काठमाडौं-रोजगारीका लागि विदेश गएका नेपाली श्रमिकले अकालमै ज्यान गुमाउने गरेको तथ्यांक भयावह छ । ०६५ देखि अहिलेसम्मको १३ वर्षमा नौ हजार ६ सय ६४ जनाले ज्यान गुमाएका छन् । तीमध्ये नेपाली श्रमिकका प्रमुख गन्तव्य खाडी र मलेसियामा मात्रै नौ हजार तीन सय १७ जनाको मृत्यु भएको छ ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको तथ्यांकअनुसार सबैभन्दा धेरै मलेसियामा तीन हजार दुई सय ४२ जनाको मृत्यु भएको छ । त्यस्तै, साउदी अरेबियामा दुई हजार ६ सय ४३, कतारमा एक हजार आठ सय ९५, युएईमा नौ सय ६८, कुवेतमा तीन सय ५१, बहराइनमा एक सय ४४, ओमानमा ७४, जापानमा ४२ र दक्षिण कोरियामा एक सय ४८ जनाको ज्यान गएको छ ।यी देशमा हृदयाघातबाट मात्रै दुई हजार एक सय १७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, सडक दुर्घटनामा एक हजार दुई सय ५४ र कार्यस्थलमा सात सय १३ जनाको मृत्यु भएको छ । एक हजार एक सय चारजनाले त आत्महत्या गरेको डरलाग्दो तथ्यांक छ । बोर्डले नेपाली श्रमिक रहेका ५० देशको तथ्यांक अद्यावधिक गरेको छ ।
उता बेलायतको हड्र्सफिल्ड र बर्नमाउथ युनिभर्सिटीमा अध्यापन गराउने नेपाली अनुसन्धानकर्ताको समूहले गरेको अनुसन्धानमा पनि धेरै नेपाली श्रमिकले हृदयाघातलगायत मुटुसम्बन्धी समस्याले ज्यान गुमाउनुपरेको उल्लेख छ । उनीहरूले सम्बन्धित मुलुकमै कार्यरत एनआरएनए सदस्यसमेतको सहयोगमा सन् २००८ देखि २०१९ सम्मको रिपोर्ट तयार पारेका थिए, जुन हालै लन्डनमा सम्पन्न तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनमा सार्वजनिक गरिएको छ ।
यो ११ वर्षको अवधिमा हृदयाघातले ज्यान गुमाउनेको संख्या एक हजार नौ सय १३ छ । यो कुल मृतक संख्याको २५.६ प्रतिशत हो । र, यीमध्ये एक हजार पाँच सय १२ जना (हृदयाघातले मृत्यु भएका कुल श्रमिकको ७९ प्रतिशत) ले खाडीलगायत सात मुलुकमा ज्यान गुमाएका छन् । त्यसमध्ये पनि कतारमा सबैभन्दा बढी ६ सय ९४ जनाको मृत्यु भएको छ । मृतकमा २५ देखि ३५ वर्ष उमेर समूहका युवा धेरै छन् ।
मुख्य अनुसन्धानकर्ता डा. पदम सिंखडाका अनुसार मुटुरोगको जोखिम न्यून हुँदाहुँदै पनि खाडीलगायत देशमा नेपाली श्रमिकको हृदयाघातबाट मृत्यु भएको देखिएको छ । ‘कतारमा युवावस्थामै हृदयघातले मृत्यु हुनेको संख्या धेरै हुनुमा त्यहाँको उच्च तापक्रम र काम गराई नमिल्नु हो,’ उनले भने, ‘बदलिँदो वातावरण र परिवेशमा नेपाली कामदारको जीवनशैली नमिल्नु र हेलचेक्र्याइँ गर्नु पनि अर्को कारण हो ।’ प्राकृतिक कारण र सडक दुर्घटनामा पनि धेरै नेपालीको ज्यान जाने गरेको छ । आत्महत्या गर्नेको संख्या पनि उल्लेख्य छ । कार्यक्षेत्रमा हुने दुर्घटना र अन्य समस्याले पनि विदेशमा नेपाली श्रमिकको अकालमै ज्यान गएको छ ।
