काठमाडौँ– गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरु (एनआरएनए एनसीसीहरु) को पहिलो विश्व भेला आइतबारबाट सुरु भएको छ ।
दुई तिहाइ बढी अध्यक्षहरुको उपस्थितिमा भर्चुअल माध्यमबाट भएको विश्व भेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व परराष्ट्र मंत्री डा. प्रकाश शरण महतले एनसीसीहरुको भावना र धारणाको सुनुवाइ गर्नु पर्ने सुझाव दिए । उनले एनआरएनएले लोकतान्त्रिक विधि र पद्धतिलाई आत्मसात गर्न आग्रह गरे । “विधि र पद्धति अनुसार एनआरएनए चलोस भन्ने हाम्रो मूल उद्देश्य हो,” उनले भने।
अप्ठेराहरु फुकाएर समयमै अधिवेशन गराई समस्याका समाधान गर्नुपर्नेमा उनको जोड छ। डेमोक्रेटिक स्पिरिट तथा एनआरएनएको विधि र प्रक्रिया अनुसार समस्या समाधान गरेर चाँडो भन्दा चाँडो टुंगोमा पुग्न उनले सुझाव दिए। ‘अहिलेको अन्तर्राष्ट्रिय कमिटिले पनि समस्याहरु टुंगोमा पुराउनुर्छ ।’ उनले भने, ” हिजो देखिएको समस्याहरु समाधान गरेर अघि बढ्न सकोस् यही शुभकामना दिन चाहन्छु ।”
नेपालका सम्पूर्ण राजनीतिक दलहरुका लागि पनि एनआरएनए उदाहरणीय संस्था बन्नुपर्ने उनको भनाई थियो ।
संघका पूर्व अध्यक्ष तथा संरक्षक देवमान हिराचनले १८ वर्षको इतिहासमा पहिलो पटक संघको महाधिवेशन र चुनाव गर्न नसकेकोमा दुख लागेको बताए । उनले अन्तरराष्ट्रिय समन्वय परिषदले आफ्नो कार्यकाल आफैँ ६ महिना थप गर्ने प्रावधान गैर आवासीय नेपाली संघको विधान मै नरहेको स्पष्ट पारे । उनले संघमा आफैले बनाएको विधान र नेपाल सरकारको कानून पालना नगर्दा अहिलेको समस्या आएको पनि बताए। “संरक्षक परिषदले हामीलाई जिम्मा दिए १ महिनाभित्र समाधान गर्न सक्छौं भनेका थियौ, तर गरेको निर्णय पनि लागू भएन,” उनले भने ।
संघका केन्द्रीय उपाध्यक्ष मन केसी, सचिव आर के शर्मा, महिला संयोजक भोमा लिम्बू लगायतका वक्ताले एनसीसीहरु संस्थाका पिलर भएको उल्लेख गरे । एनसीसीहरुको भेलाबाट कोहि पनि डराउन नहुने उनीहरुको धारणा छ ।
यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराई, नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा, नेकपा एकीकृत प्रवास समन्वय समितिका प्रमुख श्रीप्रसाद साह लगायतका वक्ताले विश्व भेला सफलताको शुभकामना दिंदै गैर आवासीय नेपाली संघको दशौँ महाधिवेशन र चुनाव निस्पक्ष र पारदर्शी ढंगबाट जति सक्दो चांडो गर्न सुझाव दिए ।
संघका चुनाव भएका ६० बढी राष्ट्रिय समन्वय परिषद्हरु मध्ये ४३ जना अध्यक्षहरु भेलामा सहभागी छन्।


विश्व खबर 



















