाधीशका लागि ६ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए । प्रधानन्यायाधीशले इजलास तोके पनि न्यायाधीशहरू प्रधानन्यायाधीश राणाकै विषयलाई लिएर आन्तरिक छलफलमा जुटेपछि मुद्दा सुनुवाइ प्रभावित हुन पुगेको हो ।

    न्यायाधीशहरूको बैठकको नेतृत्व सर्वोच्चका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले गरेका थिए ।
    सोमबार सुनुवाइका लागि पेसी तोकिएको मुद्दामा धेरै जस्तो बन्दी प्रत्यक्षीकरण र थुनुवाका मुद्दाहरू थिए । त्यस्तै कर छली, ठगी, राजस्व, वैदेशिक रोजगार, कर्तव्य ज्यान र अपहरणसँग सम्बन्धित मुद्दाहरू पेसीमा चढेका थिए । इजलास नबसेपछि कुनै पनि मुद्दाको सुनुवाइ हुन सकेन ।

    न्यायालयको विवादका कारण आइतबार मात्रै २ सय ६१ वटा मुद्दामा ३१ वटा मुद्दाको मात्रै सुनुवाइ भयो । ३१ मध्ये ९ वटा मुद्दाको फैसला भएको छ भने २२ वटा मुद्दामा आदेश जारी भएको थियो । आइतबार प्रधानन्यायाधीश राणाले नेपाल बार एसोसिएसनका प्रतिनिधिसँग भेटेर छलफल गरेपछि न्यायाधीशहरूले चिया ब्रेकको समय २ बजेपछि इजलास छाडेर छलफलमा बसेपछि मुद्दा सुनुवाइ प्रभावित भएको थियो । यता चार पूर्वप्रधानन्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई राजीनामा दिन आह्वान गरेका छन् ।

    पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै जबरालाई राजीनामा दिन आह्वान गरेका हुन् ।

    नेपालको न्यायपालिकाको इतिहासमा नै अभूतपूर्व चिन्ताजनक वातावरण देखिएको भन्दै उनीहरुले यो परिस्थितिको अविलम्ब पटाक्षेप हुनुपर्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images