अघिल्लो दिन सामान्य अवस्थामै सुतेका कामदार भोलिपल्ट ओछ्यानमै मृत भेटिएका घटना धेरै छन् । यस्तो मृत्युलाई अस्पतालले पोस्टमार्टम रिपोर्टमा ‘प्राकृतिक कारण’ भन्ने गरेको छ । बोर्डको तथ्यांकअनुसार पछिल्ला १३ वर्षमा ६ खाडी मुलुकसहित मलेसिया, दक्षिण कोरिया र जापानमा मात्र एक हजार आठ सय ७८ श्रमिकको प्राकृतिक मृत्यु भएको छ । साउदी अरेबियामा सबैभन्दा धेरै नौ सय २० जनाको मृत्यु भएको छ । मलेसियामा चार सय ४५, कतारमा दुई सय ६७, युएईमा एक सय ३६, बहराइनमा ३४, कुवेतमा ३०, ओमानमा २३, जापानमा १२ र दक्षिण कोरियामा ११ मजदुरको प्राकृतिक मृत्यु भएको छ ।
अनुसन्धानकर्ता डा. प्रमोद रेग्मी उनीहरूको मृत्युको कारण प्राकृतिक देखाए पनि भित्री कारण अर्को हुन सक्ने बताउँछन् । ‘युवाहरू अघिल्लो दिनसम्म काम गरेर, राम्रै खाएर सुतेका हुन्छन्, तर भोलिपल्ट अचानक मृत भेटिन्छन् । यस विषयमा गहिरो अध्ययन आवश्यक छ, तर गर्न सकिएको छैन,’ उनले भने, ‘नियमले तोकेभन्दा बढी घन्टा काम गर्ने, दिसापिसाब लाग्छ भनेर पानीसमेत नखाई काममा खटिने, उच्च तापक्रममा काम गर्ने र धेरै चिसो कोठामा सुत्ने, दुखाइ कम गर्न अत्यधिक पेनकिलर खाने बानीले उनीहरूलाई मिर्गौलालगायत दीर्घरोगले छुने गरेको छ । त्यसैले मृत्युसम्म पु¥याउने गरेको छ ।’
यही अवधिमा तिनै नौ मुलुकमा सडक दुर्घटनामा ज्यान गुमाउने श्रमिक एक हजार दुई सय ५४ छन् । साउदी अरेबियामा सबैभन्दा धेरै ६ सय ८९ को सडक दुर्घटनामा मृत्यु भएको छ । साउदीको ट्राफिक नियम नेपालको भन्दा निकै फरक छ । यसबारे नेपालीलाई थाहा नहुँदा बाटो काट्ने क्रममा ज्यान गुमाउने गरेको अनुसन्धानकर्ता डा. प्रमोद रेग्मीले बताए ।
‘गन्तव्य मुलुकको सडक या ट्राफिक नियमबारे राम्ररी नबुझी रोजगारीमा जाँदा पनि नेपाली कामदार दुर्घटनामा परिरहेका छन्,’ उनले भने, ‘कति कामदार मदिरा र ड्रग्स खाएर ठूला हाइवेको बाटो काट्न लाग्दा गाडीले ठक्कर दिने गरेको पनि पाइयो । ठुल्ठूला हाइवेमा गाडीको स्पिड बढी हुन्छ, तर नियम मिचेर बाटो काट्न खोज्दा कामदारहरू दुर्घटनामा पर्ने गरेका छन् ।’
१३ वर्षमा नौ हजार ६६४ नेपाली श्रमिकको विदेशमा मृत्यु
१३ वर्षमा सडक दुर्घटनामा ज्यान गुमाउने नेपाली कामदारको संख्या मलेसियामा एक सय ९२, कतारमा एक सय ६६, युएईमा एक सय १८, कुवेतमा ४७, बहराइनमा १४, दक्षिण कोरियामा १४, ओमानमा १० र जापानमा चार छ ।सुन्दर भविष्यको सपना बुनेर रोजगारीका लागि विदेश पुगेका मजदुरले आत्महत्या गरेको घटनाले झन् झस्काउँछ । बोर्डको रेकर्डअनुसार १३ वर्षमा नौ देशमा एक हजार एक सय चारजनाले आत्महत्या गरेका छन् ।
सबैभन्दा धेरै मलेसियामा चार सय ५० नेपाली मजदुरले आत्महत्या गरेका छन् । साउदी अरेबियामा दुई सय २३, कतारमा एक सय ७२, युएईमा एक सय ४५, कुवेतमा ४७, दक्षिण कोरियामा ३९, बहराइनमा १४, ओमानमा १३ र जापनमा एक ६ जनाले आत्महत्या गरेका छन् । नेपाली कामदारका लागि राम्रो कमाइ हुने दक्षिण कोरियामा सबैभन्दा धेरै मृत्यु आत्महत्याबाट हुने गरेको छ ।‘ठूलो संख्यामा कामदारको मृत्युको कारण आत्महत्या हुनु निकै दुःखद मात्रै छैन, डरलाग्दो पनि छ,’ मुख्य अनुसन्धानकर्ता डा. सिंखडा भन्छन्, ‘भारत, पाकिस्तान र अन्य मुलुकका नागरिक पनि वैदेशिक रोजगारीका लागि यी देशमा गएका छन्, तर उनीहरूले आत्महत्या गर्ने टे«न्ड नेपालको भन्दा धेरै न्यून छ ।’
