images
images
  • पत्रकार महासंघले श्रम अधिकारका पक्षमा प्रदर्शन गर्ने

    काठमाडौं – नेपाल पत्रकार महासंघले बुधबार संचारकर्मीको श्रम अधिकारको पक्षमा बृहत् ऐक्यबद्धता प्रदर्शन गर्ने भएको छ । महासंघका महासचिव रोशन पुरीले सबै किसिमको श्रम अधिकारको पक्षमा आन्दोलन गर्ने निर्णयअनुसार बुधबार माइतीघर मण्डलामा दिउँसो ३ बजे प्रदर्शन गरिने जानकारी दिए ।

    विभिन्न बहानामा संचारगृहले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण बिदामा राख्ने, तलबभत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने, नियमित पारिश्रमिक नदिने र अवकाशपछि कानुनअनुसारको सेवा-सुविधा नदिने गरिरहेकाले त्यसविरुद्ध आन्दोलन गर्न लागिएको महासंघले जनाएको छ ।

    पटक पटक सम्बन्धित संचारगृहसँग पत्राचार, संवाद, कानुनी उपचार तथा दबाब दिँदै आएको पुरीको भनाइ छ । महासंघको आग्रह र दबाबका बाबजुद केही संचारगृह समस्या समाधानप्रति गम्भीर नबन्दा ती संचारगृहमा कार्यरत श्रमजीवी पत्रकारका समस्या थप जटिल बन्दै गएको उनले बताए ।

    ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराई पत्रकारका समस्या समाधान गर्नेतर्फ राज्यसमेत उदासीन देखिएको छ’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संचारगृहबाट श्रमजीवी पत्रकारहरूमाथि अन्यायपूर्ण व्यवहार भइरहेको यो अवस्थामा दबाबमार्फत सेवा सुविधाको माग गर्नुपर्ने अवस्था विद्यमान छ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images