काठमाडौं । अमेरिकाले नेपाललाई उपलब्ध गराएको कोभिड–१९ विरुद्धको एक लाख मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ ।
सोमबार बिहान एक लाख ६२० मात्रा फाइजर खोप नेपाल आइपुगेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । अमेरिकी सरकारले कोभ्याक्स कार्यक्रमअन्तर्गत खोप सहयोग गरेको हो ।
यसअघि, १५ लाख ३० हजार मात्रा जोन्सन एन्ड जोन्सन खोप सहयोग गरेको अमेरिकाले अहिले फाइजर खोप प्रदान गरेको हो ।। अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई खोप उपलब्ध गराएको हो ।
१२ वर्षमाथि र १८ वर्ष मुनिका बालबालिकामा लगाउन मिल्ने भए पनि बालबालिकाले भने खोप लगाउन पाउने छैनन् । अस्पतालमा उपचाररत् क्यान्सर, मुटु तथा मधुमेह, दम र एचआइभीलगायत रोग प्रतिरोधात्मक क्षमता कम भएका ब्यक्तिहरुलाई यो खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा पहिलो पटक भित्रिएको फाइजरको खोपलाई ट्रयालको रुपमा प्रयोग गर्न लागिएको हो । माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने यो खोप राख्न आवश्यक पर्ने एक सय लिटर क्षमताका ४ वटा फ्रिजर युनिसेफले नेपाललाई उपलब्ध गराइसकेको छ ।
सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि कोभ्याक्समार्फत ६० लाख डोज खरिद सम्झौता गरिसकेको छ । आगामी पुससम्ममा उक्त खोप नेपाल आइपुग्ने भएकाले खोप भण्डारणका लागि भौतिक पूर्वाधार निर्माणको काम भईरहेको पनि मन्त्रालयले जनाएको छ ।


विश्व खबर 


