नेपाली कामदारले विदेशमा आत्महत्या गर्नुको मुख्य कारण डिप्रेसन र एन्जाइटीजस्ता मानसिक रोग हो । पारिवारिक बिछोड, एक्लोपन, कामको दबाब र बदलिँदो हावापानीले उनीहरू डिप्रेसन र एन्जाइटीको सिकार बनिरहेको डा. सिंखडा बताउँछन् । ‘विदेश पुग्नासाथ पैसा धेरै कमाइ हुन्छ भन्ने परिवारको बुझाइ रहन्छ । त्यसैअनुसार उनीहरूको अपेक्षा र माग हुन्छ,’ उनले भने, ‘ती माग पूरा गर्न नसक्ने र परिवारसँग राम्रो कुराकानी नहुनेजस्ता कारण आत्महत्यासम्म रोज्न पुगेका छन् ।’
कार्यस्थलमै हुने दुर्घटना
विदेशमा नेपाली कामदारले अकालमा ज्यान गुमाउने अर्को मुख्य कारण कार्यस्थलमै हुने दुर्घटना पनि हो । मुख्य गन्तव्य रहेका नौ मुलुकमा १३ वर्षमा सात सय १३ नेपाली श्रमिकले काम गर्दागर्दै दुर्घटनामा परेर ज्यान गुमाएका छन् । सबैभन्दा धेरै मलेसियामा दुई सय ६५ र दोस्रोमा साउदी अरेबियामा एक सय ९५ को कार्यस्थलमै मृत्यु भएको छ । त्यस्तै, कतारमा एक सय ७०, युएईमा ४०, कुवेत र दक्षिण कोरियामा १४–१४, बहराइनमा १०, ओमानमा चार र जापानमा एक नेपाली श्रमिकको ज्यान गएको छ ।
‘ती मुलुकमा ठूला भवन निर्माणमा धेरै नेपाली कामदारले रोजगारी गर्दै आएका छन् । कतारको स्टेडियमलाई एक उदाहरण मान्न सकिन्छ । तर, जोखिमपूर्ण काम कसरी सुरक्षित भएर गर्ने भन्ने उनीहरूलाई राम्रोसँग थाहा छैन । अनि दुर्घटनामा परेर ज्यान जाने गरेको छ,’ डा. सिंखडाले भने, ‘त्यही कन्स्ट्रक्सन साइटमा काम गर्ने अफ्रिकन, बंगालीलगायत कामदार खासै दुर्घटनामा पर्दैनन् । किनभने उनीहरू तालिमप्राप्त छन् ।’
स्वास्थ्य र सुरक्षाको अभ्यास: ‘भगवान् भरोसा’
नेपालमा स्वास्थ्य र सुरक्षाको अभ्यास नगरिनु, ‘भगवान् भरोसा’ भनेर तयारीविना जस्तोसुकै जोखिम मोल्नु र विदेशमा भाषा नबुझ्नुजस्ता समस्याका कारण धेरै नेपालीले विदेशको कार्यस्थलमै दुर्घटनामा परी ज्यान गुमाउने गरेको अध्ययनमा उल्लेख छ । गार्मेन्टमा काम गर्नेहरू मेसिनमा परेर ज्यान गुमाउने गरेका छन्। गैरआवासीय नेपाली संघको तथ्यांकअनुसार झन्डै ८० लाख नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा बसिरहेका छन् । तीमध्ये आधा मानिस श्रमिक छन् जो स्वास्थ्य समस्यादेखि मृत्युसम्मको जोखिममा छन् ।
प्रिडिपार्चर ट्रेनिङ सर्टिफिकेट लिनका लागी मात्रै
नेपालमा सरकारले विदेश जानुअघि ‘प्रिडिपार्चर ट्रेनिङ’ दिने गरेको छ । ती तालिम रोजगारीका लागि जाने मुलुक सुहाउने खालका नहुँदा साना समस्या पनि नेपाली कामदारका लागि मृत्युको कारण बन्न पुगेको डा. सिंखडा बताउँछन् । ‘नेपालमा दिने भनिएको प्रिडिपार्चर ट्रेनिङ बिदेसिनका लागि सर्टिफिकेट लिने काम मात्रै भएको छ, व्यावहारिक छैन,’ उनले भने, ‘तालिमका लागि कस्ता विषय आवश्यक छन् भनेर हामीले नेपाल सरकारलाई सिफारिस पनि गरेको हो, तर काम भएको छैन ।’
