images
images
  • देउवा मन्त्रिमण्डलमा ६ जना मात्र महिला, पुगेन ३३ प्रतिशत

    काठमाडौं, २२ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले ८८ दिनमा पूर्णता पाएको छ । देउवा नेतृत्वको मन्त्रिपरिषदमा २४ मध्य ६ जना मात्र महिला मन्त्री बनेका छन् ।

    प्रधानमन्त्रीसहित २५ सदस्यीय मन्त्रिमण्डलमा सत्ता गठबन्धनका चार दलबाट पाँच फुल र एक महिला राज्यमन्त्री बनाइएका हुन् । महिला मन्त्री बनाउनेमा सबैभन्दा अगाडि नेकपा माओवादी केन्द्र देखिएको छ । माओवादी केन्द्रले राज्यमन्त्रीसहित ६ जना मन्त्री पाउँदा तीन जना महिलालाई अवसर दिएको छ ।

    यसअघि नै पम्फा भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनाएको माओवादी केन्द्रले सोमबार विस्तारित मन्त्रिपरिषदमा थप दुई महिला मन्त्री पठाएको हो । माओवादीको सिफारिसमा परेकी शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेकी छन् भने बोधमाया कुमारी यादव शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेकी छन् ।

    सरकारको नेतृत्व गरेको कांग्रेसले महिला आन्दोलनबाट आएकी नेतृ उमा रेग्मीलाई मन्त्री बनाएको छ । ४८ सालमै सांसद बनेकी रेग्मीलाई मन्त्रिीपरिषद्को वरीयतामा भने १६ औं नम्बरमा राखिएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले रामकुमारी झाँक्रीलाई मन्त्री बनाएको छ । उनी शहरी विकास मन्त्री भएकी छन् । यस्तै जनता समाजवादी पार्टीले रेनुकुमारी यादवलाई मन्त्री बनाएको छ । उनले मालदार मानिने भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको नेतृत्व पाएकी छन् ।

    संविधान अनुसार ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने थियो । तर, २५ सदस्यीय मन्त्रिमण्डलमा महिला सहभागिता २४ प्रतिशत मात्र छ । संविधानको मौलिक हक अन्तर्गत धारा ३८ को उपधारा (४) मा महिलालाई राज्यका सबै निकायमा समानुपातिक सहभागिता हक हुने उल्लेख छ ।

    यो व्यवस्था अनुसार राज्यका हरेक तह र निकायमा महिलाको जनसंख्या तथा नेपालको जातीय विविधता (जनजाति र आदिवासी, मधेसी, दलित) का आधारमा महिला सहभागितालाई सुनिश्चित गरिनुपर्ने हुन्छ । प्रतिनीधिसभा, प्रदेश र स्थानीय तहमा ३३ प्रतिशत महिला सहभागिता छ । तर राज्यका अन्य निकाय, केन्द्र र प्रदेश सरकारमा न्यून मात्रै महिला सहभागिता छ । देउवाले पनि २४ प्रतिशत मात्रै महिलालाई अवसर दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images