काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी रुपान्तरण हुनुपर्ने बताएका छन् । नत्र विचार र सिद्धान्तविहीन एमालेजस्तै बन्ने खतरा रहेको उनको भनाइ थियो ।
नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले केपी प्रवृत्तिविरुद्ध लड्नुपर्ने बताए । एमालेमा विचार, सिद्धान्त छैन । सूर्य छ । मदन भण्डारी छ । जबज छ । मदन भण्डारीको ठाउँमा केपी ओली बनाउन खोज्या छन् । पद, प्रतिष्ठा र स्वार्थमा मिल्छन्, उनले भने ।
दाहालले आफूहरु नसच्चिए बिज्ञापनमा सीमित हुनुपर्ने बताए । एकताका नाममा हामीलाई झुक्याइयो । विचार र विधिपद्धतिका लागि धेरै नै मेहनत गरियो । के को हुन्थ्यो । पछि त तिनका विचार सिचार विज्ञापनमा सीमित भयो । हामी पनि त्यस्तै हुने खतरामा छ । तर बचाउनुपर्छ । रुपान्तरणमा जानुपर्छ । व्यवस्थित गर्नुपर्छ । गरेका छौं उनले भने ।
यसको निम्ति मार्क्सवाद विरोधी प्रवृत्ति विरुद्ध लडाइँ लड्नुपर्ने उनको भनाइ छ । केपी प्रवृत्ति समाजवाद, मार्क्सवाद र सामाजिक रुपान्तरण विरुद्ध छ । यसको व्याख्या हुनुपर्छ । यो गलत हो भन्ने कुरा तथ्य र तर्कसहित अलि वस्तुवादी रुपले खण्डन र आलोचना गर्ने र माओवादीले लिइराखेको लाइन ठिक भन्ने, तथ्यसहित भन्ने, परिवर्तन र राष्ट्रको पक्षइमा छ यो विचार भनेर बुझाउनुस्, उनले निर्देशन दिए ।
माओवादी एक नम्बर पार्टी भएन भने देश दुर्घटनामा पर्छ
प्रचण्डुले माओवादी कमजोर भए देश दुर्घटनामा पर्ने बताएका छन् । उनले फेरि माओवादी कमजोर पार्ने षडयन्त्र भइरहेको बताए । गरिब र मजदुरका निम्ति लडिरहेको प्रवृत्तिलाई अर्को प्रतिक्रान्तिकारी र प्रतिगामी प्रवृत्तिले सिध्याउन खोजिरहेको उनको भनाइ थियो ।
हामी एक नम्बर हुनुपर्छ । हुन्छौं । विरासत र एजेण्डाले हामी हुनुपर्छ । व्यक्तिगत स्वार्थका निम्ति होइन राष्ट्रका निम्ति हो भन्ने हामील देखाएका छौं, । उनले भने, अहिले लडाइँ ठूलो हुनेवाला छ । कम्युनिस्ट आन्दोलनभित्र संशोधनवाद, विसर्जनवादी प्रतिक्रान्तिकारी र प्रतिगमनकारीहरुले माओवादीलाई परास्त नगरि हुँदैन भन्ने छ । एमालेको कुम्भ मेला माओवादी र माओवादी नेतृत्व सिध्याउन हो ।
दाहालले माओवादी मार्क्सवाद र विज्ञानको पक्षमा उभिनुपर्ने बताए । ुयो पक्षमा उभिएर देश बचाउने, यसमा नउभिए देश दुर्घटनामा पार्ने हो । यो कालखण्डमा माओवादी जागरुक र एकताबद्ध भएर अघि बढ्दा देश बच्ने हो । नत्र देश दुर्घटनामा पर्छ । संविधान र संघीयता खारेज हुन्छ । देश सामन्तवाद र अराजकतातिर जान्छ,ु उनले भने ।
वैद्यको आलोचना
अध्यक्ष दाहालले नेकपा क्रान्तकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणको पनि आलोचना गरे । वैद्यले परिवर्तन भएर आए देशको स्वानिधता जोगाउन राजा ज्ञानेन्द्रसँग सहकार्य गर्न सकिने अभिव्यक्ति दिएपछि प्रचण्डले यो चानचुने कुरा नभएको टिप्पणी गरे । कोही हाम्रै साथीहरु समान्तवाद र साम्राज्यवाद आए हुन्थ्यो भन्दैछन् । यो सानो कुरा होइन । ठूलो कुरा छ । त्यसकारण देशलाई बचाउन र नयाँ चरणमा लैजान माओवादी बलियो हुनै पर्ने छ, उनले भने, हामीहरु सचेत नहुने हो भने देशमा दुर्घटना हुने सम्भावना छ । हामी लड्ने हो भने जित्ने निश्चित छ ।
प्रचण्डले माओवादीका पक्षमा देशैभर जागरुकता र सल्बलाहट आइरहेको बताए । हिजो माओवादी के हो के हो भन्नेहरु पनि फर्केर आउँदैछन् । केपी ओली गएर के भो अरु कम्युनिस्टहरु एकताका लागि सम्पर्कमा छन् । गैरकम्युनिस्टसँग पनि एकता हुन्छ, उनले भने ।


विश्व खबर 


