सिंखडाले भनेजस्तै मुलुकअनुसार कामदारको स्वास्थ्य समस्या अलग छन् । तथ्यांकअनुसार कतारमा नेपाली कामदारको मृत्युको मुख्य कारण हृदयाघात देखिन्छ भने साउदी अरेबियामा सडक दुर्घटना र प्राकृतिक कारण मुख्य छन् । कार्यस्थलमा हुने मृत्यु मलेसियामा धेरै छ । यी समस्यालाई फरक तरिकाले हल गर्न आवश्यक छ ।
यस्ता समस्या हल गर्न नेपाल सरकार र कामदार जाने मुलुक दुवैले केही नीति र तालिमको व्यवस्था गर्नुपर्ने सिंखडा सुझाउँछन् । ‘मलेसिया र साउदी अरेबियामा नेपाली कामदारको मृत्युका कारण बिलकुलै भिन्न छन् । काम गर्ने परिवेश, नियम र समस्या भिन्न भएपछि समाधानको बाटो पनि अलग हुनुपर्छ, त्यस्तो भइरहेको छैन,’ उनले भने, ‘कतारमा मृत्युको मुख्य कारण हृदयाघात भएकाले अब अरू नेपाली कामदारको यही कारणले ज्यान जान नदिन उनीहरूलाई तालिम र भाषाको व्यवस्था हुनुपर्छ । त्यस्तै, साउदी अरबमा ड्राइभिङ गर्ने तरिका र ट्राफिक नियम नेपालमा भन्दा फरक छ भनेर बुझाउन सके मात्रै पनि धेरै नेपाली कामदारलाई बचाउन सकिन्छ ।’
सुनौलो भविष्यको सपना बोकेर खाडी र मलेसिया पुगेका १०६४ जनाले गरे आत्महत्या
नेपाली श्रमिकलाई रोजगारीका लागि सबैभन्दा सजिलो र सस्तो गन्तव्य खाडी र मलेसिया हो । त्यसैले अधिकांश श्रमिक यी देश जान्छन् । तर, उच्च तापक्रममा घुलमिल हुन नसक्दा धेरैले अनाहक ज्यान गुमाइरहेका छन् । यहाँ रहेका अधिकांश श्रमिक हरपल स्वास्थ्य समस्यादेखि मृत्युसम्मको जोखिममा रहन्छन् । सुनौलो भविष्यको सपना बोकेर जाने श्रमिक सोचेअनुसारको काम र पारिश्रमिक नपाउँदा डिप्रेसनमा गएर आत्महत्या रोजेका घटनाको तथ्यांक पनि डरलाग्दो छ ।
युवामा बढी हृदयाघात
खाडी मुलुकमा २५ देखि ३५ वर्षसम्मका धेरै नेपाली युवाले पनि हृदयाघातबाट अकालमा ज्यान गुमाइरहेका छन् । खास गरेर त्यहाँको उच्च तापक्रम र काम गराई नमिलेर उनीहरूले मृत्युवरण गरिरहेका छन् । बदलिँदो वातावरण र परिवेशमा नेपाली कामदारको जीवनशैली नमिल्नु र हेलचेक्र्याइँ गर्नु पनि अर्को कारण हो । त्यस्तै, सुन्दर भविष्यको सपना बोकेर रोजगारीका लागि विदेश आउने नेपालीले आत्महत्या गरेका घटना पनि धेरै छन् । त्यस्तो गर्नुको मुख्य कारण डिप्रेसन र एन्जाइटीजस्ता मानसिक रोग हो ।
पारिवारिक बिछोड, एक्लोपन, कामको दबाब र बदलिँदो हावापानीले उनीहरू डिप्रेसन र एन्जाइटीको सिकार बनिरहेका हुन्छन् । हामीले सन् २००८ देखि २०१९ सम्मको तथ्यांक केलाउँदा १२ प्रतिशत श्रमिकले आत्महत्या गरेको डरलाग्दो अवस्था पायौँ । विदेशमा धेरैले ‘कार्डिक एरेस्ट’ (हृदयघात)का कारण ज्यान गुमाएको तथ्यांकले देखाउँछ । वर्षौंदेखि नै यो समस्या छ । दिनभर बाहिर गर्मीमा काम गरेर कोठामा आउनासाथ एयर कन्डिसनर खोलेर सुत्ने गरेका कारण धेरै नेपाली कार्डिक एरेष्टको शिकार हुने गरेको कार्डियोलोजिष्ट मिलन प्रकाश श्रेष्ठ बताउँछन् । त्यसैगरी, मादक पदार्थका रुपमा विभिन्न केमिकल मिसाएर खाने, एकैपटक धेरै रक्सी सेवन गर्ने लगायतका कारण पनि हृदयाघात हुने गरेको डा. श्रेष्ठको भनाइ छ । ‘कामको दबाब, मानसिक तनाव, असन्तुलित दैनिकी आदिका कारण पनि राति ठीकठाक सुतेकाहरु विहान मृत भेटिन्छन्’, उनी भन्छन् ।
त्यस्तै, ट्राफिक नियम जान्न र पालना गर्न चासो नदिने आनीबानीले गर्दा पनि नेपालीहरुले सडक दुर्घटनामा मृत्यु अंगाल्नुपरेको छ । कार्यस्थलको दुर्घटनामा मृत्यु हुनेको संख्या पनि सानो छैन । यस्तो दुर्घटनामा निर्माण र औद्योगिक क्षेत्रका मजदुर धेरै पर्छन् । यसमा व्यक्तिगत लापरबाही पनि मृत्युको कारक बन्ने गरेको छ ।
वैदेशिक रोजगारीमा गएका कतिपय नेपाली अपराधको शिकार बन्ने गरेका छन् । लुटेर समूहको आक्रामण र नेपाली वा अरु देशका कामदारसँग हुने व्यक्तिगत रिसइवीका हानथापमा हत्याका घटनाहरु हुने गरेका छन् । त्यसैगरी, आत्महत्या, मृत्युदण्ड र कालगतिको मृत्युले पनि विदेशमा मृतक नेपालीको संख्या बढाएको हुन्छ ।
नेपाल सरकारको प्रयास फितलो
सरकारले गत वर्ष आगामी पाँच वर्षभित्र बाध्यात्मक अवस्थामा काम खोज्दै विदेश जानुपर्ने अवस्था हटाउने घोषणा गरेको थियो । त्यसका लागि ठोस योजना भने ल्याएको छैन । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मार्फत देशमा लाखौं रोजगारी सिर्जना गर्ने सरकारको भनाइ छ । अर्कोतिर, रोजीरोटीकै लागि विदेशिएका नेपाली युवाको अकालमा भएको मृत्यु संख्या छोप्न सकिने गरिको छैन ।
सरकारकै आह्वानमा सुहलियत ऋणका लागि आफ्नो योजना बुझाएका विदेशबाट फर्किएका २० हजार युवाको फाइल बैंकहरुमा सड्दै छन् । उद्यम गर्न बैंकबाट ऋण नपाएका ती युवाले गुजाराका लागि थप ऋणको भारी बोक्न परेको छ ।परिवारको भरणपोषणका लागि विदेशिने लाइनमा लागेका युवालाई बाक-बन्द भएर फर्किनुपर्ने हो कि भन्ने डर छ ।आफ्ना युवालाई देशभित्र रोजगारी दिन नसकेको सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन पनि सकेको छैन । न त रोजगारदाता मुलुकहरुलाई जिम्मेवार बनाउन सकेको छ ।
नेपाल सरकारले विदेशमा आफ्ना कामदारको मृत्युदर घटाउन प्रभावकारी योजना लागू गरेको छैन । वैदेशिक रोजगार मामिलाका जानकार मधुविलास पण्डित कामका लागि विदेश जाने युवालाई दिइने अभिमुखीकारण कक्षा नै कमजोर रहेको बताउँछन् । ‘ऋण काढेर गएकाहरु धेरै युवा भनेजस्तो काम र ज्याला नपाएपछि परिवार र पैसाको दबाव पर्छन्,’ उनी भन्छन्, ‘त्यो अवस्थामा कति कुलतमा पर्छन्, यस्ता कारणबाट सिर्जित परिस्थितिको सही व्यवस्थापन गर्न नसकेर पनि धेरै कामदार मृत्युको मुखमा पुग्छन् ।’
नेपाली कामदारहरुलाई धैर्यवान बनाउन र स्वस्थ खानपानमा अभ्यस्त गराउन सकियो भने मृत्युदर घटाउन सकिने पण्डित बताउँछन् ।नयाँ पत्रिकाबाट


विश्व खबर 




















